कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मतदाता रिझाउने होड

मर्चवार — नेपालका प्राय: सबैजसो जिल्लामा आफ्नै दुर्गम क्षेत्र छन् । रूपन्देहीका लागि मर्चवार त्यस्तै क्षेत्र मानिन्छ । उर्बर फाँटको यो क्षेत्रमा बिहीबार दिउँसो गाउँ पुग्नुअघिको खेतमा किसानको एक जोडी हेगा लगाइरहेका (माटो सम्याउने काम) थिए ।

मतदाता रिझाउने होड

पतिले हेगाको एक छेउ टेकेर गोरु बाँधेको डोरी समाइरहेका थिए भने पत्नी त्यसको सन्तुलन मिलाउन अर्को छेउमा डोरी समाएर बसेकी थिइन् । गोरुको चालसँगै सानो किसान परिवार गरामा फन्का लगाइरहेको थियो । यो दृश्य तराईका फाँटमा देखिने आम दृश्य हुने थियो, यदि ती महिलाले काखमा सानो बच्चा नच्यापेको भए । हेगामा बसेर फनफनी गरामा घुमिरहेका यी 

महिला र बच्चाको दृश्यले मर्चवारको कथा भनिरहेको थियो ।
भारतीय सीमासँग जोडिएको मर्चवारको एउटा छेउमा तिनाउ र अर्को छेउमा दानव खोला छन् । वर्षामा ठूलो बाढी आउने भए पनि अहिलेको चुनावका बेला भने यी दुवै खोला मौन छन्, गडगडाउने काम उम्मेदवारहरूलाई छोडेर । 
मंगलबार राति १० बजेतिर भैरहवास्थित कान्तिपुर संवाददाताको मोबाइलमा फोन आयो । फोन गर्नेले एउटा सूचना दिए, मर्चवार क्षेत्रमा स्थानीय मदिराका ३ सय पेटी पक्राउ परेका छन्, समाचार बनाउनुपर्‍यो । यो फोन राजपा नेता सर्वेन्द्रनाथ शुक्लको थियो । मर्चवार क्षेत्रमा २७ वर्षदेखि चुनाव लडिरहेका र यहाँको सबभन्दा ठूलो राजनीतिक व्यक्तिको छवि भएका शुक्ल यसपालि पुन: मैदानमा छन् । कुनै बेला भैरहवाको चिनी मिलका चिफ इन्जिनियर शुक्ललाई अहिले पनि यस क्षेत्रमा चिफसाहब र चिफबाबु भनेर चिनिन्छ । उनको दुई रंगको चुनावी पोस्टरमा समेत उनको चुनाव चिह्न छातामुनि सर्वेन्द्रनाथ शुक्ल उर्फ चिफबाबु लेखिएको छ । 
मर्चवार कुनै बेला भारतीय डाँकाहरूको प्रकोपमा थियो । गब्बरसिंहका गुन्डाजसरी घोडा चढेर आउने डाँकाबाट यो क्षेत्र आक्रान्त थियो । यहीँ प्रहरी कारबाही चलाएर अच्युतकृष्ण खरेलले प्रहरी अधिकृतका रूपमा ठूलो नाम बनाएका थिए । अहिले डाँका त छैनन् तर समस्याका गुन्डाहरू घोडाभन्दा तेज गाडी नै चढेर धूलो उडाइरहेजस्ता लाग्छन् । शुक्ल यहाँको जमिन्दार परिवारका सदस्य हुन् । उनको प्रभाव र दबदबा उनीसँग एकैछिन क्षेत्रमा हिँड्दा पनि देख्न सकिन्छ । 
तर, यसपालि उनलाई चुनौती दिन एक नयाँ युवा मैदानमा उत्रिएका छन्, प्रमोद यादव । भैरहवा क्षेत्रमा होटल र जग्गा जमिनको व्यवसायबाट फस्टाएका प्रमोद तीन महिनाअघि सभापति शेरबहादुर देउवासँग टीका लगाएर कांग्रेस प्रवेश गरेका हुन् । राजनीति र खासगरी चुनावमा पैसाको माग र महत्त्व बढिरहेका बेला प्रमोदजस्ता व्यवसायीहरू राजनीतितर्फ आकर्षित भइरहेका छन् । र, अहिले शुक्ललाई डर छ, प्रमोदको यही शक्तिको । मंगलबार राति पक्राउ परेको रक्सी प्रमोदले नै क्षेत्रका जनतामा बाँड्न ल्याएको आरोप शुक्लको थियो । 
‘कांग्रेसले बाहिरको क्षेत्रबाट एक जना गैरराजनीतिक मान्छेलाई उम्मेदवार बनाएका कारण कांग्रेसका पुराना साथीहरूले मलाई समर्थन गरिरहेका छन्,’ बिहीबार दिउँसो मर्चवारको रुदलापुरमा घरदैलो गरिरहेका शुक्लले भने । पञ्चायतसमेत करिब तीन दशकदेखि मर्चवार क्षेत्रमा सक्रिय शुक्ल यहाँका प्राय: सबै मतदाता र तिनका समस्यासँग परिचित छन् । कुन बाटो बर्खामा साइकल काँधमा हालेर हिँड्नुपर्ने अवस्थामा थियो, देखि आफ्नो पहलमा कहाँकहाँ सडक पिच भए र बिजुलीका खम्बा गाडिए उनी त्यसको हिसाब दिँदै हिँडिरहेका छन् । 
प्रमोद यादवका लागि भने यो क्षेत्र र चुनावको अनुभव नयाँ हो । मर्चवारकै सिमरी गाउँपालिकाको भिल्रहवाको एउटा घरमा कुर्ता पाइजामामा भेटिएका प्रमोद आफ्नो प्रभाव जमाउने प्रयासमा देखिन्थे । शुक्ल छोडेर प्रमोदको पक्षमा उभिएका एक जना कार्यकर्ता उनको छेउमा थिए । शुक्लका अवगुण गणना गर्ने काममा उनले अहिले प्रमोदलाई सहयोग गरिरहेका छन् । रूपन्देहीको ४ नम्बर क्षेत्र कांग्रेसको खासै पकड भएको क्षेत्र मानिँदैन । पछिल्ला चुनावहरूमा यहाँ तमलोपा र संघीय फोरमका उम्मेदवारले जितेका थिए । तर, यसपटक प्रमोदको तामझामले कांग्रेसलाई जगाउने आशा यहाँका कांग्रेस नेताहरूले व्यक्त गरे । 
‘५० वर्षदेखि यहाँ शासन चलाएकाले यो क्षेत्रको विकास गरेनन् । तपाईंलाई अहिले यहाँ छोडिदियो भने एक दिनमा भैरहवा पुग्न सक्नुहुन्न । यही हो विकास गरेको ?’ प्रमोदले प्रश्न गरे । यहाँदेखि २८ किलोमिटर क्षेत्रमा कुनै स्कुल, कलेज र अस्पताल छैनन् भन्दै उनले आफूले ५ वर्षभित्रमा यी सबै बनाइसक्ने बताए । प्रदेशसभाका कांग्रेस उम्मेदवार बसिउद्दिनले यसमा थपे, ‘५ वर्षमा हामीले यति काम गर्न सकेनौं भने फेरि फर्केर भोट माग्न आउने छैनौं ।’ 
बसिउद्धिनका लागि भने यो पहिलो चुनाव होइन । २०७० को संविधानसभामा फोरमबाट उम्मेदवार बनेका बसिउद्धिन दोस्रो भएका थिए । उनलाई तमलोपाका उम्मेदवार शुक्लले पराजित गरेका थिए । बसिउद्धिनजस्तै यस क्षेत्रका अर्का राजनीतिक खेलाडी हुन् ओमप्रकाश यादव गुल्जारी । ०६४ मा भैरहवा क्षेत्रबाट मधेसी जनाधिकार फोरमबाट सांसद बनेका गुल्जारी चुनावको मुखैमा एमाले प्रवेश गरे र अहिले वाम गठबन्धनबाट क्षेत्र नं ४ बाट सांसद उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले शुक्ल र यादवका बीच प्रतिस्पर्धाको तेस्रो कोण थपेको छ । ‘हिजो सबभन्दा पहिले ओलीको पुत्ला जलाउने उग्र मान्छे आज ओलीको पार्टीको उम्मेदवार बनेका छन्, यस्ता उम्मेदवारीले हामीलाई फरक पर्दैन,’ शुक्लले गुल्जारीबारे टिप्पणी गरे । 
गुल्जारीको भनाइ भने फरक छ । ‘मधेसवादी दलले कहिले चुनाव बहिष्कार गर्ने भन्छ । हामी बहिष्कार गर्छौं, अनि फेरि तुरुन्तै नेताहरू चुनावमा भाग लिने भन्छन्,’ गुल्जारी भन्छन्, ‘मधेसवादी दलले केही गर्न नसक्ने देखेर म वाम गठबन्धनमा गएको हुँ । अब बन्ने वाम गठबन्धनको सरकारले मधेस र मर्चवारको विकास गर्छ ।’ उनी प्रमोद यादव पैसाको बलमा उम्मेदवार बनेको र शुक्लको राजनीतिक अडान नभएकाले आफूले जित्ने बताउँछन् । वाम गठबन्धन भएका कारण गुल्जारी आफ्नो जितप्रति उत्साही देखिन्छन् ।
यो क्षेत्रको राजनीतिक समीकरण तीन कोणमा मात्रै सकिँदैन । यसको चौथो कोणमा छन्, अर्का ओमप्रकाश यादव । मर्चवारबाट ०६४ मा शुक्ललाई पराजित गरी सांसद बनेका यादव यस पटक पनि फोरमबाटै उम्मेदवार बनेका छन् । 
शुक्लले जातीय र धार्मिक कार्ड प्रयोग गर्ने गरेको आरोप बसिउद्धिन लगाउँछन् । ‘अघिल्लो पालि मलाई जितायो भने पाकिस्तान बन्छ भनेर भाषण गरे अहिले प्रदेशमा आफैंले मुस्लिम उठाएका छन्,’ बसिउद्धिनले भने । शुक्ल भने यस्तो आरोपलाई सत्य मान्दैनन् । ‘मलाई यहाँका सबै जाति र धर्मका मानिसको सद्भाव प्राप्त छ,’ शुक्ल भन्छन् । 
९० हजार मतदाता रहेको क्षेत्र नं ४ मा यादव, कुर्मी र मुस्लिम मतदाताको बाहुल्य छ । प्रदेशसभामा प्राय: सबै ठूला पार्टीले एक जना उम्मेदवार मुस्लिमलाई बनाएका छन् । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा १६ जना उम्मेदवार छन् भने प्रदेशसभाका दुई क्षेत्रमा गरी ४२ जना उम्मेदवार छन् । उम्मेदवारी दिनेमा २१ दलका नेता छन् । 
विकासको प्रमुख एजेन्डाबाहेक यहाँ अर्को पनि एजेन्डा छ । त्यो हो पहिचानको आन्दोलनको प्रतिफल के भन्ने ? प्रमोद यादव मधेसवादी दलले अनावश्यक आन्दोलन गराएर जनताको छोराको हत्या गराएको आरोप लगाउँछन् । एमाले र मधेसवादी आन्दोलनको एक/एकवटा छेउमा रहँदा कांग्रेसले बीचमा रहेर जोगाएको यादव बताउँछन् । उनी भन्छन्, ‘हरेक चुनावमा शुक्लका दुईजना मान्छे फित्ता लिएर रोड र पुल नापेझैं गर्छन् । उनले एउटै फिल्म धेरैपटक देखाइसके । अब उनको रिल खतम भइसक्यो ।’
शुक्ल यसमा सहमत छैनन् । ‘हाम्रै प्रयासले संविधान संशोधनको प्रस्ताव संसदमा गयो, हामीले मध्यमार्गी बाटो लिएका हौं, हामी अझै पनि यसमा सुधार गर्ने प्रयास गरिरहेका छौं,’ शुक्लले भने । गुल्जारी भने मधेसवादी र कांग्रेस दुवैले जनतालाई झुक्याउने काम गरेकाले वाम गठबन्धन विकल्प बनेको बताउँछन् । प्रदेश नं ५ मा स्थानीय तहको निर्वाचनमा राजपाले भाग लिएन । तर, धेरै स्थानमा यस पार्टीका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिए । धेरै स्थानमा थोरै मतले स्वतन्त्र उम्मेदवार पराजित भएको भन्दै शुक्ल यसपालि सबै मत एकीकृत हुने दाबी गर्छन् । 
वाम गठबन्धनको दुई तिहाइका कुराले नागरिकको लोकतान्त्रिक अधिकारमाथि बन्देज लाग्ने डर देखिएको शुक्ल बताउँछन् । ‘मधेसको धर्ती भनेको जहिल्यै प्रजातान्त्रिक हो, कुनै हालतमा पनि लालमधेस हुन सक्दैन, दुई तिहाइको कल्पना नगरे हुन्छ,’ शुक्ल भन्छन् । उनी एमालेको चिह्नमा चुनाव लड्न गएर छिमेकी जिल्लाका नेता हृदयेश त्रिपाठीले आफ्नो साख घटाएको विश्लेषण गर्छन् ।

प्रकाशित : मंसिर १६, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?