२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भरपर्दो सुरक्षा चाहन्छन् सीमाक्षेत्रका मतदाता

जहदा (मोरङ) — सीमावर्ती क्षेत्रका मतदाताले पुरानै माग दोहोर्‍याएका छन् । सधैंका निर्वाचनमा जस्तो यसपालि पनि उनीहरू मत माग्दै आउने उम्मेदवारसमक्ष भरपर्दो सुरक्षा माग गरिरहेका छन् । भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना बढेपछि सबैको साझा सरोकारको विषय नै शान्ति सुरक्षा बनेको हो ।

भरपर्दो सुरक्षा चाहन्छन् सीमाक्षेत्रका मतदाता


सीमावासीले भारतीय क्षेत्रबाट आउने समूहले धनमाल लुट्ने र कुटपिट गर्ने घटना सधैं भोग्नुपरेको छ । कतिपय गाउँमा चौपाया र सवारी साधन चोरीका घटना पनि हुने गरेका छन् । भरपर्दो सुरक्षा नहुँदा आफूहरू सधैं जोखिममा बस्नुपरेको उनीहरूको गुनासो छ । सशस्त्र द्वन्द्वका बेला सीमा क्षेत्रका प्रहरी चौकी सदरमुकाम र अन्यत्र गाभिएपछि सुरक्षा चुनौती झनै बढेको छ । कतिपय सुरक्षा इकाइ अझैसम्म पुन:स्थापना हुन सकेका छैनन् । मोरङको क्षेत्र ५ को भूभाग भारतसँग जोडिएको छ । यहाँ प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका निवर्तमान सभासद अमृत अर्याल, वाम गठबन्धनबाट माओवादी केन्द्रका बिनाविभागीय मन्त्री शिवकुमार मण्डल, संघीय समाजवादी फोरमबाट जिल्ला अध्यक्ष राजकुमार यादव र राजपाबाट बद्रीप्रसाद मण्डल उम्मेदवार बनेका छन् । सबैले सुरक्षाको व्यवस्था र आधारभूत पूर्वाधार उपलब्ध गराउने वाचा गर्दै मतदाता रिझाउने प्रयत्न गरिरहेका छन् ।
यो क्षेत्रको करिब ४१ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । सीमावर्ती सबै क्षेत्रका बासिन्दा प्रभावकारी ढंगको शान्ति सुरक्षाको माग दोहोर्‍याइरहेका छन् । मोरङ ५ मा पर्ने जहदामा प्रहरी चौकी भए आफूहरूको सुरक्षा हुने स्थानीयको बुझाइ छ । यसका लागि उनीहरूले आफ्नै प्रयासमा एउटा घर बनाएका छन् । गत स्थानीय तह निर्वाचनका बेला पनि स्थानीयको माग शान्ति सुरक्षाको व्यवस्था होस् भन्ने नै थियो । ‘सीमावर्ती क्षेत्र भएकाले सुरक्षाको अवस्था भरपर्दो छैन,’ स्थानीय अशोक साहले भने, ‘चौकीमा नियमित प्रहरी बस्ने व्यवस्था भए धेरै सहयोग हुने थियो ।’
भारतको अररिया जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले घरदैलोमा आउने उम्मेदवारलाई यही माग सुनाउने गरेका छन् । स्थानीय तह निर्वाचनका बेला पनि आफूहरूले सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरेको तर अझैसम्म पूरा हुन नसकेको स्थानीय खेम साहले बताए । ‘नेताहरूले तुरुन्तै चौकीको व्यवस्था हुन्छ भनेका थिए,’ उनले भने, ‘तर अझैसम्म प्रहरी आएका छैनन् ।’
स्थानीय शिक्षक अजय सिंहका अनुसार भारततर्फ सीमा सुरक्षा बलको बाक्लो उपस्थिति छ । त्यसले सीमापारिबाट हुने चोरी डकैती केही हदसम्म रोकिए पनि साना ठूला चोरीका घटना भने निरन्तर छन् । गाउँमै हुने झैझगडाका बेला पनि प्रहरीको आवश्यकता पर्छ । उनले यो क्षेत्रको मुख्य माग नै सुरक्षा प्रत्याभूति रहेको सुनाए ।
सुरक्षाबाहेक सिँचाइ सुविधा, सीमा नाकामा छोटी भन्सार सञ्चालन, बिजुली, व्यवस्थित सडक र स्वास्थ्य सुविधाका माग पनि मतदाता गरिरहेका छन् । यस क्षेत्रमा सन्थाल, यादव, मण्डल, नुनियाँलगायत पिछडिएका जातिको बसोबास बढी छ । कतिपय आर्थिक अभावले उच्च शिक्षाको अवसरबाट वञ्चित छन् । यो समस्या हटाउन पनि नेताहरूले पहल गर्नुपर्ने शिक्षक सिंहको भनाइ छ । सबैजसो उम्मेदवारले सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था गर्ने, सडक, बिजुली र सिँचाइको व्यवस्था गर्ने आश्वासन भने दिइरहेका छन् । ‘यसपालि हामीलाई आश्वासनले मात्रै पुग्दैन,’ मझारेका रमण मण्डलले भने, ‘वाचा पूरा नगर्ने नेतालाई पटक पटक किन सघाउने भनेर सोच्नैपर्ने भएको छ ।’ यस क्षेत्रमा ८९ हजार २ सय ८७ मतदाता छन् ।

 

प्रकाशित : मंसिर १४, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?