कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘पुरानै पूरा भएन, नयाँ के माग्नु ?

जितेन्द्र साह

ग्रामथान (मोरङ) — सरकार सञ्चालनका लागि असल जनप्रतिनिधि चयनका साथसाथै आआफ्नो क्षेत्रका विकास निर्माणलाई जोड दिएर अघि बढाउन प्रतिनिधि र प्रदेशसभा सदस्यहरू गाउँटोल पुगिरहेका छन् ।

 ‘पुरानै पूरा भएन, नयाँ के माग्नु ?

मोरङका गाउँघरमा भने अझै चुनावी रौनक छाएको छैन । धान भित्र्याउने एवं नयाँ बाली लगाउने चटारोमा रहेका स्थानीयलाई विस्तारै चुनावी सरगर्मी बढ्ने छ ।

बिहानबेलुका नेता एवं कार्यकर्ता भोट माग्न आउँदा जनतामाझ विकासको आधारभूत मुद्दाबारे छलफल सुरु भएको छ । समाज र परिवेशपिच्छै मतदाताका माग फरक हुन्छन् । ‘सरकारी कलेजमा पढाइको ठेगान हुन्न, महँगो शुल्कका कारण निजी कलेज पढ्न सकिन्न,’ मोरङको ग्रामथान गाउँपालिका ५ की निशा सरदारले भनिन्, ‘शिक्षा त स्तरीय एवं सुलभ हुनुपर्छ ।’

घरनजिकैको खेतमा बिटा बोक्दै गर्दा भेटिएकी उनले यसपालि पहिलोपटक मतदान गर्न पाउने बताइन् । उनी सदरमुकामस्थित एक निजी कलेजमा व्यवस्थापन संकायमा दस जोड दुई पढदै छिन् । उनले भनिन्, ‘मलाई पनि राम्रो निजी कलेजमा पढ्ने मन थियो तर शुल्कै तिर्न सकिन्न ।’ सबैले समानरूपले गुणस्तरीय शिक्षा पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्ने प्रतिनिधि एवं प्रदेशसभाले पहल गर्नुपर्ने उनको सुझाव छ ।

मोरङ निर्वाचन क्षेत्र नं ४ मा यो गाउँपालिका पर्छ । कुल ९९ हजार १ सय २३ मतदाता रहेको यस क्षेत्रमा कटहरी एवं ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिका ५, ६, ७ र विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ वडा पर्छन् । यो क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट महेश आचार्य, माओवादी केन्द्रबाट अमनलाल मोदी र राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण साहुलगायत ९ जनाले प्रतिस्पर्धा गरेका छन् ।

‘२१ मंसिरमा चुनाव छ, अहिल्यै केको हतार ?,’ ग्रामथान ३ का ५० वर्षीय रक्सु राजवंशीले भने । उनी श्रीमतीसहित खेतमा धान काट्न व्यस्त थिए । ‘कुन ठाउँमा केको आवश्यकता छ भन्ने उम्मेदवारलाई थाहा छैन र ? यो र ऊ गरी दे भन्दै भनिराख्नुपर्ने ?,’ राजवंशीले भने । किसानलाई सहज रूपमा मलबीउ र सिँचाइ दिन र कम्तीमा एक्सरे/भिडियो एक्सरेजस्ता आधारभूत जाँच गर्न सकिने स्वास्थ्य केन्द्रको आवश्यकतामाथि उनले जोड दिए ।

‘तत्कालै जरुरी पर्ने सेवाका लागि वरिपरिको सहर बजार दौड्नुपर्छ,’ राजवंशीले भने, ‘पैसा र समयको बर्बादी मात्र भइरहेको हुन्छ ।’ साविकको झोराहाट, मोतिपुर, तेतरिया, सिद्राहा, बनिगामा र लखन्तरी गाविसलाई जोडेर ग्रामथान बनाइएको हो । ७ वडामा विभाजित थारू समुदायको बाहुल्य छ । 

यहाँ ५ किमि कालोपत्रे, ७७ किमि ग्राभेल एवं ४२ किमि कच्ची सडक छ । उक्त क्षेत्रमा दु्रत गतिले जग्गा प्लटिङ र नवबस्तीको विस्तार भइरहेको छ । प्रजातन्त्र पुनर्बहाली एवं पटकपटकको आन्दोलनपछि नयाँ संरचनामा राज्य गए पनि आफूहरूको माग एवं अवस्थामा कुनै परिवर्तन नआएको ग्रामथान ४, मोतिपुरकी ३६ वर्षीया शिक्षक सरिता चौधरी खाँडले बताइन् । उनले भनिन्, ‘पुरानै पूरा भएको छैन, नयाँ विकास के माग्नु ।’

धान कटनीसँगै लसुनप्याज रोप्न, तोरी र दाल छर्नमा व्यस्त रहेकाले पूर्णरूपले चुनाव लागिनसकेको उनले प्रस्ट पारिन् । ‘पाइलापिच्छै बजार र चोक देख्न सक्छौं तर थोरै भित्रपट्टि छिर्दा सडक, शिक्षा, स्वास्थ्य तथा खानेपानीको अभाव छ,’ ग्रामथान गाउँपालिका २ का मिठाइ व्यवसायी ओमप्रकाश शाहले भने, ‘वाह्य रूपले होइन, भित्रिरूपले विकास हुनुपर्‍यो भन्ने नेता तथा कार्यकर्ताले बुझ्नुपर्छ ।’

 

प्रकाशित : मंसिर १, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?