राणा र तामाङको रस्साकस्सी

पहिलो चरण
अनिश तिवारी

सिन्धुपाल्चोक — निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का पशुपतिशमशेर राणा र वाम गठबन्धनका एमाले उम्मेदवार शेरबहादुर तामाङका बीचमा चुनावी प्रतिस्पर्धा चुलिएको छ । २०७० को दोस्रो संविधानसभा चुनावमा पनि यी दुवै उम्मेदवार आमनसामने भएका थिए । राणालाई एमाले युवा नेता तामाङले हराएका थिए ।

राणा र तामाङको रस्साकस्सी

तत्कालीन क्षेत्र नं. ३ बाट लगातार २०४८, २०५१ देखि २०५६ को संसदीय चुनाव जितेका राणालाई २०६४ सालको पहिलो संविधानसभाको चुनावमा माओवादी केन्द्रका दाबा तामाङले हराए । ०६४ को निर्वाचनअघि जित्दै आएको क्षेत्रबाट राणा चुनावी प्रतिस्पर्धामा होमिएका छन् । संघीय संरचनाअघि ३ क्षेत्र रहेको सिन्धुपाल्चोकमा अहिले २ क्षेत्र कायम भएको छ । पहिलेको क्षेत्र नं. ३ सँगै प्रतिनिधिसभा २ अन्तर्गत अहिलेको संरचनामा केही गाउँ थपिएका छन् । थपिएका गाउँ दुवैको पकड क्षेत्र भएकाले पनि यो पटक फेरि दुवै चुनावी मैदानमा उत्रिएको गठबन्धन बताउँछन् । स्थानीय तहको मत परिणाम हेर्दा लोकतान्त्रिकको वाम गठबन्धनको तुलनामा करिब १० हजार २ सय ७२ मत कम छ । प्रतिनिधिसभाको क्षेत्र नं. २ मा वाम गठबन्धनको ४० हजार ७ सय ८८ मत छ । यसै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको मत ३० हजार ५ सय १६ छ ।

युवा नेता तामाङले निर्वाचन क्षेत्रमा कालोपत्रे सडक सञ्जाल, बिजुली, स्वास्थ्यचौकीदेखि सम्पूर्ण भौतिक विकास र समृद्धिलाई एजेन्डा बनाएको बताए । ‘रोजगारी सिर्जना गरी विदेशिने क्रम रोकनेछु, गाउँगाउँमा विकासको प्रारम्भ गर्नेछु,’ उनले भने । 

‘वार’ कि ‘पार’ मा राणाको भविष्य राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाको राजनीतिक भविष्य यो निर्वाचनको परिणामले निर्धारण गर्दैछ । मंसिर १० मा हुने निर्वाचनमा राणा पराजित भएमा उनको राजनीतिक भविष्य अन्योल हुने सम्भावना पनि छ । पार्टी झनै सानो हुँदै जानु र उमेरसमेत ढल्कँदै गएकाले अबको निर्वाचन परिणाम राणाको पोल्टामा नपरे उनको राजनीतिक भविष्य संकटमा पर्ने देखिन्छ । २०३१ सालमा साबिक थुम्पाखर गाउँ पञ्चायतको उपप्रधानपञ्च जितेका उनले जिल्ला पञ्चायतको उपसभापति हुँदै राष्ट्रिय पञ्चायत सदस्य जितेका थिए ।

२०३१ पछिको २०३४, २०३८ देखि २०४३ मा भएका राष्ट्रिय पञ्चायतमा उनी निर्वाचित भएका थिए । बहुदलपछिका तीन निर्वाचनमा विजयी राणा संविधानसभाका दुवै निर्वाचनमा पराजित भए । प्रजातन्त्र पुन:स्थापनापछिको पहिलो निर्वाचनमा पञ्चहरूको अस्तित्व नभएका बेला पनि उनले चुनाव जितेका थिए । ०५१ को निर्वाचनमा क्षेत्र नं. ३ बाट कांग्रेसका कान्छा लामालाई हराउँदै राणा सांसदमा निर्वाचित भए । ०५६ सालको चुनावमा राणाले जिल्लाको दुईवटा क्षेत्रबाट एकसाथ चुनाव लडे । क्षेत्र नं. १ मा कांग्रेसका मोहनबहादुर बस्नेतसँग हारेका उनले क्षेत्र नं. ३ मा बाजी मारे । दुईपटकसम्म राणाबाट पराजित कांग्रेसका कान्छा लामा यस पटक उनैलाई जिताउन लागिपरेका छन् ।

तामाङ बाहुल्य रहेको प्रतिनिधिसभा क्षेत्र नं २ मा राणालाई विजयको झन्डा गाड्नु धेरै चुनौती बनेको छ । एमालेका शेरबहादुर तामाङ र माओवादी केन्द्रका पूर्वसभासद दाबा तामाङ प्रदेश सभाको उम्मेदवार भएकाले राणालाई विजय पाउनु सहज छैन । तत्कालीन क्षेत्र नं. २ को करिब २५ हजार मतदाता वर्तमान क्षेत्र नं. २ मा परेकाले राणा हौसिएका हुन् । ‘स्थानीय तहको मत आँकलन गरेर मात्रै हुँदैन, यो फरक निर्वाचन हो,’ पशुपति शमशेर भन्छन् । ७ पटक चुनाव लडेका राणाले ५ पटक जित र २ पटक हार व्यहोरेका छन् । 

धर्मसंस्कृति, सडकजस्ता पूर्वाधारको स्थायी विकास, गाउँमा विकासको खाका र समृद्ध नेपाल, राष्ट्रियता संरक्षणलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारमा लागिरहेको राणा बताउँछन् । ‘यसपटक मेरो जित निश्चित छ,’ उनले भने, ‘वाम गठबन्धनले कुनै असर गर्दैन ।’

प्रकाशित : मंसिर ६, २०७४ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?