निष्पक्ष निर्वाचन नगराएको कांग्रेस डोल्पाको आरोप

कान्तिपुर संवाददाता

डोल्पा (दुनै) — नेपाली कांग्रेस डोल्पाले डोल्पाका विभिन्न मतदान केन्द्रमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नगराएको निर्वाचन आयोगलाई आरोप लगाएको छ ।

कांग्रेस डोल्पाले बुधबार पत्रकार भेटघाट गरी निर्वाचन आयोग नेपाललाई यस्तो आरोप लगाएको हो । माथिल्लो डोल्पाका सबै गाउँपालिकाहरुमा रहेका मतदान केन्द्रमा वाम गठबन्धनले आफ्ना एजेण्टहरु बस्न नदिएको, विभिन्न मतदान केन्द्रमा निष्पक्ष मतदान नगराएको पत्रकार सम्मेलनमा कांग्रेस डोल्पाका सभापति अंगदकुमार बुढाले आरोप लगाए । उनले माथिल्लो डोल्पाका २२ मतदान केन्द्र, काइके गाउँपालिकाका ७ वटा मतदान केन्द्र र त्रिपुरासुन्दरी नगरपालिकाका २ वटा मतदान केन्द्र गरी ३१ वटा केन्द्रमा निष्पक्ष निर्वाचन नगराएकाले पुन: मतदान गराउन माग समेत गरेको बताए ।

उसले पत्रकार सम्मेलन गरेर निर्वाचन निष्पक्ष नगराएको आरोप लगाएपछि मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीसँग सो सम्बन्धमा बुझ्दा नेपाली कांग्रेस डोल्पाले पत्र दिएको र पत्र निर्वाचन आयोग नेपालमा पठाइएको बताउँदै निर्वाचन आयोगले निर्णय गर्ने बताए ।

प्रकाशित : मंसिर १३, २०७४ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

बाजुरामा सबैभन्दा धेरै मत खस्नुको यथार्थ

गाउँमै नरहेकाहरूको भोटसमेत खसे, गाउँमै रहेकाले आफै भोट हाल्न पाएनन्
अर्जुन शाह

बाजुरा — स्थानीय निर्वाचनमा देशकै सबैभन्दा बढी मत खसेको बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि ८० प्रतिशत मतदान भएको छ । मानव विकास र गरिबी सूचकांकमा सबैभन्दा कमजोर जिल्लामा यति धेरै मत खसेको मतदातामा निर्वाचनप्रति चेतना बढेकै कारण हो त ? यसको भित्री यथार्थ अर्कै छ ।

मतदान सकेर सदरमुकाम फर्किंदै गर्दा मार्तडीको एक चियापसलमा एक युवक आफ्नो समूहमा भन्दै थिए, ‘१ सय २० मत खसाल्दासम्म त गनेकै हुँ, त्यसभन्दा माथि याद भएन ।’ एक्लैले ६० देखि ८० मत खसालेको बताउने गाउँघरमा छ्यापछ्याप्ती भेटिए । एउटै व्यक्तिले धेरै जनाको नाममा मत हालेको पाइएको छ ।

मध्याह्नतिर बाह्रबिसेस्थित एक मतदान केन्द्र पुग्दा कांग्रेस र वाम गठबन्धनबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने दुई नेता आपसमा भन्दै थिए, ‘कसैलाई भोट हाल्ने रहर बाँकी छ भने दुवैतिरबाट बराबर हुने गरी एक–डेढ सय फर्जी गरौं, नभए जति खस्यो–खस्यो ।’

एक उच्च माविका प्राचार्य मतदान गर्न आफ्नो केन्द्र पुग्दा उनको मत पहिल्यै खसिसकेको रहेछ । सबैले चिनेजानेका प्राचार्यलाई त्यत्तिकै फर्काउन अप्ठ्यारो परेपछि केन्द्रमा सहभागी दलका प्रतिनिधि, मतदानअधिकृतलगायतले सल्लाह गरेर अर्कैको नाममा मत हाल्ने व्यवस्था मिलाइदिएको उनले सुनाए । ‘साह्रै नराम्रो लागे पनि केही बोल्ने अवस्थै भएन,’ उनले भने ।

दलका कार्यकर्ताले आफ्नो पहुँच रहेको केन्द्रमा मतदाता नामावलीमा उल्लेख भएका सबै मत खसाल्ने प्रयत्न गर्छन् । फर्जी मत खसाल्न रोक्ने मतदान अधिकृत वा अन्य कर्मचारीलाई धम्की दिएर चुप गराउनु सामान्य मानिन्छ यहाँ ।

अत्याधिक फर्जी मत खस्ने वा कब्जा हुने केन्द्रका रूपमा पहिल्यैदेखि चर्चित छ थुमा । त्यहाँ निर्वाचन गराएर फर्किएका कृष्ण शाहीले भने, ‘फर्जी मत खसाल्न रोक्दा अनेकौं धम्की र गाली गलौज खेप्नुपर्‍यो ।’ गरिबीका कारण यहाँका अधिकांश पुरुष रोजीरोटीका लागि हिउँदमा भारततिर लाग्छन् । ६ महिना उतै श्रम गर्छन् । तर, सूची हेर्ने हो भने ती सबैको नाम मतदान गरेकाको पंक्तिमा भेटिन्छ । ‘पहुँचका आधारमा फर्जी मतदान भएको देखिएको छ,’ राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोगका जिल्ला संयोजक मदनराज जैसी भन्छन्, ‘गाउँमा हुँदै नभएका धेरैको मत खसेको पाइएको छ ।’

सोझासाझा र सर्वसाधारण महिला मतदातामध्ये धेरैले आफ्नो भोट आफैं हाल्न पाउँदैनन् । दलका प्रतिनिधि युवाले महिलालाई अशक्त देखाएर उनीहरूको मत आफैं खसाल्छन् । पिनालेक केन्द्रका मतदान अधिकृत जितजंग सिंह भन्छन्, ‘बाहिरै कुरा ठिक्क पारेर मतदाता स्वयंले आफ्नो मत फलानोले हाल्छ भनेपछि हाम्रो केही लाग्दैन ।’

बुथ कब्जा गर्ने रणनीतिमा सबै दल उत्तिकै सक्रिय रहन्छन् । एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा रहेको बाजुरामा दुवै पक्ष फर्जी मत खसाल्न जुटेका देखिन्थे । दुवै पक्षका प्रतिनिधिहरू चुपचाप बसेपछि कसैको केही नलाग्ने अनुभव सुरक्षाकर्मीले सुनाए ।

‘अर्काको नाममा मत खसाल्नु लोकतन्त्रको उपहास हो,’ मार्तडीस्थित मालिका माविका प्रअ शुभराज पाध्यायले भने, ‘जनताको मन जित्नेभन्दा बलजफ्ती मत खोस्ने मनोविज्ञानका रूपमा यसलाई बुझ्न सकिन्छ ।’ उनका विचारमा खसेकामध्ये ६० देखि ६५ प्रतिशत मत मात्र वास्तविक होलान् ।

एक सय मतदान केन्द्र रहेको बाजुरामा पाण्डुसेनस्थित पिस क्रेटर एकेडेमीमा दलका प्रतिनिधिबीच फर्जी मतको विषयलाई लिएर झडप भयो । कांग्रेसतर्फका २ जना घाइते भए । त्यसबाहेक जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन भएको उल्लेख भयो । ग्रामीण क्षेत्रका अधिकांश सर्वसाधारण निर्वाचनको अघिल्लो दिनसम्म मतदाता शिक्षा नपाएको बताउँछन् । तर, जिल्लामा बदर मत संख्या अत्यन्तै न्यून हुने गर्छ । स्थानीय निर्वाचनमा बदर मत ०.०१ प्रतिशत थियो ।

प्रकाशित : मंसिर १३, २०७४ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्