कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मतदाता कुर्दै कर्मचारी

हरि गौतम

रुकुम (पश्चिम) — आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको मतदानका लागि मतदान अधिकृतसहित कर्मचारीहरू सम्बन्धित मतदान केन्द्र पुगेका छन् । मतदानका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हिँडेका कर्मचारी सबै मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

मतदाता कुर्दै कर्मचारी

जिल्लामा ७३ मतदानस्थल छन् भने १ सय ११ केन्द्र तोकिएको छ । ‘सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगिसके,’ जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले भने, ‘मतदान केन्द्रमा पुगेर कर्मचारीले आवश्यक काम पनि थालिसकेको खबर आएको छ ।’

मतदानका लागि मतपत्रलगायत सम्पूर्ण सामग्री लिएर कर्मचारी टोली सुरक्षित रूपमा मतदान केन्द्र पुगेका छन् । केन्द्र पुगेर पनि कतिपय मतदान केन्द्रको सर्वदलीय बैठक बस्ने, चार किल्ला तोक्ने, मदिरा बन्देज गर्नेजस्ता काम भइसकेको देवकोटाले जानकारी गराए । ‘अहिलेसम्मको अवस्था हेर्दा सबै सामान्य नै छ,’ उनले भने, ‘सम्बन्धित केन्द्रमा कर्मचारी साथीहरू पुगेर पनि आवश्यक बन्दोबस्त गरी मतदाता पर्खिरहेका छन् ।’

प्रदेशसभा सदस्यतर्फको क निर्वाचन क्षेत्रको बाँफिकोट गाउँपालिका ६ को सिदार्थ जनता माविको ख मतदान केन्द्रका मतदान अधिकृत विनाराम खडकाले बिनाबाधाअवरोध मतदानका सामग्रीसहित मतदान केन्द्रमा पुगेको बताए । मतदान केन्द्रको सम्पूर्ण काम सकेर मतदाता परिचयपत्र वितरण तयारीमा रहेको उनको भनाइ छ । ‘हामीले सबै तयारी लगभग सक्यौं,’ खडकाले भने, ‘मतपत्र प्रदानका लागि मतदाता कुरेर बसेका छौं ।’

प्रदेशसभा सदस्यतर्फको ख निर्वाचन क्षेत्रको चौरजहारी नगरपालिका २ को शितल मावि मतदान केन्द्रका मतदान अधिकृत शेरबहादुर परियारले केन्द्रका अधिकांश काम सकिएको बताए । हामीले मतदान केन्द्र पुगेपछि गर्नुपर्ने अधिकांश काम सक्यौं, परियारले भने, ‘अब सर्वदलीय बैठक गर्ने र समय आएपछि मतदानको काम गराउनमात्रै बाँकी रह्यो ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि ५ गते मंगलबारदेखि कर्मचारी खटाउन थालेको थियो । सदरमुकामदेखि सबैभन्दा टाढाको आठविसकोट नगरपालिकाका सबै केन्द्रमा ५ गते कर्मचारी खटाइएको थियो भने अन्तिम दिन बिहीबार मुसिकोट नगरपालिकाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् ।

१ प्रतिनिधि तथा २ प्रदेशसभा सदस्यतर्फका निर्वाचन क्षेत्र रहेको जिल्लामा ८४ हजार ३२ मतदाता रहेका छन् । ३/३ स्थानीय तह मिसाएर प्रदेशसभा सदस्यतर्फका निर्वाचन क्षेत्र बनाइएको छ । प्रदेश क निर्वाचन क्षेत्रमा ४१ हजार ६ सय ५५ मतदाता छन् भने खमा ४२ हजार ४२ हजार ३ सय ७७ मतदाता छन् ।

प्रकाशित : मंसिर ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?