३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश ७ – चुनावको मुखमा काम खोज्दै भारत जानेको लर्को

‘नेताहरुले रोजगारी दिने जति भाषण गरेपनि राजगारीका लागि पारी (भारत) जाने घटेका छैनन्'
चित्रांग थापा

महेन्द्रनगर — दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन एक साता पनि बाँकी छैन । गाउँबस्ती, शहरबजार जताततै चुनाव कै चर्चा छ । उम्मेदवार र तिनका कार्यकर्तालाई प्रचार प्रसार भ्याइ नभ्याइ भएको छ । पुरैे मुलुक यतिवबेला चुनावमय भएको अवस्थामा वर्षेनी यहि समयमा मुग्लान पस्ने नियति बोकेकाहरु भने कामको खोजीमा धमाधम भारत पस्न थालेकाछन् ।

प्रदेश ७ – चुनावको मुखमा काम खोज्दै भारत जानेको लर्को

गहुँबाली छरिसकेपछि हिउँदे खेतिपातीको काम सकेर रोजगारीका लागि अधिकांस कामदारहरु यहि समयमा भारत तिर पस्ने गर्छन् । केहि दिन यता कञ्चनपुरको सीमानाका भएर भारतका विभिन्न शहर तिर कामको खोजीमा पस्ने कामदारहरुको संख्या दिनहँु बढ्न थालेको छ । यसरी भारत पस्नेहरुमा कतिपय दशैं तिहारको बिदामा आएर बिदा सकिन थालेपछि फर्किरहेकाछन् । अधिकांस कामको खोजीमा भारत जाने यहि समय भएकोले गाउँ छिमेकको टोली बनाएर जान लागेका हुन् ।

‘चुनावको एकदिन भोट हाल्दैमा घर गुजारा चल्ने होइन, भारत पसेर २/३ महिना कमाई नगरे घर खर्च चल्दैन,’ चुनावको मुखमा कामको खोजीमा भारत उत्तराखण्डको नैनिताल जान लागेका कैलालीको भजनी नगरपालिका–२, कटानपुरका जीवन कामीले भने, ‘गाउँका केही गईसके केही जाँदैछन् ।’ उनले यसपटकको चुनाव र रोजगारीका लागी भारत जाने समय संग संगै जस्तो परेकोले आफुहरुले काम तिरै जाने ठिक सम्झेको बताए ।

जीवन कै टोली अर्का कामदार कृष्ण बुढाले यता नेपाल तिर रोजगारी नै नपाउने भएर आफूहरु चुनावको मुखमा घर छोडेर परदेश लाग्नु परेको बताए । ‘बिहान पार्टीका मान्छे भोट हालेर जाउ भन्दै थिए, साथीहरु सबै जान थाले, म पनि हिँडे । स्थानीय चुनावमा त भोट हालेको हुँ । यसपटक छुट्ने भयो,’ उनले भने, ‘अब उता पुगेपछि नैनिताल मै काम पाइन्छ कि खोटो निकाल्न रानीखेत जानु पर्छ त्यहि पुगेर थाहा होला ।’

प्राय दिउँसो तिर काँधमा झोला भिरेका, कोही थैलोमा लुगाफाटो बोकेर निधारमा टिका लगाइ घरबाट बिदावारी भई निस्केकाहरु महेन्द्रनगर बसपार्क पुग्छन् । बसपार्कबाट टांगा, बसमा चढेर उनीहरु गडुचौकी हुँदै सीमापारीको बनवासा पुग्छन् । बनवासाबाट बस चढेर उनीहरु आ–आफ्नो गन्तव्य तिर लाग्छन् । 


कञ्चनपुरको सीमापारी बनवासा मा बस पखिर् बसेका नेपाली कामदारहरु । तस्बिर : चित्रांग थापा

यसरी वर्षेने कामको खोजीमा जानेहरु अधिकांस उत्तराखण्ड र हिमञ्चलका पहाड तिर लाग्छन् । ‘त्यहाँ दैनिक मजदुरीदेखि ठेक्कापट्टाका कामहरु पाइन्छ, दैनिक देहनडीमा काम गर्दा ४ सय भारुसम्म कामइ हुन्छ,’ कृष्ण बुढा भन्छन्, ‘३ महिना काम गरेर फर्कंदा २५/३० हजार जोगाएर घर फर्कन्छौं ।’

जब पुरै उत्तर भारत चिसो र शितलहरको चपेटामा परेको अवस्था हुन्छ । ठिक यहिबेला नेपाली कामदार पनि उतै हानिन्छन् । केहि त स्कुले बालबालिका र जहान परिवारसहित हिमाञ्चल र उत्तराखण्ड तर्फ जान लागेका भेटिन्छन् । 

‘यो त उनीहरुको भारत पस्ने समय नै हो,’ गड्डाचौकी सीमानाकाका एक सुरक्षाकर्मीले भने, ‘चुनाव भएर अलि कम छ भोट हालेको दोस्रो दिन देखि भारत पस्ने ह्वात्तै बढ्नेछन् ।’

केही वर्ष अघिसम्म मध्य र सुदुरपश्चिमका पहाडी जिल्लाबाट मात्र केही महिनाको पटके रोजगारीका लागि कामदारहरु जाने गरेका थिए । विगतको द्वन्द्वकाल देखि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायका युवाहरु पनि कामको खोजीमा भारत जान थालेकाछन् । 

‘हामी पनि आफ्ना श्रीमान र नातेदारहरुसंगै भारत तिर रोजगारीका लागि जान थालेकाछां,ै’ कैलाली भजनीकी सिता बोहराले भनिन् ।

यसपटक पहिलो चरणको निर्वाचन भएका सुदुरका पहाडी जिल्लामा मत प्रतिशत असारको स्थानीय चुनावको तुलनामा घटेको छ । मत घट्नुको प्रमुख कारण मध्ये यो समय भारत तिर कामको खोजीमा मतदाताहरु जानु पनि प्रमुख कारण हो । 

‘नेताहरुले रोजगारी दिने जति भाषण गरेपनि राजगारीका लागि पारी (भारत) जाने घटेका छैनन्,’ काम कै खोजीमा भारत जान लागेका कञ्चनपुरको बेतकोट नगरपालिका–१० का भानसिंह बोहराले भने, ‘आफ्नै देशमा क्षमता अनुसारको काम पाइँदो हो त ठाउँ कुठाउँमा हण्डर खाँदै किन मुग्लान जानुपथ्र्यो ?’ 

बर्षेनी सीमा पारी कामको खोजीमा जानेहरुको भनाइ कञ्चनपुरका बोहरा संगै मेल खान्छ । तर यो क्रम घटेको छैन बढ्दो छ ।

प्रकाशित : मंसिर १८, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?