१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

निर्वाचनले जोडिए समुदाय

सिम्रौनगढ (बारा) — एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो सुरुआत थियो ।

निर्वाचनले जोडिए समुदाय

‘उत्तर चुरेदेखि दक्षिण सीमासम्म निर्वाचन क्षेत्र छ । कहाँबाट सुरु गर्ने भन्ने नसोची सुदूर दक्षिणतिर आइयो,’ बारा १ का उम्मेदवार मैनालीले भने, ‘एमाले मधेसविरोधी भन्ने भ्रम फैलाइएको छ । त्यसमाथि म पहाडे समुदायको, बढ्ता मन जित्नुपर्ने यतै हो । र, यो सम्बन्ध सुमधुर बनाउने अवसरसमेत भएकाले मधेसको आँगन सबैभन्दा पहिला रोजेको हुँ ।’

ठीक उल्टो– त्यही क्षेत्रका राजपा उम्मेदवार रामकिशोर यादवले उत्तरमा पर्ने निजगढबाट साताअघि निर्वाचन अभियान थाले । ‘पहाडी समुदायका दाजुभाइ–दिदीबहिनीले मेरो नाम सुन्नुभएको थियो, अनुहार देख्नुभएको थिएन । म कस्तो छु, को हुँ भन्ने उहाँहरूमा चासो पाएँ,’ उनले भने, ‘मलाई एकचोटिलाई विश्वास गर्नुहोस् भनेर उहाँहरूसँग हात जोड्नेछु । आशा छ, राम्रै भोट पाउनेछु ।’ उनी बिहीबार कोल्बीमा प्रचारप्रसारमा थिए । त्यो थारू बाहुल्य मिश्रित बसोबास इलाका हो ।

बारा र पर्सामा प्रतिनिधिसभामा ४/४ निर्वाचन क्षेत्र छन् । दुवै जिल्लाका आठै क्षेत्र उत्तरदेखि दक्षिणसम्म छुवाइएका छन् । दुवै जिल्लामा उत्तरतिर पहाडी, बीचमा थारू र दक्षिणतिर मधेसी समुदायको बसोबास छ । निर्वाचन क्षेत्र निर्धारण यसरी गरियो, आफ्नै समुदायकै मतका भरमा मात्र कसैले पनि जित्ने स्थिति रहेन । उम्मेदवार र नेताहरू अर्को समुदायमा गई घुलमिल हुनुपर्ने भएकाले रहलपहल मनमुटाव हटाई सामाजिक सद्भाव कायम गराउन यो निर्वाचन उपयोगी बनेको छ । 

बारा १ कै अर्को संयोग– कांग्रेस उम्मेदवार उमाकान्त चौधरी थारू समुदायका हुन् । उनले पनि घरदैलोको सुरुआत आफ्नो समुदायबाट नगरी दक्षिण मधेसबाट गरे । ‘मधेसी समुदायका गाउँ–गाउँमा ममाथि स्नेह राख्ने हुनुहुन्छ । त्यसैले पहिले मधेसी बाहुल्य क्षेत्रबाट मत माग्न सुरु गरेको छु,’ उनले भने, ‘दोस्रो संविधानसभाताका क्षेत्र फरक ढंगले काटिएको थियो । पुराना मतदातासित ग्याप भएकाले पहिले मधेसी समुदायलाई प्राथमिकता दिएको हुँ ।’ 

यस क्षेत्रमा पहाडी, मधेसी र थारू समुदायका नेताको भिडन्त जति रोचक छ, पुरानो खाडल पुरिने देखेर मतदाता हर्षित छन् । कांग्रेस उम्मेदवार चौधरीले सबै समुदायलाई मिलाएर बनाइएको क्षेत्रले सामाजिक सद्भाव कायम राख्न मद्दत मिलेको बताए । ‘यसले समाजलाई एकढिक्का बनाएको छ,’ उनले भने । एमालेका मैनालीले क्षेत्र निर्धारणले जातजाति, भूगोल, भाषा र संस्कृतिलाई सन्तुलन गरेको बताए । ‘जातीय सम्मिश्रणले असल समाजको विकास हुन्छ,’ उनले भने । 

राजपाका रामकिशोरले पनि क्षेत्र निर्धारणकै कारण प्रतिस्पर्धा अलि जटिल लागे पनि सद्भाव विस्तारमा यो सहयोगी बन्ने बताए । उनका अनुसार उक्त क्षेत्रमा पहाडी २८ हजार, थारू २० हजार र मधेसी ४६ हजार मतदाता छन् । उत्तरी भागमा पहाडी, बीचमा थारू र दक्षिणमा मधेसी समुदायको बसोबास छ । 

निर्वाचन क्षेत्र निर्धारणका कारण समुदायगत घुलमिल बढेको बुद्धिजीवीहरूको मूल्यांकन छ । ‘कुनै एउटा जाति, धर्म र वर्गले मात्र देश विकास हुँदैन । क्षेत्र निर्धारण आयोगले बुद्धिमत्तापूर्वक निर्णय गरेको छ,’ वीरगन्जका समाजशास्त्री वीरेन्द्रप्रसाद साहले भने, ‘पहिलो संविधानसभाताका जसरी जातीय उभार आएको थियो, त्यसले देशलाई गलत दिशामा लैजान्छ कि भन्ने डर थियो । तर अब त्यो अवस्था छैन । निर्वाचन क्षेत्रका बनावटले पनि मेलमिलापमा मद्दत पुर्‍याएको छ ।’

पर्सा ४ का कांग्रेस उम्मेदवार रमेश रिजाल बिहीबार शंकरसरैयामा घरदैलोमा थिए । उक्त गाउँ थारू बाहुल्य हो । उनले सबै जातजाति मिलाएर बनाइएको निर्वाचन क्षेत्रलाई ‘स्वागतयोग्य’ भने । ‘मधेस आन्दोलनताका देखिएको जातिगत असमझदारीको खाडल पुरिएको छ,’ उनले भने, ‘मधेसी, थारू, पहाडी सबै समुदायबाट मैले उत्तिकै स्वागत पाइरहेको छु ।’ 

पर्सा २ का माओवादी प्रतिस्पर्धी मोहम्मद सलिम मन्सुरको मूल्यांकनमा निर्वाचन क्षेत्र निर्धारणका कारण दल र नेताहरूको समुदायबीच सम्पर्क/सम्बन्ध विस्तारमा सहयोग पुगेको छ । ‘यो अत्यन्त राम्रो र व्यावहारिक निर्णय हो,’ उनले भने, ‘घरदैलोमा सबै समुदायबाट राम्रो सद्भाव पाइरहेको छु ।’

प्रकाशित : मंसिर १, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?