‘सहयात्री’ बीच टक्कर पहिलो चरण

विद्या राई

भोजपुर — प्रदेशसभा उम्मेदवार अजम्बर राई काङमाङ र राजेन्द्र राई कुनै बेला राजनीतिक सहयात्री थिए । ४० को दशकदेखि विद्यार्थी राजनीतिबाट उनीहरूको यात्रा सुरु भएको हो । उनीहरू दुवै एमालेको विद्यार्थी संगठनमा सक्रिय थिए । संघीय फोरमका काङमाङ लोकतान्त्रिक गठबन्धनबाट र एमालेका राई वामबाट चुनावी मैदानमा उत्रिएका छन् ।

‘सहयात्री’ बीच टक्कर पहिलो चरण

काङमाङ टेम्केमैयुम गाउँपालिकाका र राई षडानन्द नगरपालिकाका बासिन्दा हुन् ।  राई ०४३ तिर काठमाडौं पुगेपछि आरआर क्याम्पसको स्ववियु सदस्य हुँदै ०४९ मा सभापति निर्वाचित भए । काङमाङ भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य भए । ०४७ मा युवा संघ स्थापना भएपछि उनको राजनीति भोजपुर संयोजक हुँदै युवा संघतिर मोडिएको थियो ।

०५४ मा एमाले विभाजनपछि काङमाङ मालेतिर लागे । काङमाङ माले सम्बद्ध युवा संघको महासचिव हुँदा राई एमाले सम्बद्ध अनेरास्ववियुको महासचिव हुँदै २ पटक अध्यक्ष बने । पार्टी एकीकरणपछि राई अखिलको अध्यक्ष र काङमाङ युवा संघको सचिव भए । राई अखिल अध्यक्षबाट बिदा भएपछि काङमाङ युवा संघको अध्यक्ष बने ।  ०६५ को आठौं महाधिवेशनमा राई प्रतिनिधि भएनन् । तर काङमाङ झलनाथ प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भए । एमालेभित्र रहँदा बेग्लाबेग्लै पद भए पनि जिम्मेवारी वहनमा दुवैको एकता हुन्थ्यो ।

संविधानसभाको दोस्रो निर्वाचनताका एमालेले पहिचानको मुद्दालाई लत्याएको भन्दै काङमाङ संघीयमा लागे । त्यसपछि काङमाङ र राईको राजनीतिक यात्रा दुई धार बन्यो ।
काङमाङ र राईको उम्मेदवारीमा रोचक कुरा भनेको एउटै राजनीतिक पृष्ठभूमिबाट जन्मिएर दुईधारमा पुग्दासम्म बलिया र खारिएका यी प्रतिस्पर्धी कसले बाजी मार्ला भन्ने नै हो । यो निर्वाचन काङमाङका लागि दोस्रो र राईका लागि पहिलो अनुभव हो ।

०७० को संविधानसभा निर्वाचनमा तेस्रो स्थान ल्याएका काङमाङलाई यतिबेला कांग्रेस र दुवै राप्रपाको साथ छ । पहिलोपल्ट उठेका राईलाई माओवादी केन्द्रको साथ छ । अध्ययनशील, निष्ठावान्, निडर, प्रखर, वैचारिक ज्ञान र भूगोलप्रति माया गर्ने यी दुवै उम्मेदवार मतदाताबाट रुचाइएकाभित्र पर्छन् ।

प्रकाशित : मंसिर ६, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?