१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लुगलुग काम्दै मतदान

विनोद त्रिपाठी

मुस्ताङ — शून्य डिग्री तापक्रम । मधुरो घामको न्यानो पनि बादलले छेकिदिनाले रातको जस्तै ठिही थियो । तैपनि उपल्लो मुस्ताङवासी चिसोको पर्वाह नगरी आइतबार बिहानै मतदानस्थलमा भोट दिन ओइरिए । बाक्ला कपडा लाएर उनीहरूले हिउँ छल्दै मतदान गरे ।

लुगलुग काम्दै मतदान


धेरैले चिसोका कारण स्थानीय चुनावमा भन्दा कम भोट खस्ने आशंका गरेका थिए । तर, मतदाताले चिसो खपेरै भोट दिए । हिउँ परेका विकट गाउँका कतिपय मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खसेको छ । अघिल्ला वर्षमा मतदाता जाडो छल्न असोज–कात्तिकमै अन्य जिल्ला जाने गर्थे । यसपालि अन्य ठाउँमा गएका मतदाता पनि भोट हाल्न आए । कतिपय स्थानीय चिसो खपेरै बसे । जाडो खप्न नसकेकाहरू डोल्पा गएर बसेका थिए । ‘अनुमान गरेभन्दा धेरै भोट खस्यो,’ मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले भने, ‘जनताको यो उत्साह निकै प्रशंसनीय छ ।’ कुनै पनि केन्द्रमा अवरोध नभई मतदान सकिएको उनले जानकारी दिए ।
डोल्पासँग जोडिएको हिमाली आधारभूत विद्यालय शान्तास्थित मतदान केन्द्रमा ३९ मध्ये ३४ भोट खसेको छ । यो गाउँका मतदाता भोट हाल्न डोल्पा गएर बसेका थिए । आफ्नो गाउँमा हिउँ परेपछि बस्न नसकेर उनीहरू डोल्पा गएका हुन् । सबै आएर भोट हालेर फर्किए । भोट हालिसकेपछि उनीहरू सबै पोखरा र नेपालगन्जतिर व्यापार गर्न जाने बताउँछन् । छोसेर, छोन्हुप, सुर्खाङ, लोमान्थाङजस्ता विकट गाउँका मतदान केन्द्रमा ८० प्रतिशतभन्दा बढी भोट खसेको छ । भोट दिँदा वृद्धवृद्धा चिसोले लुगलुग काँपिरहेका थिए । कतिपय चिसोका कारण मतपत्र हातले समाउनै नमिलेको कर्मचारीलाई सुनाउँदै थिए । ‘भोट दिन पाउँदा खुसी लागेको छ, जाडो भए पनि भोट दिन पाउनु भाग्य हो नि,’ कागबेनीकी ६५ वर्षीया ढोका गुरुङले भनिन् ।
यो मौसममा चिसोले सुनसान हुने जोमसोम बजार भोट हाल्न आउने स्थानीयका कारण गुल्जार बनेको छ । अध्ययन र कामको सिलसिलामा बाहिर गएका युवायुवती भोट हाल्न आएपछि आफन्त र साथीभाइसँगको जमघटले रौनक बढाएको छ ।
आफ्ना शुभचिन्तक तथा मतदातालाई सम्बन्धित उम्मेदवारले आइतबार बिहानसम्म बोलाएका थिए । बिहान ११ बजेसम्म जहाजले मतदाता ओसारेको थियो । तल्लो भेगका भन्दा उपल्लो मुस्ताङका केन्द्रमा बढी भोट खसेको छ । चिसो ठाउँका मतदान केन्द्रमा बढी भोट खसेको देखेर धेरैलाई आश्चर्य लागेको छ । जनप्रभात आधारभूत विद्यालय छोन्हुप केन्द्रमा १८८ भोट खस्यो । यो केन्द्रमा ३३३ मतदाता थिए । यो कोरला नाकासँग जोडिएको सबैभन्दा माथिल्लो मतदान केन्द्र हो । अत्यधिक जाडोका कारण यो मतदान केन्द्रमा भोट नखस्ने कर्मचारीको अनुमान थियो । ‘झन् हिमाली भेगका केन्द्रमा सोचेभन्दा बढी भोट खस्यो,’ जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले भने ।

प्रकाशित : मंसिर ११, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?