कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एमालेको चुनावी प्रचारप्रसार : कहाँ छन् मदन भण्डारी ?

सुरेश न्यौपाने

काठमाडौं — २०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । यसपटकको चुनावमा भने एमालेले अध्यक्ष केपी ओलीलाई प्रमुखता दिएको छ । प्रयोगमा ल्याइएका तुल ब्यानर, पोस्टर र श्रव्य–दृश्यलगायतका कुनै पनि प्रचारप्रसार सामग्रीमा भण्डारी देखिँदैनन् ।

एमालेको चुनावी प्रचारप्रसार : कहाँ छन् मदन भण्डारी ?

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रयोगमा ल्याएका पोस्टरलगायतका निर्वाचन सामग्रीमा पनि अध्यक्ष ओली र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको देखिन्छ । जबकि ०४८ यताका प्रत्येक चुनावमा त्यो ठाउँ पूर्वमहासचिव मदन भण्डारीले लिँदै आएका थिए । यस अवधिमा एमाले दुई वटा संविधानसभा निर्वाचन, तीनवटा संसदीय निर्वाचन र दुई स्थानीय निर्वाचनमा भाग लिइसकेको छ । यी सबै चुनावका प्रचार सामग्रीमा भण्डारीलाई प्रमुखताका साथ स्थान दिइँदै आएको थियो । केही महिनाअघिको स्थानीय तहको चुनावमा समेत भण्डारीका तस्बिर र विचार प्रयोग गरिएका थिए । तर, यसपटक न त भण्डारी देखिन्छन् न त उनका विचारहरू नै । छापा सामग्री, अडियोदेखि भिडियो सबैतिर अध्यक्ष ओली नै छाएका देखिन्छन् ।

किन चटक्कै बिर्सियो त एमालेले पूर्वमहासचिव भण्डारीलाई ? ‘जुन जतिबेला प्रभावकारी हुन्छ, त्यही प्रयोग गर्ने हो । त्यसैले यसपटकको चुनावमा अध्यक्ष र उम्मेदवारहरूकै अनुहार प्रयोग गरिएको छ,’ एमाले निर्वाचन परिचालन समितिका प्रवक्ता तथा पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘उम्मेदवारहरूलाई चिनाउनुपर्ने भएकाले यस्तो भएको हो, जुन आकर्षक बन्छ, त्यही प्रयोग हुन्छ । अन्य कुनै विशेष कारण छैन ।’ त्यसैगरी वाम गठबन्धनका रूपमा चुनावमा गएका कारण पनि पार्टी अध्यक्ष र उम्मेदवार केन्द्रित प्रचार सामग्री प्रयोग गरिएको रिमालले बताए ।

नेपाली कांग्रेस र तत्कालीन वाममोर्चाको संयुक्त आन्दोलनकै परिणामस्वरूप ०४६ सालमा प्रजातान्त्रिक आन्दोलनले सफलता हात पारेको थियो । त्यतिबेला छरिएर रहेका कम्युनिस्ट दलहरूलाई एक ठाउँमा ल्याएर वाममोर्चाको गठन गर्न र नेपाली कांग्रेससँग संयुक्त आन्दोलनमा जान स्व. भण्डारीले विशेष पहल गरेका थिए । उक्त राजनीतिक परिवर्तनपछिको आमनिर्वाचनमा भण्डारी काठमाडौं १ र ५ बाट निर्वाचित भएका थिए । क्षेत्र १ मा उनले तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई नै पराजित गरेका थिए । त्यो जितले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै उनको छवि उज्यालिएको थियो ।

माओवादीसँग गठबन्धन निर्माण गरेका बेला मदन भण्डारीलाई समेत ल्याउँदा ‘कम्युनिस्ट’ देखिने भएकाले पनि एमालेको चुनावी अभियानमा पछिल्लो बद्लाव आएको हुन सक्ने समाजशास्त्री प्राध्यापक चैतन्य मिश्रले बताए । ‘सबैभन्दा पहिले वाम गठबन्धनले दिएको ‘समृद्धि र स्थायित्व’ राजनीतिबाट अलग राख्न जबज र भण्डारीलाई बिर्सिएको हो भन्ने प्रश्नको निवारण गरिनुपर्छ । यदि त्यो हो र कसैले समृद्धि र स्थायित्व राजनीतिविहीन एजेन्डा हो भनेर दाबी गर्छ भने गलत हो,’ मिश्रले भने, ‘राजनीतिबाट अलग गरेर त्यस किसिमको लक्ष्य सम्भव छैन ।’

प्रकाशित : मंसिर १८, २०७४ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?