७२ घण्टाका लागि रसुवागढी नाका बन्द, ‘राम्चे’ निषेधित क्षेत्र घोषणा

बलराम घिमिरे

रसुवा — मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमानाका बन्द गर्नु पर्ने भएकाले बिहीबार राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

नाका बन्द सुरु भएपछि सवारी साधन तथा मानिसको आवतजावत पुरै रोकिने छ । सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिका र मतपत्रसहित पुगिसकेकाले निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बताए । उनले भने, 'म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी करिब १५ सय सुरक्षाकर्मीहरु परिचालित हुने छन् ।'

‘राम्चे’ निषेधित क्षेत्र घोषणा
जिल्लाको कालिका गाउँपालिका-१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको छ ।

राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको हुँदा सुरक्षालाई मध्यनजर राख्दै उक्त स्थानमा सभा जुलुस गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । जिल्ला सुरक्षा समिति बैठकले बिहीबार दिनको १२ देखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित : मंसिर ७, २०७४ १६:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन् : दाहाल

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताएका छन् ।

आफ्नै निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जली सभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए । मन्तव्यमा भनिएको छ, 'प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छौं ।'

आफ्नो पारिवारिक शोकमा आम रुपमा प्राप्त भएको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उनले पीडामा साथ दिनुले खुसीमा साथ दिनुभन्दा धेरै महत्व राख्ने उल्लेख गरे । उनले भने ‘तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।’

शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको अध्यक्ष दाहालको भनाइ छ । ‘छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए । पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए', अध्यक्ष दाहालको लिखित मन्तव्यमा भनिएको छ 'मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु । ’

यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट अध्यक्ष दाहालका ३६ वर्षका छोरा प्रकाशको असामयिक निधन भएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, पत्रकार, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । उपस्थित सहभागीले अध्यक्ष दाहाल र उनको परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

- रासस

प्रकाशित : मंसिर ७, २०७४ १६:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT