चोक–चोकका चियापसलमा हारजीतकै चर्चा

हरिहरसिंह राठौर

धादिङ — जाडो मौसम । भर्खरै सकिएको निर्वाचन । चिया र कफी बढी खपत हुने मौसम । अहिले धादिङका पसलेहरुलाई बिहान झिस्मिसेदेखि नै चिया र कफी बनाएर भ्याइ–नभ्याइ छ । निर्वाचनको नतिजा पर्खनका लागि सदमुकाम झरेका राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयले चिया पसल सधैं भरिएको हुन्छ । सबैको चासो र वहसको विषय एउटै हुन्छ, कसले मार्ला बाजी ?

चोक–चोकका चियापसलमा हारजीतकै चर्चा

जाडो मौसम । भर्खरै सकिएको निर्वाचन । चिया र कफी बढी खपत हुने मौसम । अहिले धादिङका पसलेहरुलाई बिहान झिस्मिसेदेखि नै चिया र कफी बनाएर भ्याइ–नभ्याइ छ ।

निर्वाचनको नतिजा पर्खनका लागि सदमुकाम झरेका राजनीतिक दलका कार्यकर्ता तथा स्थानीयले चिया पसल सधैं भरिएको हुन्छ । सबैको चासो र वहसको विषय एउटै हुन्छ, कसले मार्ला बाजी ?

सदरमुकाम ओइरिएका कार्यकर्ताहरुले बजार क्षेत्रको होटल मात्र हैन बसाई सरी आएकाहरुको घरमा पनि टन्नै पाहुना लागेका छन् । सदरमुकामका ३ दर्जन होटलहरुमा पाइला टेक्नेसम्म ठाउँ छैन ।

पहिलो चरणमा सकिएको निर्वाचनको मतगणना पनि मंसिर २१ गतेको दास्रो चरणको निर्वाचन पछि मात्रै हुने भएपछि राजनीतिक दलका कार्यकर्ताहरुको दिन कटाउने मेलो बनेको छ चियापसल । चिया र कफी पिएर घण्टौं समय बिताइदिने मानिसहरु थुप्रिएसँगै दूधको खपत पनि ह्वात्तै बढेको छ ।

सदरमुकाम बीच बजारको सबैभन्दा बढी जमघट हुने जय माँ लक्ष्मी मिठाई तथा डेरी पसलकी संचालक पवित्रा कोइरालाका मात्रै अहिले दैनिक ३० लिटर दुध खपत हुन थालेको छ । चिया विक्री बढेका कोइराला बताउँछिन् । ‘पहिले १० लिटर दूध खपत हुन्थ्यो,’ उनले मुस्कुराउँदै भनिन्, ‘निर्वाचन पछि मेरो मात्रै होइन अन्य होटलहरुमा पनि दूधको माग दोब्बर बढेको छ ।’

चियाको चुस्कीसँगै त्यहाँ भेला भएका सबैले गर्ने कुराको प्रमुख विषय निर्वाचनको नतिजा नै हो । नतिजाको अनुमानसँगै विगतका निर्वाचनमा खसेको मत संख्या, हालैको स्थानीय निर्वाचनमा खसेको मत र यो निर्वाचनमा खसेको मतबारे ठूलै छलफल चल्छ त्यहाँ । रोचक कुरा त यसरी गफ्फिने लगभग सबैसँग जिल्लाका १ सय मतदानस्थल र २ सय ७५ वटै मतदानकेन्द्रमा खसेका मतको तथ्यांक मुखस्त कण्ठ छ । ठ्याक्कै सम्झिन गाह्रो पर्नेले पनि मोवाईलमै खिचेर राखेका छन् तथ्यांकहरु ।

स्थानीय निर्वाचनभन्दा प्रतिनिधिसभा तथा प्रदेशसभामा थोरै मत खसेको विषयमा लामो र चर्कै बहस चल्छ । ‘‘यसपाला मत किन कम खस्यो ?’ भनेर चर्चा गर्दा कसैकसैले त कुरा नमिलेर पखुरै सुर्कन्छन्,’ बीच बजारका व्यवसायी राजेश श्रेष्ठले भने, ‘जिल्लामा ७७ हजारभन्दा बढीले मत किन हालेनन् र प्रोक्सी मत धेरै किन खस्छ भनेर दैनिक बहस र चर्चा हुन्छ ।’

बहसमा ३२ वर्षदेखि लगातार धादिङ र केन्द्रको राजनीतिमा दबदबा राख्न सफल वाम गठवन्धनका एमाले नेता राजेन्द्र पाण्डेदेखि भर्खरै प्रदेशसभामा उम्मेदवारी दिएका समाजसेवी रमेश धमलासम्मको चर्चा हुन्छ ।

निर्वाचन क्षेत्र नं १ यसै पनि एमालेको किल्ला भएकोले निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको आशा भएको टिप्पणी हुन्छ । स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसभन्दा एमालेले समग्रमा ५३ सय बढी मत प्राप्त गरेको विषयलाई उठाउँदै दुवै क्षेत्रमा एमालेकै जित हुने ठोकुवा गर्नेको आवाज पनि ठूलै सुनिन्छ त्यहाँ ।

एकातर्फ बसेका वाम गठबन्धनका कार्यकर्ताले आफ्नो पार्टीले जित्ने ठोकुवा गर्छन् भने अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता धादिङमा लगातार वाम राजनीतिक हावी भए पनि जिल्लाको विकास हुन नसकेकोले योपटक भने लोकतान्त्रिक गठबन्धनले जित्ने तर्क अघि सार्छन् ।

निर्वाचन पछि संकलन गरिएका दुवै निर्वाचन क्षेत्रका मतपेटिका जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ । सुरक्षा निकायका तीनवटै निकायको घेरा मात्रै हैन थप सुरक्षा सतर्कताकालागि बाहिर र भित्र सीसी टिभी पनि जडान गरिएको छ ।

प्रकाशित : मंसिर १४, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?