१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घर फिर्दै मतदाता

माधव घिमिरे

विराटनगर — महेश पौडेल राजधानी बसेको तीन दशक पुग्यो । विराटनगर महानगरपालिका ८, मधुमाराका उनी व्यवसाय गर्ने सिलसिलामा राजधानी बस्दै आएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न उनी साथीभाइसहित दुई दिनअघि गृहनगर आइपुगे ।

घर फिर्दै मतदाता

 
‘चुनाव आयो कि घर आउन मन लागिहाल्छ’ पौडेलले भने, ‘कामको सिलसिलामा राजधानी वा जहाँसुकै पुगे पनि चुनावमा भोट खसाल्न यहीँ आइपुग्छु ।’ आफूले मतदान गर्न थालेदेखिका सबै निर्वाचनमा मोरङमै आएर सहभागी हुने गरेको उनले बताए । आफूमात्र होइन, परिवारका अरू सदस्य र साथीभाइलाई पनि आफ्नो मताधिकार प्रयोग गर्न प्रोत्साहित गर्ने गरेको उनले सुनाए ।
विराटनगर १० गौरव टोलका रमेश बस्नेत पनि २० भन्दा बढी साथीभाइ र आफन्तसहित गृहनगर आइपुगेका छन् । अझ उनले त आफू आवद्ध संस्थामार्फत् राजधानीमा बसोबास गरिरहेका मतदातालाई चुनावमा घर फर्कन आहानै गरेका छन् ।
काठमाडौंमा बस्ने मोरङेलीहरूको संस्था ‘मोरङ समाज, काठमाडौं’ ले यस्तो आहान गरेको थियो । ‘जो, जुन विचारको भए पनि आफ्नो मत सदुपयोग गरौं भनेर हामीले सार्वजनिक आहान नै गर्‍यौं,’ समाजका सल्लाहकार रहेका बस्नेतले भने, ‘समूह–समूह गरी सयौं जना चुनावकै लागि भनेर आएका छन् ।’ कतिपय आउने क्रममा रहेको उनले सुनाए ।
‘थाहा पाएसम्म कुनै पनि चुनाव छुटाएको छैन’ बस्नेतले भने, ‘जन्मथलो हो, सबै साथीभाइ, आफन्त यतै छन्, माया लागेरै आइन्छ ।’ समाजले गत स्थानीय तह निर्वाचनका बेला पनि गृहजिल्ला फर्केर निर्वाचनमा सहभागी हुन आहान गरेको थियो । संस्थाका स्थानीय प्रतिनिधि धीरज पोखरेलका अनुसार राजधानी र मुलुकका अन्य भागमा रहेका सयौं मोरङबासी चुनावका लागि घर फर्केका छन् ।
देशका विभिन्न भागमा पेशा व्यवसाय गरिरहेकाहरू निर्वाचनका लागि भनेर आफ्नो जिल्ला फर्किरहेका छन् । विराटनगरसहित मोरङका विभिन्न स्थानमा रहेका अन्य जिल्लाका बासिन्दा मतदान गर्न आफ्नै ठाउँ फर्कने क्रम जारी छ । मुख्य राजनीतिक दलले पनि अन्यत्र बसोबास गरिरहेका मतदातालाई गृह जिल्ला फर्केर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
दलका भातृसंगठनमा आवद्ध विद्यार्थी, पेशाकर्मी, व्यवसायीलगायतको समूह गाडी रिजर्भ गरेर समेत आउने–जाने गरिरहेका छन् । त्यसरी आउनेका लागि विभिन्न केन्द्रबाट मतदाता परिचय प्राप्त गर्न दलका प्रतिनिधिले सघाइरहेका छन् ।
सिरहा घर भएका जितेन यादव सोमबार घर फिरेका छन् । सिभिल इन्जिनियरिङ पढ्ने क्रममा उनी विराटनगर बस्दै आएका छन् । ‘यहाँ अध्ययन गरिरहेका हामी धेरै साथीहरू समूह बनाएर चुनावका लागि घर फर्केका हौं’ उनले भने’ ‘हामीमध्ये कतिपय पहिलोपटक भोट हाल्ने भएकाले पनि उत्साहित छौं ।’ 
यसैगरी मोरङको केराबारीस्थित विद्यालयकी शिक्षिका अर्पणा प्रसाइँ पनि झापाको धुलाबारीस्थित घर जाने तयारीमा छिन् । 
सुनसरीको धरानस्थित विभिन्न क्याम्पसमा अध्ययनरत सयभन्दा बढी विद्यार्थी इलाम गएका छन् । इटहरीमा पाथिभरा टेक्निकल कलेज सञ्चालन गरेर बसेका इलामका कृष्ण साहका अनुसार उनकै कलेजका २० विद्यार्थी पनि विदा लिएर इलाम फर्केका छन् ।
धरानकै केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ कलेजलगायतमा अध्ययनरत विद्यार्थी समूह मतदानका लागि घर फर्केको साहले सुनाए । ‘म पनि बुधबार घर जाँदैछु’ परिवारसहित जान लागेका उनले भने, ‘आफ्ना जनप्रतिनिधि चुन्ने महत्वपूर्ण अवसर छुटाउने कुरै भएन नि †’ प्रदेश १ मा पर्ने ७ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । बाँकी ७ जिल्लाका मतदाता जिल्ला आउने–जाने क्रम जारी छ । यो प्रदेशमा जम्मा २२ लाख ७४ हजार ६ सय २३ मतदाता छन् । ६ निर्वाचन क्षेत्र रहेको मोरङ देशमै सबैभन्दा बढी मतदाता संख्या भएको जिल्ला हो । यहाँ ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् ।
निर्वाचन आयोगका अनुसार दोस्रोमा काठमाडौंमा ६ लाख ३ हजार ४ सय ६० मतदाता छन् भने तेस्रोमा पर्ने झापामा ५ लाख १५ हजार १ सय ६६ मतदाता छन् । दोस्रो चरणमा हुने निर्वाचनका लागि १ हजार १ सय ६५ मतदानस्थल र २ हजार ७ सय १८ मतदान केन्द्र कायम गरिएको छ । सातै जिल्लामा गरी २४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?