१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

यसरी भिड्दै छन् प्रदेशसभा उम्मेदवार

ललितपुर–१
प्रशान्त माली

ललितपुर — प्रतिनिधिसभासँगै प्रदेशसभाका उमेदवारहरूले ललितपुर प्रचारप्रसार तीव्र पारेका छन् । उनीहरूले मुख्य रूपमा स्थानीय विकास निर्माणका योजनालाई अघि सारेका छन् । ललितपुर क्षेत्र नं. १ अन्तर्गतका दुई प्रदेशसभामा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा छ ।

यसरी भिड्दै छन् प्रदेशसभा उम्मेदवार

दुवै तर्फका उम्मेदवारले आफू विजयी हुने दाबी गरेका छन् ।

ललितपुर–१ ‘क’ 
निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी लालकुमारी पुन (सुशीला) र कांग्रेसका ऋषिराम घिमिरे मुख्य प्रतिस्पर्धी छन् । माओवादी केन्द्रकी प्रदेशसभा उम्मेदवार पुनले राजधानीसँगै जोडिए तापनि दक्षिण भेग विकासको दृष्टिकोणले पछि परेको भन्दै कृषि, पर्यटन र प्राकृतिक सम्पदाको प्रचारप्रसारबाट नमुना जिल्ला बनाउने नारा अघि सारेकी छन् । उनी भन्छिन्, ‘स्थानीय स्रोतसाधनको परिचालन गरेर नै दक्षिणी ललितपुरलाई समुन्नत बनाउन सकिन्छ ।’ उनी दक्षिणी ललितपुरको गाउँ तथा कोणसभामा व्यस्त छिन् । 

उनका प्रतिस्पर्धी कांग्रेसका घिमिरेले सडक योजनाहरूलाई प्राथमिकता दिएका छन् । उनले कान्ति लोक पथ, ललितघुम्ती सडक, लेले–चन्दनपुर सडक, गम्दी–आश्राङ सडकको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् । ‘जनतालाई आर्थिक समृद्धिका मोडल सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम कांग्रेससँग छ,’ उनी भन्छन्, ‘हामीले पूर्वाधार विकासमार्फत जनतालाई आत्मनिर्भर र बलियो बनाउँछौं ।’ एक चरणमा घरदैलो अभियान सकेका उनी गाउँ/नगरसभाको दौडमा छन् । 

पुन रोल्पाकी हुन् । कांग्रेस उम्मेदवार घिमिरेले उनलाई ‘टुरिस्ट’ को संज्ञा दिँदै स्थानीयवासीको नाताले आफूले जित्ने दाबी गरे । प्रदेशसभाका कांग्रेस उम्मेदवार घिमिरे दुईपटक गाविस अध्यक्ष भइसकेकाले त्यसको आधारमा मतदाता आकर्षित गर्ने रणनीतिमा देखिन्छन् । वाम गठबन्धनकी उमेदवार पुन पछिल्लो समय ललितपुरमा भएको विकास निर्माणको श्रेय लिएर मतदाता आकर्षित गर्ने रणनीतिमा छन् । यी बाहेक राप्रपाका मधुसूदन दाहाल, संघीय समाजवादी फोरमका रामबहादुर स्याङ्तानलगायत दुई स्वतन्त्रसमेत गरी ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 

ललितपुर–१ ‘ख’

ललितपुर–१ ‘ख’को प्रतिस्पर्धामा एमालेका चेतनाथ सञ्जेल र कांग्रेसका मीनकृष्ण महर्जन प्रतिस्पर्धामा छन् । दुवै चापागाउँका बासिन्दा भएकाले स्थानीय र सेरोफेरोको मत तान्ने होडबाजी छ । गोदावरीको ६ देखि ११ र कोन्ज्योसोमको २, ३ र वाग्मती गाउँपालिकाका सबै वडा समेटिएको यस प्रदेशसभामा एमालेका सञ्जेलले रोडाढुंगा उद्योग व्यवस्थापनका नारा अघि सारेका छन् । महर्जनले खेलकुद पूर्वाधार विकासमा जोड दिएका छन् । 

एमालेका सञ्जेलले पुनर्निर्माण, ढुंगा, गिट्टी तथा बालुवालगायतका उद्योगको उचित व्यवस्थापन गर्ने योजना बनाएका छन् । यो नारा रोडाढुंगा उद्योगका लगानीकर्ता र त्यसमा आश्रित मजदुरहरूलाई आकर्षित गर्ने खालको छ । उनले प्रत्येक वडामा सडक सञ्जाल विस्तार गरी सौर्य बत्ती, हरियाली विकासको प्रतिबद्धता जनाएका छन् । ललितपुरका स्थानीय पर्यटकीय क्षेत्रको विकास, होमस्टे प्रवद्र्धनका साथै फ्रि वाइफाइका आकर्षण उनको योजनामा समावेश छ । वन, पशु र कृषिको प्राविधिक शिक्षा, माध्यमिक तहसम्मको शिक्षा, नि:शुल्क घुम्ती अस्पताल उनका अरू आकर्षक नारा हुन् । ‘दुग्ध व्यवसायको प्रवद्र्धन र कृषि पर्यटन नै मेरो प्राथमिकता हो,’ सञ्जेलले भने । 

कांग्रेस उम्मेदवार महर्जनले खेलकुद पूर्वाधार र कृषिका केही योजनाबाट मतदाता आकर्षित गर्न खोजेका छन् । महर्जनले प्रत्येक स्थानीय तहमा रंगशाला, खेलमैदान, युवाक्लब तथा पार्क, प्रविधियुक्त र सुविधासम्पन्न सभागृह बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिणी ललितपुरमा व्यावसायिक कफी खेती, पशुपालन तथा तरकारी खेतीमार्फत कृषिमा आधारित व्यवसायको प्रवद्र्धनबाट नमुना जिल्ला बनाउने योजना उनको घोषणापत्रमा उल्लेख छ । ‘मैले आफ्नो क्षेत्रलाई खेलकुदबाटै चिनाउन चाहन्छु,’ उनी भन्छन्, ‘घोषणापत्रका अरू योजनालाई पनि कार्यान्वयन गर्नेछु ।’ ललितपुर १ ‘ख’ मा कुल १२ जना प्रदेशसभाका उम्मेदवारमध्ये ५ जना स्वतन्त्र छन् । 

 

प्रकाशित : मंसिर १५, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?