१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सुरक्षा प्रमुखसहित आयुक्त र प्रशासक जिल्ला दौडाहामा

ढुक्कसँग मतदान गर्नुस् : आयुक्त
प्रतिक्षा काफ्ले

स्याङ्जा — दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि प्रदेश सुरक्षा प्रमुखसहित निर्वाचन आयुक्त र प्रशासक जिल्ला दौडाहामा छन् । प्रदेश नम्बर चारका विभिन्न जिल्लाहरुमा चुनाव अनुगमनको लागि हिँडेको टोली आइतबार स्याङ्जा आइपुगेको छ ।

सुरक्षा प्रमुखसहित आयुक्त र प्रशासक जिल्ला दौडाहामा

मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रक्रियाको तयारी, सुरक्षा अवस्था र आचारसंहिता पालना भए/नभएकोबारे टोलीले आइतबारदेखि अनुगमन थालेको हो । टोलीमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, प्रदेश प्रशासक लक्ष्मण अर्याल, नेपाली सेनाको प्रदेश सहायक रथी पश्चिम पृतना ताराविक्रम शाह, प्रहरी प्रदेश प्रमुख एआईजी कमलसिंह बम, प्रदेश प्रमुख अनुसन्धान निर्देशक कुलदेव थापालगायत छन् ।

आयुत्त पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जिल्लाका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । जोसुकै भएपनि निर्वाचन विथोल्न खोज्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ । ‘पहिलो चरणको निर्वाचनलाई पनि हामीले सफल बनायौं’उनले भने, ‘दोस्रो चरणको निर्वाचन पनि शान्तिपुर्ण नै गराउने हो । राज्यको जुनसुकै तहमा रहेको व्यक्ति किन नहोस् नियम बाहिर रहे कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

पूर्वप्रधानमन्त्रीलाई समेत कारबाही गरेको उदाहरण दिँदै उनले उम्मेदवारहरुलाई मौन अवधि नलाग्दा समेत सुरक्षाको जिम्मेवारी दिने र मौन अवधिमा चुनाव प्रचारप्रसारमा हिँडे समातेर राख्न आदेश दिएका छन् । 'ढुक्कसँग मतदान गर्नुहोस्' पौडेलले दोहोर्‍याए, ‘असुरक्षाको आभास दिने छैनौं । गल्ती गर्नेलाई कारबाही गर्ने छौं ।’उनले बुथ कव्जा गर्ने, छलछाम गर्ने राजनीति नहुने भन्दै आचारसंहिता उल्लंघन गर्नेलाई मतदान नदिन आग्रह गरेका छन् । उनले कर्मचारीलाई पनि स्वतन्त्र भई निर्वाचन सफल बनाउन आग्रह गरे । स्थानीय तहको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा आचारसंहिता उल्लंघनमा कमी आएको पौडेलको भनाइ छ ।
यस्तैगरी प्रदेश प्रशासक प्रमुख लक्ष्मण अर्यालले पनि कर्मचारी राज्यका भएकाले स्वतन्त्र काम हुने बताउँदै पुन: निर्वाचन अनुगमनको लागि प्रदेशको सुरक्षा टोली जिल्ला आउने बताएका थिए । पछिल्लो समय जनमानसबाट चुनावी आचारसंहिता र सुरक्षाको प्रश्न उठेको भन्दै यसमा गम्भीर बन्नुपर्ने उनले बताए । प्रदेश प्रशासक अर्यालले एकीकृत सुरक्षा रणनीति अनुरुप जिल्ला सुरक्षा रणनीति तयार भएकाले सोही नुरुप अघि बढेको बताए ।

मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारी, प्रमुख जिल्ला अधिकारी महेश आचार्य, जिल्ला प्रहरी प्रमुख प्रदीप श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख विनोद दवाडी, नेपाल आर्मी जिल्ला प्रमुख निरञ्जन कार्की, पत्रकारहरु तथा राजनीति दलहरुको उपस्थिति थियो ।

प्रकाशित : मंसिर १७, २०७४ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?