२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

संवेदनशील क्षेत्र हेर्दै आयुक्त र सुरक्षा प्रमुख

आश गुरुङ

लमजुङ — निर्वाचन आयुक्त, क्षेत्रीय प्रशासक तथा प्रहरीको क्षेत्रीय प्रमुखसहितको टोलीले बिहीबार हिमाली जिल्ला मनाङको अति संवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् । जिल्ला सुरक्षा समितिले भौगोलिक दृष्टिबाट अति संवेदनशील सूचीमा राखेको नारफू गाउँपालिकाका ५ वटै मतदान केन्द्रको बिहीबार टोलीले निरीक्षण गरेको हो ।

संवेदनशील क्षेत्र हेर्दै आयुक्त र सुरक्षा प्रमुख

उक्त गाउँपालिकाको नार गाउँमा ३ र फू गाउँमा २ मतदानस्थल रहेका छन् । नार र फू जान सदरमुकाम चामेबाट २ दिन लाग्छ । 

भौगोलिक दृष्टिले विकट मानिएको उक्त ठाउँका मतदानस्थल निरीक्षण गर्न निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल र नेपाल प्रहरीको क्षेत्रीय प्रमुख एआइजी कमलसिंह बम पुगेका थिए । उक्त ठाउँमा निर्वाचन अधिकृतलगायत कर्मचारी तथा सुरक्षा टोली पुगिसकेका छन् । ‘हाइ अल्टिच्युट’र उचाईका कारण हेलिकप्टरलाई ‘टेकओभर’मा समस्या पर्न सक्ने भन्दै चामे पुगेर पनि क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, सेनाको पश्चिम पृतनाका सहायक रथी ताराविक्रम शाह, सशस्त्र प्रहरी बलका एसएसपी उमेशकुमार श्रेष्ठ गएनन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले नार र फू पुगेको टोलीले मतदान केन्द्रको अवस्था, वरपरको अवस्था र भौगोलिक अवस्थाको निरीक्षण गरेको बताए । उक्त ठाउँमा घुम्न नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । विशेष प्रकारको पास लगेरमात्रै जान पाउने उक्त ठाउँमा स्वदेशीको समेत निगरानी हुने गर्छ । फू गाउँबाट करिब २ दिन लाग्ने ठाउँमा नेपाल र तिब्बतबीचको ३४ नं. पिल्लर रहेको छ । तिब्बती नाका भए पनि उक्त नाका प्रयोगमा छैन । नाकामा अवान्छित गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर राखेर सरकारले प्रतिबन्ध लगाएको हो । 

मनाङ पुगेको टोलीले जिल्ला सुरक्षा समितिलाई सुरक्षाको कुनै पनि कमजोरी नगराई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन सफल बनाउन निर्देशन दिएको छ । हिमाली जिल्ला भएकाले भौगोलिक दृष्टिकोणबाट संवेदनशील बनेको र आन्तरिक रुपमा आइरहने युवाले पनि संवेनदशीलता बढाउने भन्दै यसप्रति संवेदनशील बन्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । यसपछि राजनीतिक दलसँग गरिएको छलफलमा राजनीतिक दलबीच एकअर्काले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भन्दै पोलापोल गरेका थिए । ‘हामी स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट चुनाव सम्पन्न गराउन हरदम सक्रिय छौं’ प्रजिअ पन्तले भने । 

२८ मतदान केन्द्र रहेको मनाङमा ९ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ । संवेदनशील मतदानस्थलमा प्राय: माथिल्लो क्षेत्रका रहेका छन् । ४ गाउँपालिका रहेको मनाङको माथिल्लो मनाङको नेस्याङ गाउँपालिकामा ९ वटा मतदान केन्द्र छन् । नारफू गाउँपालिकामा ५ मतदान केन्द्र छन् । नेस्याङ र नारफू गाउँपालिका प्रदेश (ख) मा पर्छ । चामेमा ५ र तल्लो मनाङको नासोङमा ९ मतदान केन्द्र छन् । चामे र नासोङ प्रदेश (क) मा पर्छ ।

प्रकाशित : मंसिर ७, २०७४ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?