कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम संरचना बनाइँदै

पोखरा — निर्वाचनमा खटाइएका कर्मचारीले तोकिएका मतदान स्थल र केन्द्र पुगेर मंगलबारबाट मतदानको पूर्वतयारी थालेका छन् । उनीहरूले दलका अगुवा र स्थानीय भेला गराई मतदान शान्तिपूर्ण र निष्पक्ष गराउन छलफलपछि मतदान केन्द्रका संरचना निर्माण थालेका छन् ।

धमाधम संरचना बनाइँदै


कुँडहरस्थित मौला इस्लामिक सामुदायिक विद्यालयमा सहायक मतदान अधिकृत भएर खटिएका जिल्ला कृषिका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीले भने, ‘चुनावलाई भयरहित, निष्पक्ष तवरले सम्पन्न गर्न लोकल पब्लिकको सहयोग नभइहुन्न । त्यसैले आइपुगेपछि हामीले पहिले छलफलमै ध्यान दियौं ।’
आफ्नो कार्यालयका २० कर्मचारीमध्ये १७ जना निर्वाचनमा खटिएको उनले बताए । ‘राज्यले दिएको जिम्मेवारी जसरी पनि पुरा गर्छौं,’ उनले भने, ‘यो सबै कर्मचारीको दायित्व हो ।’ मौला इस्लामिकमा ‘क’ र ‘ख’ गरी दुइटा मतदान केन्द्रमा ७/७ जना मतदान कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीसहित ३५ जना कर्मचारी खटिएको उनले जानकारी दिए । 
निर्वाचन सामग्री मतदानस्थल लिएर आएपछि कर्मचारीको ध्यान चुनावमै केन्द्रित भएको जिल्ला वन कार्यालय कास्कीका अधिकृत नवीन विकले बताए । उनी रुपा ३ पोल्याङको जनता मावि मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका छन् । ‘प्रक्रिया पुगेका मतदाताले सहज तवरले गोप्य मतदान गर्न पाउँछन्,’ उनले भने । १४ कर्मचारी खटिएको उक्त माविका दुई केन्द्रमा १ हजार ८४ मतदाता छन् । 
पोखरा महानगरपालिकाको कार्यालयले आफ्ना निजामती र स्थानीयतर्फका गरी करिब सयजना कर्मचारी निर्वाचनमा खटिएको जनाएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार जिल्लाका ३ सय १७ मतदान केन्द्रमा विभिन्न कार्यालयका कर्मचारी र शिक्षक गरी ३ हजार ८ सय जनालाई निर्वाचन गराउन खटाइएको छ । कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन् ।
स्याङ्जा संवाददाताका अनुसार मतदान तयारीका लागि स्याङ्जामा तयारी पूरा हुने क्रममा छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङ्जामा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सिटका लागि मतदान हुँदै छ । १ सय ९९ मतदानस्थल सबैमा कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, पर्वतमा पनि मतदानस्थल पुगेका कर्मचारी मतदान केन्द्र निर्माणमा व्यस्त छन् । सोमबारै सबै मतदानस्थल पुगेका कर्मचारीले मंगलबार बिहान सर्वदलीय बैठक सकेर दिउँसोदेखि मतदान केन्द्र निर्माणमा खटिएका हुन् । प्रतिनिधिसभामा १ सिट र प्रदेशसभामा २ सिटका लागि निर्वाचन भइरहेको पर्वतमा ७४ मतदान स्थल र १ सय ३९ मतदान केन्द्र छन् । 
मतदान केन्द्रमा महिला–पुरुषको छुट्टाछुट्टै लाइन, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरीसमेतलाई मतदानमा सहज हुने गरी आराम कक्षसहितको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए । 
चार किल्ला निर्धारण, उम्मेदवारका प्रतिनिधि, अशक्त मतदातालाई मतदानको अधिकार र पहुँचयुक्त मतदान प्रक्रियालगायत विषयमा बैठकमा निर्णय गरिएको शिवालय मावि केन्द्रकी मतदान अधिकृत सोनी रानाले बताइन् । 
स्थानीय तहको निर्वाचनमा करिब १५ प्रतिशत मतदाताको परिचयपत्र वितरण भएको थिएन । उक्त निर्वाचनयता थपिएका मतदाताको परिचयपत्र वितरण पनि थालिएको छ । स्थानीय तहको निर्वाचनयता जिल्लामा ७ हजार ६ सय ३० मतदाता थपिएका छन् । पर्वतमा ५१ हजार ८ सय १४ पुरुष र ५५ हजार ४ सय ८६ महिला गरी १ लाख ७ हजार ३ सय मतदाता छन् ।
पर्वतको कुश्मास्थित शिवालय मावि मतदान केन्द्रको जिम्मा महिला कर्मचारीले मात्रै लिएका छन् । मतदान केन्द्रको जिम्मा लिएकी छन् जिल्ला कृषि विकास कार्यालयकी वागवानी विकास अधिकृत सोनी रानाले । ८ सय ४३ मतदाता रहेको यो केन्द्रमा मंगलबार बिहान १० बजेभित्रै सर्वदलीय बैठक सकिएको थियो । परिचयपत्र वितरण, मतदानस्थल निर्माणलगायत काम अन्तिम चरणमा पुगेको मतदान अधिकृत रानाले बताइन् । ‘धेरैजसो काम सकिएको छ,’ रानाले भनिन्, ‘अपेक्षा गरेभन्दा सहज ढंगले निर्वाचन सम्पन्न गर्नेमा ढुक्क छु ।’ अवसर पाए महिलाले पनि उत्कृष्ट कार्य गर्न सक्छन् भन्ने उदाहरणका लागि एउटा मतदानस्थल महिलाको मात्रै जिम्मा लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


कर्मचारीलाई कारबाही 
यसैबीच, निर्वाचन आचारसंहिताविपरीत मतदान केन्द्रमा मदिरा सेवन गरेका एक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन आयोगले कारबाही गरेको छ । महाशिला गाउँपालिकाको बालारानी मावि केन्द्र खटिएका जिल्ला अस्पतालका खोप अधिकृत देवेन्द्र गुरुङ र कुश्मा नगरपालिकाको बालमन्दिर प्रावि ‘ख’ केन्द्रका सहायक कर्मचारी जिल्ला अस्पतालकै अहेव सुशील शर्मालाई कारबाही गरिएको हो । गुरुङ र शर्माले मतदान केन्द्रमा मदिरा सेवन गरेको प्रमाण भेटिएपछि कारबाही गरिएको हो । गुरुङलाई फिर्ता बोलाएर अस्पतालकै शाखा अधिकृत पोषनाथ शर्मालाई पठाइएको जिल्ला निर्वाचन अधिकृती लक्षु शर्माले बताए । दमौली संवाददाताका अनुसार तनहुँका २ सय ६५ मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी मिलेर मतदान केन्द्रको व्यवस्थापन सुरु गरेका छन् । जिल्लामा २ हजार १ सय २० जना कर्मचारी खटिएका छन् ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?