२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पहिलो चरणको चुनावी तयारी पूरा

कान्तिपुर टिम

काठमाडौं — गोरखाको दुर्गम उत्तरी क्षेत्रको चुमनुव्री र धार्चे गाउँपालिकामा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । सडक सञ्जाल नपुगेका दुर्गमका २७ वटा मतदान केन्द्रमा हेलिकप्टरबाट सामग्री ढुवानी गरिएको हो ।

 पहिलो चरणको चुनावी तयारी पूरा

नेपाली सेनाको हेलिकप्टरले ती दुई गाउँपालिकाको विभिन्न केन्द्रमा मतदान अधिकृतसहित निर्वाचन सामग्री लगेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।

मतदान अधिकृतबाहेकका सुरक्षाकर्मी र अन्य कर्मचारी गत शनिबार नै पैदल त्यता गइसकेका छन् । सदरमुकामबाट पैदल जाँदा तीनदेखि सात दिन लाग्ने केन्द्रहरूमा मतदान सामग्री पठाइएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मतदान सकिएपछि पनि मतपेटिका हेलिकप्टरबाटै गणनास्थलसम्म ल्याइने बताए । चुमनुव्रीको सामागाउँ, नामरुङ, सिर्दिबास छेकम्पार, धार्चेको माछीखोला, खोर्लाबेंसी र काशीगाउँमा हेलिकप्टरबाट सामग्री लगिएको थियो ।
 

मंसिर १० मा मतदान सम्पन्न हुनेबित्तिकै मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउने तयारी छ । मतदान अधिकृत र सुरक्षाकर्मीले सदरमुकाम ल्याउने मतपेटिका मंसिर २१ सम्म भण्डारण गरेर राखिने ठाउँ छनोट गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । क्षेत्र १ को प्रदेशसभासहितका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालय र क्षेत्र २ का मतपेटिका जिल्ला समन्वय समितिमा राखिनेछन । अन्य जिल्लामा दोस्रो चरणमा हुने निर्वाचन सकिए लगत्तै भण्डार गरेर राखिएको मतपेटिका खोलेर गणना सुरु गरिनेछ ।
 

२ सय ८२ वटै मतदान केन्द्रमा बिहीबारसम्ममा मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसहित मतदान सामग्री पुग्ने पौडेलले बताए । जिल्लाका तीनवटा मतदान केन्द्रलाई महिलामैत्री केन्द्र बनाइएको छ । गोरखा नगरपालिकाको ओल्ड क्यापिटल स्कुल, सरस्वती मावि आहाले र बालमन्दिर मावि छहरेमा मतदान अधिकृत, कर्मचारीदेखि सुरक्षाकर्मीसम्म महिला रहनेछन् । क्षेत्र १ मा ९८ हजार ६ सय २२ र क्षेत्र २ मा ९० हजार ८ सय २६ मतदाता छन् । निर्वाचनका लागि जिल्लाभर ४ हजार बढी सुरक्षाकर्मी र करिब दुई हजार कर्मचारी खटिएका छन् ।
 

सुरक्षाकर्मीसहित गाउँ

लमजुङमा पनि मतदान अधिकृतसहितको टोली गाउँमा खटिएका छन् । सुरक्षाकर्मीसहित कर्मचारी लाई गाउँ पठाइएको हो । मुख्य निर्वाचन कार्यालयबाट नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई मतपेटिका तथा मतदान कार्यमा चाहिने ६४ प्रकारका सामग्री लिएर कर्मचारी गाउँ जाने क्रम सुरु भएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए । 
 

बुधबार दूधपोखरी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकामा रहेका मतदान केन्द्रमा जानुपर्ने कर्मचारी खटिएका छन् । क्रमश: दोर्दी गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका, राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र बेंसीसहर नगरपालिकाका लागि कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बताए । 
 

चुनावका लागि जिल्लामा १ हजार २ सय ६३ कर्मचारी र ६ सय ३५ जना स्वयंसेवक खटिनेछन् । १ सय ६५ मतदान केन्द्रमा सोही संख्यामा मतदान अधिकृत, सहायक मतदान अधिकृत छन् । ६ सय ४७ सहायक कर्मचारी र २ सय ८९ जना कार्यालय सहयोगी छन् । मतदान अधिकृतमा १४ जना जिल्ला शिक्षा कार्यालयका स्रोतब्यक्ति र २३ जना मावि द्वितीय र तृतीय तहका शिक्षक समेत खटिएको सहायक निर्वाचन अधिकृत भूमिप्रसाद शर्माले बताए । 
 

हिमाली जिल्ला मनाङमा पनि चुनाव गराउन मतदान अधिकृत र सहायक अधिकृतसहितका टोली खटिएका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालका अनुसार बुधबार नार र फू (नारफू गाउँपालिका) को ५ मतदान केन्द्रका लागि ३५ जना कर्मचारी खटिएका छन् । 
 

नेस्याङ गाउँपालिकामा ७१, नासोङमा ६४ र चामे गाउँपालिकामा ३५ कर्मचारी बिहीबार खटिने उनले बताए । सुरक्षा अंगका बाहेक जिल्लाभर कूल २ सय ५ जना कर्मचारी खटिनेछन् । मनाङमा नेपालमै सबैभन्दा कम मतदाता ५ हजार ८ सय ८१ जना छन् । 
 

बिहीबार पुग्ने  

म्याग्दीमा कर्मचारी टोली केन्द्रतर्फ लागेका छन् । सदरमुकाम आसपासको क्षेत्रबाहेक सबै केन्द्रमा बिहीबारसम्म कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

जिल्लाका ७६ स्थानका १ सय ६ मतदान केन्द्र तोकिएको छ । जिल्लामा करीब ७५ हजार ६ सय मतदाता छन् । निर्वाचन गराउन सुरक्षाकर्मी, स्वयंसेवकबाहेक करिब ७ सय कर्मचारी खटिएका छन् । मतदाताको संख्याको आधारमा एउटा केन्द्रमा ५ देखि ८ जनासम्म कर्मचारी हुनेछन् । सुरक्षा समितिले जिल्लाका ७२ मतदानस्थलमध्ये २२ वटालाई अति संवेदनशील, ३८ लाई संवेदनशील र १२ लाई सामान्यमा वर्गीकरण गरेको छ ।
 

४२ मतदान केन्द्र संवेदनशील

बागलुङ– उम्मेदवार तथा राजनीतिक दलका कार्यक्रमलाई लक्षित गरेर बम विस्फोटका घटना बढेपछि ४२ वटा मतदान केन्द्रलाई उच्च सुरक्षा संवेदनशीलतामा राखिएको छ । 
 

जिल्ला सुरक्षा समितिले संवेदनशील स्थलको पहिचान गरेपछि ती स्थानमा नेपाल प्रहरीसँगै सशस्त्र र नेपाली सेना पनि पठाइसकेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । जिल्लामा १ सय ३ वटा मतदानस्थलमार्फत १ सय ९९ केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान केन्द्र तोकेको दिनदेखि नै ती स्थानमा सुरक्षा गतिविधि बढाइएको समेत उनले बताए । बुधबार निर्वाचन आयुक्त ईश्वरी पौडेलले पनि संवेदनशील स्थलको अनुगमन गरेका छन् । साथै उनले जिल्लाको सुरक्षा तयारीबारे छलफल गरेपछि पहिलो चरणमा ८० प्रतिशत मत खस्ने दाबी गरेका छन् । 
 

‘आममतदाता ढुक्क भएर मत खसाल्न जानुहोला, कसैले पनि बाधा अवरोध गर्न सक्दैन,’ पौडेलले भने, ‘अनावश्यक रूपमा आएका हल्लासमेत चिरेर सबै नागरिकलाई मत खसाल्न पाउने वातावरण आयोगले मिलाउनेछ ।’ 
 

आयोगले पनि बागलुङ, म्याग्दी, लमजुङ र गोरखामा विप्लव समूहको गतिविधि बढी हुन सक्ने अनुमान गरेको पौडेलले बताए । ‘ती जिल्लामा सुरक्षा सतर्कता बढाउन गृहमन्त्रालयलाई भनिसकिएको छ,’ उनले भने । नागरिकको उच्च मनोबल कायम हुने वातावरण बनाउन पौडेलले जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन पनि दिएका थिए । राजनीतिक दलहरूमा पनि सौहाद्र्धता प्रकट गरेर जनतालाई मतदान केन्द्र पुर्‍याउने काम गर्न आग्रह गरेका थिए ।
 

तयारी अन्तिम चरणमा

प्रदेश १ मा पहिलो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा मंसिर १० गते प्रदेश १ अन्तर्गतका १४ मध्ये सातवटा हिमाली जिल्लामा निर्वाचन हुँदै छ । निर्वाचनका लागि सम्बन्धित जिल्ला सदरमुकामबाट सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी जाने क्रम सुरु भएको छ । ओखलढुंगामा मतदानका लागि खटाइएका कर्मचारी बुधबारदेखि गाउँतर्फ लागेका छन् । सदरमुकामदेखि टाढाका मतदानस्थलमा खटाइएका धेरैजसो कर्मचारी हिँडेका हुन् । सदरमुकाम आसपासका कर्मचारी पनि शुक्रबारसम्ममा मतदानस्थल पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

‘अधिकांश कर्मचारी आजै बाटो लागेका छन्,’ जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले भने, ‘बाँकी पनि भोलि र पर्सिभित्रमा मतदानस्थल पुगिसक्नेछन् ।’ उनले सबै मतदानस्थलमा सुरक्षाकर्मीहरूले मतपत्र लगायतका निर्वाचन सामग्री पनि पुर्‍याइसकेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँ जम्मा एक हजार १ सय २८ जना कर्मचारी खटाइएको छ ।
 

जिल्लामा ७८ मतदानस्थल र एक सय ४१ मतदान केन्द्रमार्फत मतदान हुँदै छ । प्रतिनिधिसभाको चुनावमा १ लाख २ हजार २ सय ६३ मतदाताले मतदान गर्दै छन् । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरी मात्रै १ हजार ९६ जना खटिएका छन् । 
 

‘सुरक्षाको सबै तयारी पूरा भइसकेको छ,’ डीएसपी अर्जुन तिमिल्सिनाले भने, ‘साताअघि नै सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।’ भोजपुरमा पनि मतपेटिका, परिचयपत्र र मतपत्रसहित कर्मचारी हिँडेका छन् । कतिपय मतदान केन्द्रमा पुग्न २ दिनसम्म पैदल हिँड्नुपर्ने भएकाले टाढाका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई चाँडै खटाइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले बताए । जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरी १ हजार १ सय ८४ जना कर्मचारी खटिएका छन् । 
 

१ सय ४८ मतदान अधिकृत, सोही संख्यामा सहायक मतदान अधिकृत, सहायक कर्मचारी ५ सय ९२ र कार्यालय सहयोगी २ सय ९६ जना खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानको काम सकिएपछि मतपेटिकालाई सुरक्षित ढंगबाट गणनास्थलसम्म ल्याउने विषयमा सरोकारवालासँग छलफल राखेका छन् । 

ताप्लेजुङमा मतपेटिका लग्दै कर्मचारी । आनन्द गौतम/कान्तिपुर

 

कतै पुगे, कतै जाँदै

ताप्लेजुङमा निर्वाचन गराउन हिँडेका कर्मचारी कोही मतदान केन्द्र पुगेका छन् । कोही सदरमुकाम छाड्ने तयारीमा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री भने कर्मचारीले 

बुझिसकेका छन् । 
 

ताप्लेजुङबाट सबैभन्दा टाढाको केन्द्र फक्तालुङ गाउपालिका ७ ओलाङचुङगोलाको याङमा हो । यहाँ लगातार तीनदिनको पैदलमा मात्रै पुगिन्छ । त्यहाँ जानेको टोली सोमबार नै हिँडिसकेको छ । 
 

गोला, लेलेपको घुन्सा र ग्याब्लामा जाने टोलीलाई पनि प्रहरीले सँगै पठाएको छ । सुरक्षाका दृष्टिले क्षेत्र मिलेको ठाउँमा सँगै पठाइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए । जिल्लामा ७३ मतदानस्थल छन् । १ सय १४ वटा मतदान केन्द्र रहेका छन् । आठ गाउँपालिका र एक नगरपालिका रहेको यहाँ ७८ हजार ३ सय ९७ मतदाता रहेका छन् ।

 

साढे ४ हजारभन्दा बढी कर्मचारी खटिए

बझाङ– पहिलो चरणमा चुनाव हुने प्रदेश ७ का बझाङ, बाजुरा, दार्चुला र बैतडीमा मंगलबारदेखि कर्मचारी र सुरक्षाकर्मी सम्बन्धित मतदानस्थलमा खटिने क्रम सुरु भएको छ । ती ४ जिल्लाका ४ सय ४७ मतदानस्थल र ५ सय ७१ मतदान केन्द्रमा ४ हजार ५ सय ५० कर्मचारी खटिएका हुन् ।
 

शान्तिसुरक्षा प्रभावकारी बनाउन आवश्यक संख्यामा नेपाल प्रहरी, सशस्त्र र सेनाको टोलीसमेत खटाइसकिएको सुरक्षा स्रोतले जनाएको छ । बझाङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भौगोलिक हिसाबले विकटमा रहेका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी मंगलबार नै हिँडेका छन् । प्रतिनिधिसभाका लागि १ मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा १ सय २५ मतदानस्थल र १ सय ६० मतदान केन्द्र छन् । प्रतिमतदान केन्द्रमा औसतमा ८ जना कर्मचारी खटाइएको छ । जिल्ला भर १ हजार २ सय ८० मतदान कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार भण्डारीले जानकारी दिए ।
 

उनका अनुसार विकट ठाउँमा रहेका मतदान केन्द्रमा मतदान सामग्री र सुरक्षाकर्मीसहितको टोली मंगलबार नै हिँडिसकेको छ । यातायातको सुविधा भएका मतदानस्थलमा भने बिहीबार मात्र मतदान कर्मचारी र सुरक्षाकर्मीको टोली हिँड्नेछ । 
 

 निर्वाचन सुरक्षाका लागि पनि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाका सबै मतदान केन्द्रको सुरक्षाका लागि ८ सय ३९ जना नेपाल प्रहरी, २ सय ९० जना सशस्त्र प्रहरी, १ हजार ४० जना म्यादी प्रहरी खटाइसकिएको डीएसपी ऋषिराम कँडेलले बताए । 
 

जिल्लामा रहेका १ सय २५ मतदानस्थलमध्ये ५५ वटालाई सुरक्षाका हिसाबले अति संवेदनशीलको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द भट्टले जानकारी दिए । ३५ वटा मतदानस्थललाई संवेदनशील र ३५ वटालाई सामान्य भनेर सुरक्षा विश्लेषण भएको र सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गर्ने गतिविधिलाई लिइएको र दलहरूका कार्यकर्ताबीच हुन सक्ने आपसी झडपको चुनौतीको पनि ख्याल गरिएको डीएसपी कँडेलले बताए । निर्वाचनको सुरक्षालाई ध्यान राखेर जिल्लामा मदिरा निषेध गरिएको छ । 
 

बैतडीमा बिहीबारसम्म पुग्ने

बैतडीमा पनि मतपेटिका र मतपत्रसहित कर्मचारी र सुरक्षाकर्मीको टोली खटाइएको छ । मंगलबार दुर्गम र टाढाका मतदानस्थलमा खटिने कर्मचारीलाई पठाइएको छ । बिहीबारसम्म सबै मतदानस्थलमा टोली पुगिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १ सय २० मतदानस्थल र १ सय ८२ केन्द्रका लागि मतदान अधिकृत र सहायक कर्मचारीसहित १ हजार ४५९ कर्मचारी र २ हजार सुरक्षाकर्मी खटिएका छन् । 
 

बुधबारसम्म पञ्चेश्वर, शिवनाथ, सिगास, डिलासैनी, सुर्नया, दोगाडाकेदार गाउँपालिका, पाटन, मेलौली र पुर्चौडी नगरपालिकाका मतदानस्थलमा टोली पठाइसकेको र सदरमुकाम क्षेत्रको दशरथचन्द नगरपालिकामा बिहीबार पठाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए । 
 

बैतडीका ३ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । ३८ वटा संवेदनशील सूचीमा छन् । न्वादेऊ आधारभूत स्कुल, पहरौल मावि बागा र खेती मावि तल्लादेहीका केन्द्र अतिसंवेदनशील सूचीमा राखेर निर्वाचन सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । पञ्चेश्वर, सिगास, डिलासैनी गाउँपालिका र पुर्चौडी नगरपालिकाका अन्य ३८ केन्द्र संवेदनशील सूचीमा रहेका छन् । विकटता र स्थानीय तहको निर्वाचनको अनुभव तथा वातावरण हेरेर अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्र छुट्याएको र त्यसैअनुसार सुरक्षा तयारी गरेको प्रजिअ जोशीले बताए । प्रदेशसभा २ र प्रतिनिधिसभा १ क्षेत्र रहेको बैतडीमा ६७ हजार ८ सय ४६ महिला, ६४ हजार ४ सय ७१ पुरुष र २ जना तेस्रो लिंगी गरी १ लाख ३२ हजार ३ सय १९ मतदाता छन् ।
 

सीमा नाका बन्द

मंसिर १० गतेको निर्वाचनलाई मध्यनजर गर्दै भारतसित सीमा जोडिएका दार्चुलाका ५ वटा सीमानाकालाई ७२ घण्टा बन्द गर्ने निर्णय भएको छ । बिहीबार बेलुकी ७ बजेदेखि ११ गते बिहान ७ बजेसम्म भारतसित जोडिएका जौलजीवी, दत्तु, पुलघाट खलंगा, तिग्रम र सीतापुल नाकालाई ७२ घण्टाका बन्द गरिने नेपाल–भारतका अधिकारीबीच सहमति भएको दार्चुलाका प्रजिअ गौतमले बताए । 

 

 

रकम अभावले रोकिए 

बाजुरा– रकम अपुग भएकाले ३ वटा नगरपालिकाअन्तर्गत पर्ने ४५ मतदान केन्द्रका लागि तोकिएका कर्मचारी बुधबारसम्म सदरमुकाम मार्तडीबाट हिँडेका छैनन् । बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारीको टोली पुगिसक्नु पर्ने हो ।

२९ लाख रुपैयाँ अपुग भएकाले बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकामा रहेका मतदान केन्द्रमा तोकिएका कर्मचारीलाई समयमै खटाउन नसकिएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए । ‘ताकेता गर्दा पनि अहिलेसम्म रकम नआएकाले कठिनाइ भयो,’ उनले भने, ‘बिहीबारसम्म पठाउन नसके चौपट हुन्छ ।’
 

आयोगले स्थानीय तह निर्वाचनकै अनुसार रकम पठाएको तर अहिले त्यति रकमले नपुगेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनको भन्दा अहिले मतदान केन्द्र संख्या बढेको र कर्मचारीको संख्यासमेत बढेकाले रकम अपुग भएको हो । त्यतिबेला ९२ मतदान केन्द्र रहेकामा अहिले १ सय केन्द्र कायम गरिएकोछ । साथै त्यसबेला ५ सय ४४ कर्मचारी खटिएकामा अहिले ७ सय ९९ कर्मचारी खटिएका छन् । 
 

अन्य तयारी भने सबै पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबारसम्म १ सयमध्ये ५५ मतदान केन्द्रका कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने सामग्रीसहित सदरमुकामबाट प्रस्थान गरिसकेको मुख्य निर्वाचन अधिकृत थपलियाले बताए । 
 

सुरक्षाका दृष्टिले अतिसंवेदनशीलमा राखिएको यो जिल्लामा सुरक्षाको बलियो प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । जिल्लाका सबै मतदानस्थललाई भ्याउने गरी दुवै प्रदेश सभाका विभिन्न स्थानमा सेना, सशस्त्र र नेपाल प्रहरीलगायत सुरक्षाकर्मी परिचालित भइसकेका छन् ।
 

यस्तै दार्चुलाका सबै मतदान केन्द्रहरूमा मंगलबारदेखि कर्मचारीहरू खटिन सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १ सय १० मतदान स्थल र १ सय २९ वटा मतदान केन्द्रका लागि १ हजार १२ जना कर्मचारीहरू खटिएको जिल्ला निर्वाचन अधिकृत तुल्सीराम पाण्डेले जानकारी दिए । टाढाका मतदान केन्द्रका मतदान अधिकृतसहित सहायक कर्मचारीहरूले मतदान सामग्री बुझेर मतदान केन्द्रतिर हिँडिसकेको र नजिकका केही मतदान अधिकृतहरू मतदान सामग्री बुझ्न बाँकी रहेको निर्वाचन अधिकृत पाण्डेले बताए । 

प्रकाशित : मंसिर ७, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?