कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोइराला 'ह्याट्रिक' गर्ने, वाम गठबन्धन किल्ला भत्काउने दाउमा

नवलपरासी — २०४६ सालपछिका सबै संसदीय निर्वाचनमा एकछत्र कांग्रेसले जित्दै आएका कारण नवलपरासी क्षेत्र नम्बर १ क्षेत्र चर्चामा छ । अघिल्ला दुइवटा संविधानसभा निर्वाचन जितेका कांग्रेस महामन्त्री शशांक कोइरालालाई यसपटक भने वाम गठबन्धन निकै चुनौतीपूर्ण बनेको छ ।

कोइराला 'ह्याट्रिक' गर्ने, वाम गठबन्धन किल्ला भत्काउने दाउमा

गत स्थानीय तहको मत विश्लेषण गर्दा वाम गठबन्धन भन्दा ७०५ मतले मात्र कांग्रेस अगाडि देखिएको छ । यस पटक वाम गठबन्धन जसरी पनि कांग्रेसको किल्ला भत्काउने रणनीतिमा लागेको छ भने कांग्रेस निर्वाचनमा कोइरालालाई ह्याट्रिक गराउने दाउमा देखिन्छ । 

कांग्रेसको गढ भनेर कहलिएको गैंडाकोट नगरपालिकाको मेयर एमालेले जितेपछि कांग्रेसका लागि चुनौती थपिएको हो । स्थानीय तह निर्वाचनमा गैंडाकोटमा कांग्रेसको अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसवृत्तमा चर्चा छ । ६० वर्षपछि गैंडाकोटमा पहिलोपटक एमालेले कांग्रेसको किल्ला तोडेको हो । त्यहाँ कांग्रेसको किल्ला भत्काउन एमाले, जनमोर्चा, राप्रपाले गठबन्धन गरेका थिए । 

आसन्न मंसिर २१ गतेको निर्वाचनमा प्रतिनिधिसभाका लागि यहाँका सदावहार उम्मेदवार कोइरालाले त्यही छनक पाएर कांग्रेसको समानुपातिकमा आफ्नो निर्वाचन क्षेत्रका ६ जनालाई समानुपातिकतर्फ सांसदमा राख्न बाध्य भएका छन् । कोइरालाले आफ्नै क्षेत्रका उद्योगपति विनोद चौधरी, नेताहरु तिलक सापकोटा, सत्यनारायण खनाल, धनबहादुर मास्कि राना, बालकृष्ण बकावल र ओमकला गौतम (प्रदेश सांसदमा)लाई सांसदको सूचीमा राखेका छन् ।
 
त्यति गर्दा पनि कांग्रेस र वाम गठबन्धनले स्थानीय तहको निर्वाचनमा ल्याएको मत विश्लेषण गर्दा झिनो मतले कांग्रेस अगाडि देखिएका कारण निकै मेहेनत गरेको छ । वाम गठबन्धनबाट हौसिएका एमाले, माओवादीका कार्यकर्ता कांग्रेसी किल्ला तोड्ने कसरतमा लागेका छन् । 

प्रतिनिधिसभा क्षेत्र विभाजनमा पनि कोइरालाले कांग्रेस विजयी वडाहरुलाई क्षेत्र नम्बर १ मा राख्न सफल भएका छन् । यी सबै प्राविधिक विषय मिलाउँदा पनि यसपटक बलियो नदेखेपछि कोइरालाले आफ्नो प्रदेशमा उम्मेदवार पनि 'हेवीवेट' नै रोजेका छन् । नवलपरासी क्षेत्र नम्बर १ को (क)मा कांग्रेसबाट १६ वर्षसम्म जिल्ला सभापति र एक पटक केन्द्रीय सदस्य भइसकेका कृष्णचन्द्र नेपाली र आफ्ना विश्वास पात्र महेन्द्रध्वज जिसीलाई प्रदेश (ख)बाट उम्मेदवार बनाएका छन् ।
 
वाम गठबन्धनले माओवादी केन्द्रका भविश्वर पराजुलीलाई उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा तेस्रो पोजिसनका माओवादी केन्द्रका उम्मेदवार बढी मतदाता रहेको कावासोतीका बासिन्दा हुन् । प्रदेश (क)मा माओवादी गठबन्धनका सूर्य न्यौपाने उम्मेदवार छन् भने प्रदेश (ख)मा एमाले नवलपुरका जिल्ला अध्यक्ष उम्मेदवार बनेका छन् । 

वाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुली, कांग्रेस महामन्त्री कोइराला विराटनगर निवासी रहेकाले उनी 'टुरिस्ट' उम्मेदवार भएको आरोप लगाउँछन् । कोइराला राष्टिय तहका नेता भएर यहाँबाट २ पटक निर्वाचित भए पनि उल्लेख्य कुनै काम गर्न नसकेको आरोप पराजुलीको छ । आफ्नै (बाबुको नाम बेचेर) बिरासत बेचेर मत माग्ने, सांसद विकास कोषको पैसा बाँड्नेबाहेक सिन्को नभाँचेको आरोप उनीमाथि लगाइँदै आएको छ । आफूले केही नगरेको मतदाताले सोझै भेट्न नपाउनेलगायत आरोप निर्वाचनका बेलामा उनले फेस गर्न परेको छ ।

निर्वाचन प्रचारका क्रममा वाम गठबन्धनले कोइरालाले २, २ पटक अवसर पाए पनि कुनै गतिलो काम गर्न नसकेको भन्दै उनीबाट विकास निमार्णका काममा आशा गर्न नसकिने आरोप लगाउँदै मतदातालाई स्थानीय उम्मेदवार नै चाहिने तर्क गर्दै प्रचारमा आक्रमक देखिका छन् । कोइरालाले पार्टीका कार्यकर्ता पाल्नेबाहेक विकासको सिन्को समेत भाँच्न नसकेको आरोप छ । 

वाम गठबन्धनप्रति त्यति आक्रमक भनाई नराख्ने कोइरालाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडर (करिब ८ अर्ब लगानी रहेको गैंडाकोट पोखरा जोड्ने निमार्णाधिन पहाडी सडक) नवलपरासी जिल्ला विभाजनपछि नवलपुरलाई छुट्टै जिल्ला बनाउन र कावासोती आफ्नै कार्यकालमा सुरु भएको र अब निर्वाचन जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा एउटा ट्रमा सेन्टर र रिंगरोड निर्माण र रंगशाला निर्माण गर्ने वाचा गर्दै मत मागेका छन् ।
 

कुल मतदाता १ लाख १३ हजार ९ सय ६० मतदाता रहेको यो क्षेत्रमा स्थानीय तहपछि थपिएका १५ हजार मतदाता नै निर्णायक हुनसक्ने आँकलन पनि गरिएको छ । थपिएका मतदातामा दुवै गठबन्धनले आआफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् ।  
  

प्रकाशित : मंसिर १, २०७४ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?