कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साख जोगाउने कसरतमा नेपाल र कुइँकेल

मकर श्रेष्ठ

काठमाडौं — एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेसका निवर्तमान सांसद दीपक कुइँकेल निर्वाचनमा दोस्रोपटक सँगै भिडदै छन्। यही क्षेत्रबाट दुवैले एक/एकपटक जितेका थिए। त्यो पनि एकै वर्ष। ०७० को दोस्रो संविधान निर्वाचनमा नेपालले जिते। त्यो वर्ष उनी रौतहटबाट पनि विजयी थिए। दुईमध्ये एक छाड्नुपर्दा नेपालले काठमाडौं–२ छाडे।

त्यसपछिको उपनिर्वाचनमा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई हराउँदै कुइँकल विजयी भए। उनीहरू दुवै जना ०६४ को निर्वाचनमा काठमाडौं २ मा माओवादीका झक्कुप्रसाद सुवेदीसित पराजित भएका थिए।

यसपटक फेरि दुवै जना प्रतिस्पर्धी भएका हुन्। यस वर्ष दुवैलाई अघिल्लो निर्वाचनमा पाएको मत जोगाउनु छ। उनीहरूलाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले समेत टक्कर दिएका छन्। आचार्य दुवै गठबन्धनको मत तान्ने कसरतमा छन्। जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’ विषयमा पीएचडी गरेका ५५ वर्षीय आचार्यले त्यहींबाट सहरी विकास, पूर्वाधार एवं यातायातको क्षेत्रमा दक्षता हासिल गरे। उनी पूर्वाधारविदका रूपमा चिनिन्छन्। जापानमा रहँदा एसियाको पूर्वाधार विकासको नीतिबारेमा अध्ययन समितिको नेतृत्व तहमा बसेका आचार्य स्वदेश फर्केपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अतिथि प्राध्यापक भए।

गणितमा एमएस्सी गरेका ५० वर्षीय कुइँकेल अघिल्लो निर्वाचनमा जितेपछि आफ्नो क्षेत्रमा विकासको सुरुआत गरेका छन्। ६५ वर्षीय नेपालले वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन्। ०७० को निर्वाचनमा नेपालले कांग्रेसकी उम्मेदवार प्रतिमा गौतमभन्दा साढे नौ हजार बढी मतले जितेका थिए। नेपालले छाडेपछिको उपनिर्वाचनमा कुइँकलेले एमालेको भन्दा ४ हजार बढी मत ल्याएर जिते। काठमाडौं २ का मतदाताले हरेक चुनावमा फरक उम्मेदवारलाई जिताएको देखिन्छ। ०६४ को निर्वाचनमा माओवादीका झक्कु सुवेदी एकाएक उदाए। सुवेदीले पाएको मतभन्दा नेपालको एक हजार मात्रै कम थियो। ११ हजार मत ल्याएर कांग्रेस तेस्रो स्थानमा थियो। ०७० को निर्वाचनमा नेपालले २१ हजार ७ सय ४७ मत पाएर जिते। नेपालले रौतहट रोजेपछि काठमाडौं दुईमा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले १४ हजार १ सय ५७ मतमै चित्त बुझाउनुपर्‍यो। नेपालको प्रतिस्पर्धी प्रतिमा गौतमले १२ हजार ४ सय ६९ मत मात्रै ल्याएकी थिइन् तर उपनिर्वाचनमा कुइँकेल १८ हजार मत ल्याएर विजयी भए।

०६४ मा आफूले हार्नु अपवाद मात्रै भएको नेपालले बताए। उपनिर्वाचनमा आफूले काठमाडौं छाडेकै कारण कांग्रेसले जितेको उनी स्विकार्छन्। ‘त्यो बेला मेरो पनि कमजोरी हो,’ उनले भने। उपनिर्वाचनबाट क्षेत्र नम्बर २ लाई कांग्रेसले पहिलोपटक आफ्नो पकडमा पारेको कुइँकल बताउँछन्। उनले पाएको मत स्थानीय निर्वाचनसम्म टिक्न सकेन। स्थानीय निर्वाचनमा एमाले अघि देखिएको छ। काठमाडौं २ मा पर्ने महानगरका दुई वडा र अन्य दुई नगरपालिकाको मतअनुसार एमाले १८ हजार ९ सय ५९ मतसहित पहिलो स्थानमा छ। कांग्रेस १४ हजार ९ सय ८१ मतसहित दोस्रो र माओवादी ५ हजार ४ सय ५३ र राप्रपाको ४ हजार २ सय ९६ मत छ। वाम गठबन्धन एमाले र माओवादीको मत २४ हजार ४ सय १२ र लोकतान्त्रिक गठबन्धनको १९ हजार दुई सय ७७ मत। स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाको गठबन्धन थियो। कांग्रेस एकल प्रतिस्पर्धामा उत्रिएको थियो। ‘एकल प्रतिस्पर्धा गर्दा मात्र कांग्रेस कमजोर देखिएको मात्र हो,’ कुइँकेल भन्छन्, ‘विकास देखेर पनि मतदाता मेरा पक्षमा छन्।’ एमाले, कांग्रेस र अन्य दलबाट निराश भएका मतदाता आफ्नो पक्षमा रहेको आचार्यले बताए।

काठमाडौं क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिका ९ र ३२ वडा पर्छ। यी दवबै वडामा एमालेका उम्मेदवारले जितेका छन्। यी दुई वडामा ३० हजार दुई सय १० मतदाता छन्। यो क्षेत्रमा कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ वडा पनि पर्छन्। त्यसबाहेक शंकरापुर नगरपालिकाका सबै वडा यही क्षेत्रमा पर्छन्। कागेश्वरी मनहरामा २४ हजार ५ सय ३७ मतदाता छन्। शंकरापुर नगरपालिकाको १९ हजार ९ सय १ मतदाता छन्। मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोमा सक्रिय छन्। नेपाल सोमबार साँखु र पालुवाबारी घरदैलो र कांग्रेसका उम्मेदवार कुइँकेल लेप्सीफेदीमा व्यस्त थिए।

उनीहरूका प्रतिपस्र्धी आचार्य भने कोटेश्वर र सिनामंगल क्षेत्रमा घरदैलो र अपराहन बत्तीसपुतलीका मतदातासँग अन्तरक्रियामा थिए। मतदातासँगको भेटमा सडक र पानीको व्यवस्था गरिदिनुपर्ने समान माग रहेको नेपाल बताउँछन्। उनी आफूलाई काठमाडौं २ का दु:ख, सुखका उम्मेदवार भन्न रुचाउँछन्। भूकम्पको बेला होस् या यस क्षेत्रमा हुने कार्यक्रममा आफू सक्रिय सहभागी भएको नेपाल दाबी गर्छन्।

रौतहटमा स्थानीय निर्वाचनको परिणाममा एमाले कमजोर भएपछि यो क्षेत्रबाट उम्मेदवारी दिएको उनीमाथि आरोप छ। रौतहटमा अरूलाई अवसर दिन र राष्ट्रिय राजनीतिमा पूरा समय दिन पनि काठमाडौं रोजाइमा परेको उनी बताउँछन्। ‘मलाई काठमाडौंको मायाले तान्यो। मेरो घर पनि यही क्षेत्रमै छ,’ उनले भने, ‘मेरो दु:ख, सुख साट्ने ठाउँ नै काठमाडौं हो।’ निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको उनले बताए। ‘कांग्रेस र राप्रपाका नेता कार्यकर्ता पनि खुलेर मलाई सहयोग गर्न लाग्नुभएको छ,’ उनले भने, ‘राष्ट्रपति बन्नलाई सांसद बन्न खोज्नुभएको हो भनेर मतदाताले सोध्छन्। राष्ट्रपति बन्न सांसद बन्नै पर्दैन। आफ्नो क्षेत्र र मुलुकको विकास गर्न मेरो उम्मेदवारी हो।’ विगतमा एमाले मात्रै हुँदा पनि आफू अगाडि भएको र यसपालि माओवादीको मतसमेत थपिएपछि आफ्नो जित सुनिश्चित रहेको दाबी उनले गरे। कांग्रेसका कुइँकेल पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। ‘जनताको माया र विश्वास मलाई नै छ। उपनिर्वाचनमा मलाई दिएको मतको सम्मान गरेको छु। अर्को आधार मैले काम पनि गरेको छु,’ उनी भन्छन्, ‘जनताको काममा अहोरात्र खटेको छु।’ नेपालले प्रधानमन्त्री हुँदा पनि यो क्षेत्रमा विकास नगरेकै कारण आफूलाई मत दिने उनको दाबी छ। कुइँकेलले जितेपछि यो क्षेत्रमा केही नगरेकै कारण आफूलाई जनताले मत दिने नेपाल पनि दाबी गर्छन्। मनहरा कोरिडोर, स्मार्ट सिटी, मनोहरा जग्गा एकीकरण, साँखुलाई सम्पदा बस्ती बनाउने योजना, गोठाटार साँखु विस्तारित सडकलगायतको कामको जस कुइँकेलले लिँदै मत मागिरहेका छन्। तल्लो तहसम्म संगठन नै नबनाई सीधै मतदाताको ढोका ढकढकाउन पुगेका विवेकशील साझाका उम्मेदवार आचार्य पनि जित्ने दाबी गर्छन्। ‘दुई साताको माहोलले जितको नजिक पुगेको छु,’ उनले भने, ‘पूर्वप्रधानमन्त्रीको क्षेत्रमा प्रतिस्पर्धा गर्न जाँदा माहोल के होला?

भन्ने लागेको थियो। सहरी र ग्रामीण क्षेत्रका मतदाता हाम्रो पक्षमा देखेपछि हामी पनि अचम्ममा परेका छौं।’ पुरानो दलप्रति आक्रोश रहेकाले पनि आफूले मत पाउने उनले बताए। पुराना दलले केही नगरेपछि यसपालि नयाँ हेरौं भन्ने सोचमा मतदाता रहेको उनी बताउँछन्। ‘पार्टीको सिपाहीलाई पठाउँदा बिग्रियो। अब विकास बुझेका उम्मेदवारलाई जिताउनुपर्छ भनेर गाउँगाउँमा समेत अभियान चलाएका छन्,’ उनले भने।

युवा मतदाता बढी
क्षेत्र नम्बर २ मा युवा मतदाता बढी छन्। निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा २५ देखि ४० वर्ष उमेर समूहका मतदाता ३६.८७ प्रतिशत छन्। ७४ हजार ७ सय ५६ मतदाता रहेको काठमाडौं २ मा यो उमेर समूहका २७ हजार ५ सय ६९ जना छन्। १८ देखि २५ वर्ष उमेर समूहका ८ हजार ३ सय ९४, ४१ देखि ६० वर्ष उमेर समूहका २७ हजार ४ सय ४३ जना मतदाता छन्। ६१ वर्षभन्दा माथिका ११ हजार छन्। यो क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी छन्। आयोगका अनुसार ३६ हजार पुरुष छन् भने ३८ हजार महिला मतदाता छन्।

प्रकाशित : मंसिर १२, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?