कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘नुन, चामल होइन, विकास देऊ’

डंग्राहा (मोरङ) — ‘हामीले नेतासँग चामल, नुन र तेल मागेका छैनौं । पूर्वपश्चिम र उत्तरदक्षिण सजिलैसँग हिँडडुल गर्न सक्ने सडक, खानेपानी, बिजुली र सिँचाइ मागेका हौं,’ मोरङ ६ स्थित बुढीगंगा ७ डंग्राहाका लालबहादुर तामाङले भने, ‘यी कुरा पूरा गर्ने नेतालाई यसपालि भोट हाल्ने निधो गरेका छौं ।’

‘नुन, चामल होइन, विकास देऊ’

कांग्रेसका शेखर कोइराला र वाम गठबन्धनका लालबावु पण्डित चुनावी मैदानमा मुख्य प्रतिस्पर्धी रहेको यो क्षेत्रको ग्रामीण क्षेत्रका मतदाताको समान माग छ, विकास निर्माण, खानेपानी, सिँचाइ, गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा हो ।

‘हरेक निर्वाचनमा उम्मेदवारलाई यही माग राख्दै आएका छौं, थोरबहुत पूरा पनि भएका छन् । धेरै माग सम्बोधन हुन बाँकी छ,’ तामाङले भने, ‘बाँकी मागलाई सम्बोधन गर्न सक्ने उम्मेदवारलाई हाम्रो भोट जाने छ ।’ सडक राम्रो भए टाढाटाढासम्म पुगेर भए पनि मजदुरी गरी घर फर्कन सजिलो हुने उनीहरूको बुझाइ छ ।

चुनावका बेला आश्वासनमात्र दिने नेता गाउँलेले मन पराउँदैनन् । ‘चुनावमा मीठा गफ दिन्छन् तर जितेपछि फर्केर पनि आउँदैनन्,’ स्थानीय लत्तुराम विश्वासले भने, ‘घरनजिक बिजुलीको खम्बा गाडेको तीन वर्ष भयो, अझै तार टाँगिएको छैन ।’ तार टाँगिसकेपछि बिजुली बाल्न बेवास्ता गरेको भन्दै गाउँलेले तत्काल काम गर्न माग गरेका छन् ।

सुन्दर हरैंचा नगरपालिका २ मृगौलियाका कांग्रेस खवास पनि विकास गर्ने उम्मेदवारको खोजीमा छन् । ‘उम्मेदवारले एक छाक खाना खुवाएर हाम्रो पेट सधैं भरिँदैन,’ उनले भने, ‘परिवारको पेट भर्न हामी मजदुरी गर्न तयार छौं तर हिँडने सडक निर्माण र घरछेउको खोलाको डुबान नियन्त्रण गर्ने नेता हामीलाई चाहिएको छ ।’

उनीसँगै रहेका रामनारायण खवास पनि विकासलाई प्राथमिकता दिने उम्मेदवारलाई बस्तीकै भोट जाने बताउँछन् । आफ्नो बस्तीदेखि सलकपुरसम्म निस्कने कच्ची सडक निर्माण गर्न जुन उम्मेदवारले प्रतिबद्धता गर्छ उसैलाई सबैको भोट जाने उनको दाबी छ ।

बुढीगंगा ५ हात्तिमुढाका दुर्गु विश्वास सिँचाइ समस्याले सास्ती गरेको बताउँछन् । बस्तीमा सुनसरी मोरङ सिँचाइ योजनाको नहर भएपछि शाखा भत्किँदा सिँचाइको समस्या छ । स्थानीय गुलाबचन चौधरी हात्तीमुढामा जथाभावी प्लटिङ गरेर उद्योग खोलिएकाले बर्खायाममा पानीको निकासको समस्याले ढुवानमा पर्ने गरेको गुनासो गर्छन् । ‘गाउँले सधैं डुबानमा पर्ने समस्यालाई खेलाँचीका रूपमा लिनु हुँदैन,’ उनले भने, ‘तत्काल समाधान गर्नुपर्ने काममा पनि ध्यान नदिएपछि अरू विकासको कसरी आस गर्नु ?’

विराटनगर महानगरपालिका ४ इक्राहीका गुरुदेव सहनी पनि विकासे उम्मेदवारको खोजीमा छन् । ‘वर्षौं भयो यहाँ विकासको काम हुन सकेको छैन,’ उनले भने, ‘नेताले जनतालाई सधंै भात दिँदैनन् । त्यो चाहिएको पनि छैन । हामीलाई विकास भए पुग्छ ।’

इक्राहीदेखि उत्तर अमाहीकी विद्यादेवी पासवान यसपालि विकास गर्ने उम्मेदवारलाई भोट हाल्ने निर्णयमा पुगेकी छन् । ‘कच्ची बाटोले हैरान छ, यो बनाउन नेताले चासो दिनुपर्छ,’ उनले भनिन्, ‘अरूतिर विकास धेरै भइसक्यो, यो गाउँ पछि परेको पर्‍यै छ, अब भने आसमात्रै देखाउने नेतालाई सघाउँदैनौं ।’

 

प्रकाशित : मंसिर २, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?