कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

रावललाई धक्का दिने कसरतमा स्वाँर

अछाम — प्रतिनिधिसभातर्फ अछाम क्षेत्र १ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । एमाले उपाध्यक्षसमेत रहेका भीम रावललाई कांग्रेस अछामका जिल्ला सभापति भरतकुमार स्वाँरले टक्कर दिइरहेका छन् ।

रावललाई धक्का दिने कसरतमा स्वाँर

पूर्वगृह तथा रक्षामन्त्री रावल ‘हेभिवेट’ उम्मेदवार हुन् । जिविस सभापति भएर स्थानीयस्तरमा भिजेका स्वाँर उनलाई धक्का दिने कसरतमा छन् ।

जिल्ला जनप्रतिनिधिको हैसियतले विगतमा संविधान निर्माण, राष्ट्रिय एकता र प्रदेश ७ को एकतालगायत विकास निर्माणमा उल्लेख्य योगदान गरेकाले आफूलाई जित्न कठिन नहुने रावलले बताए । ‘मैले जनप्रतिनिधि हुँदा गरेका विकास निर्माणका कामलाई मतदाताले सम्झिरहेका छन्,’ उनले भने, ‘पाँच वर्षपछि अछामले फडको मार्ने गरी काम सुरु भएको छ ।’ 

माओवादी केन्द्रसमेत मिलेकाले सहज जितको आँकलन गरिरहेका रावललाई स्वाँरले कडा टक्कर दिइरहेका छन् । पटकपटक अछामी जनताले जिताएर केन्द्रमा पठाए पनि रावलले जिल्लाको विकासमा वास्ता नगरेको आरोप स्वाँरले लगाएका छन् । उनी यिनै मुद्दा उचाल्दै भोट तान्ने दाउमा छन् । 

‘हेभिवेट’ रावलका सामुन्ने स्वाँरको छवि कमजोर मान्नेहरू धेरै छन् तर स्वाँर भने यो स्विकार्दैनन् । ‘मतदाता कसैका खल्तीका हँुदैनन्, हेभिवेटको हालत चुनावी नतिजाले देखाउनेछ,’ उनले भने ।

रावलले भने, मध्यपहाडी राजमार्ग, सेती लोकमार्ग, बुढीगंगा परियोजना, कृषि, पर्यटन, शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेकाले आफूलाई चुनौती नभएको दाबी गरे । ‘वामको साझा उम्मेदवार भएकोले निकटतम प्रतिस्पर्धा हुने छैन,’ उनले भने । दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा रावलको उम्मेदवारीले अर्को क्षेत्रको चर्चा कम छ ।

रावल राष्ट्रियस्तरको नेता भएका कारण उनीप्रति एकातिर मतदातामा आकर्षण छ भने प्रभावशाली नेता र मन्त्री भएर पनि जिल्लामा विकास निर्माणका ठूला योजना र जनतालाई आर्थिक उपार्जन हुने कार्यक्रम ल्याउन नसकेको भनेर गुनासो गर्ने पनि थुप्रै छन् । साँफेबगरका कृष्ण कुँवरले मतदाताले विकास चाहेको बताए । ‘ठूल्ठूला कुरा गरेर भयो र ? हामीलाई त आधारभूत समस्या समाधानको खाँचो छ,’ उनले भने । रावलका प्रतिस्पर्धी स्वाँर यस्तै भावना भएका मतदातालाई आफूतिर आकर्षित गराउन जुटेका छन् । 

जिविस सभापति भएका बेला आफूले गरेका कामहरूको चर्चा गर्दै स्वाँरले मतदातालाई आकर्षित गरिरहेका छन् । करिब ६ सय जना शिक्षक भर्ना गरेको, साबिकका सबै गाविसहरूमा स्वास्थ्यचौकी स्थापना गरेको, सबै वर्गका जनताका समस्याहरू बुझेको र समाधानका लागि आफूसँग योजना हुनु आफ्नो जितका मुख्य आधार भएको उनले बताए ।

रावलको सर्वसाधारणसँग कम घुलमिल हुने स्वभाव भएकाले आफू बढीभन्दा बढी मतदाता समक्ष पुग्ने रणनीतिमा छन्, स्वाँर । एमाले नेता रावल अखण्ड सुदूरपश्चिम पक्षमा खुलेर लागेका थिए । रावलका कार्यकर्ता उनलाई ‘भावी प्रधानमन्त्री’ र ‘एमालेको भावी अध्यक्ष’ भनेरसमेत प्रचारप्रसार गरिरहेका छन् । एमाले र माओवादी केन्द्रको गठबन्धन प्रभावकारी ढंगले परिचालित भइरहेको दाबी एमाले कार्यकर्ताको छ । तर, कांग्रेस उम्मेदवार स्वाँर भने माओवादीका सबै मत रावललाई नजाने विश्वासमा छन् । 

 

प्रकाशित : मंसिर १८, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?