कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्साहपूर्ण भएन पुन:मतदान

हरि गौतम

रुकुम (पश्चिम) — मतपेटिकामा एसिड हालिएपछि यहाँका दुई केन्द्रमा गरिएको पुन: मतदान उत्साहजनक भएन । बाँफिकोट गाउँपालिका–५ रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रमा गत १० गतेको भन्दा ५ प्रतिशत कम मत खसेको छ ।

उत्साहपूर्ण भएन पुन:मतदान

६ सय ७२ मतदाता रहेको उक्त केन्द्रमा अघिल्लो पटक ४ सय ३२ अर्थात् ६४ दशमलव २८ प्रतिशत मत खसेकोमा शुक्रबार भने ५९ दशमलव ०७ प्रतिशत अर्थात् ३ सय ९७ मात्रै खसेको छ ।

उक्त केन्द्रमा शुक्रबार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मात्रै मतदान भएको हो । यसैगरी आठबीसकोट नगरपालिका- ११ को नेपाल राष्ट्रिय मावि गतसैनाको ‘ख’ केन्द्रमा पनि गत १० गतेको तुलनामा २३ प्रतिशत कम खसेको छ । ७ सय ५६ मतदाता रहेको उक्त केन्द्रमा अघिल्लोपटक ४ सय ९४ अर्थात् ६५ दशमलव ३४ प्रतिशत मत खसेको थियो भने शुक्रबार ३ सय २१ अर्थात् ४२ दशमलव ४६ प्रतिशत मात्रै खसेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य गरी दुवैतर्फको समानुपातिक तर्फको मात्रै मतदान शुक्रबार गराइएको हो ।

गत १० गते मतदानकै क्रममा बाँफिकोट केन्द्रमा राखिएको प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्यको मतपेटिकामा एसिड हालिएको थियो । यस्तै गरी आठबीसकोट नगरपालिकाको केन्द्रमा समानुपातिक तर्फको मतपेटिकामा एसिड हालिएपछि दुवै केन्द्रको मतदान स्थगित गरिएको थियो । उक्त मतदानका क्रममा बाँफिकोटको मतपेटिकामा २ सय ४६ मत खसेको थियो भने आठबीसकोटको मतपेटिकामा ३ सय ३ मत खसेको थियो । मतपेटिकामा एसिड हालेर चुनाव स्थगितपछि निर्वाचन आयोगले शुक्रबार मतदान गराउनू भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देश दिएको थियो । 

पुन: मतदान शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । ‘दुवै केन्द्रमा शान्तिपूर्ण पुन: मतदान भयो,’ उनले भने, ‘तर उत्साहजनक भने हुन सकेन ।’ दुवै केन्द्रमा कडा सुरक्षाबीच मतदान गराइएको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुवै मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

बाँफिकोटमा जिल्लाका सहायक निर्वाचन अधिकृत रहेका तेजप्रसाद पौडेललाई मतदान अधिकृत बनाइएको थियो भने, आठबीसकोटमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवर मतदान अधिकृत भएका थिए । सुरक्षा संवेदनशीलताको आधारमा मुख्य निर्वाचन अधिकृत संयोजकत्वको जनशक्ति व्यवस्थापन समितिले उनीहरूलाई मतदान अधिकृत बनाएर खटाउने निर्णय गरेको थियो । 

मतपेटिकमा एसिड हालेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बाँफिकोटबाट सोही ठाउँकी कल्पना केसी र आठबीसकोटबाट केशव खडकालाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित : मंसिर १५, २०७४ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?