नेपालगन्जमा आचारसंहिता उल्लघंन गर्न होडबाजी

उम्मेदवारहरु भने संहिता उल्लंघन नगरेको दाबी गर्छन्
ठाकुरसिंह थारु

नेपालगन्ज — निर्वाचन आचारसंहिताले सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना र निजी घर जग्गा लगायतका स्थानमा पर्चा टाँस्न रोक लगाएको छ । तर, बाँकेमा भने राजनीतिक दलहरुबीच आचारसंहिता उल्लघंन गर्ने होडबाजी चलेपछि निर्वाचन आयोगले सार्वजनिक स्थानमा राखिएका निर्वाचन प्रचार समाग्री हटाउन थालेको छ ।

नेपालगन्जमा आचारसंहिता उल्लघंन गर्न होडबाजी

आयोगले तीन दिनभित्रै सार्वजनिक स्थानमा राखिएका पर्चा हटाउने दिएको निर्देशन दलहरुले अटेर गरेपछि सोमबार प्रहरी लगाएर हटाउन थालिएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रचारका लागि भन्दै चुनाव चिह्न अंकित झण्डा, ब्यानर, पर्चाका झलार बनाएर चोकचोकमा राखिएका छन् ।

नेपालगन्जको धम्बोझी, बीपी, गणेशमान, त्रिभुवन चोक र बिजुलीका खब्बाहरुमा प्रचार समाग्री राखिएका छन् । तर, चुनावी स्पर्धामा रहेका दलहरुले भने आचारसंहिता उल्लंघन नभएको दाबी गर्दै आएका छन् । उनीहरुले विपक्षी दलहरुले प्रचार समाग्री हटाए आफ्नो हटाउने अडानमा छन् । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका सदस्य सचिव तथा क्षेत्रीय निर्वाचान अधिकारी बसन्तराज अधिकारीले दलहरुलाई सार्वजनिक स्थानका पर्चा हटाउन दिएको निर्देशन अटेर भएपछि प्रहरीको सहयोगमा हटाउन थालेको बताए । यसअघि अनुगमन समिति र राजनीतिक दलका प्रतिनिधिबीच बैठक बसी तीन दिन भित्रै हटाउने सहमति भएको थियो ।

‘सार्वजनिक स्थानमा राखिएका प्रचार समाग्री तीन दिनभित्रै हटाउने सहमति दलहरुका नेताहरुले गर्नु भयो । तर हटाउनु भएन,’ उनले भने, ‘आचारसंहिता अनुगमन समितिको बैठकपछि स्थानीय प्रशासनको सहयोगमा प्रचार समाग्री हटाउँदैछौ ।’

बाँकेमा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको जानकारी पाएपछि निर्वाचन आयोगले दुई अधिकारीहरुलाई अनुगमनका लागि पठाएको छ । प्रतिनिधिसभा क्षेत्र १ मा बलभद्र गिरी र प्रतिनिधिसभा क्षेत्र २ र ३ मा झकप्रसाद आचार्य अनुगमन गरेका थिए ।

उनीहरुले आचारसंहिताको उल्लंघन घटनाको अनुगमन गरी बाँकेका प्रमुख निर्वाचन अधिकृत, स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरुसंग छलफल गरेका थिए । अनुगमनकर्तालाई संहिता पालना भए, नभएको सम्बन्धमा अनुगमन गरी उल्लंघन भएको देखिएमा निर्वाचन कार्यालय तथा स्थानीय प्रहरीको समन्वय तथा सहयोगमा आवश्यक छानबिन गर्न सक्ने अधिकार दिइएको छ ।

त्यस्तै कसैले आचार संहिता उल्लङ्घन गरेको पाएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउने छन् ।

‘निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना, कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने र निजी घरजग्गामा जग्गाधनीको स्वीकृति नलिई राजनीतिक गतिविधि वा प्रचार प्रसार गर्न वा गराउन नहुने,’ आचारसंहितामा छ । त्यस्तै उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट ×५ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।

उम्मेदवारले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट × ३ फिट भन्दा ठूलो आकारको पोष्टरको प्रयोग गर्न वा गराउन नहुने र जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च × १८ इन्च भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न रोक लगाइएको छ । तर, दलहरुले आचारसंहिताले तोकेको मापदण्डलाई उल्लंघन गर्दै प्रचारप्रसार गर्दै आएका छन् ।

कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आफ्ना पक्षबाट आचारसंहिता उल्लंघन नभएको बताइन् । ‘बजारमा हेर्नुस् कुन दलले निर्वाचन प्रचारका झण्डा माला बनाएर राखेका छन्,’ उनले भने, ‘हामीले आचारसंहिता उल्लंघन हुने गरी पर्चा पम्पलेट राखेका छैनौं ।’

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले पनि आफ्नो पक्षबाट आचारसंहिता उल्लघंन नभएको दाबी गरे । उनले त्यसरी उल्ल्घंन गरेको पाइए निर्वाचन आयोगले आफैं हटाउन सक्ने बताए । संघीय समाजवादी फोरम नेपालका प्रवक्ता समसुलहक राईले पनि आचारसंहिता उल्लंघन हुने गरी प्रचारप्रसार नगरेको दाबी गरे ।

बाँकेमा कांग्रेस—राप्रपाको लोकतान्त्रिक गठबन्धन र एमाले—माओवादी केन्द्रको वाम गठबन्धनसंगै मधेसवादी दलहरु पनि निर्वाचन स्पर्धामा छन् ।

प्रकाशित : मंसिर ११, २०७४ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?