कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४० हजार सुरक्षाकर्मी परिचालन

चुनावविरोधी गतिविधिमा संलग्न रहेको आशंकामा प्रदेश ५ मा १ सय ३८ जना पक्राउ

नेपालगन्ज/कपिलवस्तु — दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि प्रदेश ५ मा सेनासहित ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । चुनावविरोधी गतिविधि नियन्त्रणका लागि सुरक्षा चुस्त पारिएको हो । सुरक्षित र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गर्नका लागि एकीकृत ढंगले सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।


५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मधु पुडासैनीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी मात्रै २४ हजार खटिएका छन् । त्यत्तिकै संख्यामा नेपाली सेना र सशस्त्र प्रहरीको पनि तैनाथी गरिएको उनले बताए ।
निर्वाचनलाई लक्षित गरी कुनै पनि विध्वंसात्मक गतिविधि हुन नदिन विशेष रणनीतिक कार्ययोजना लागू गरिएको छ । ‘सबै सुरक्षा निकाय र निर्वाचन सम्बद्ध अन्य निकायसँगको समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा व्यवस्थापन गरिएको छ,’ एआईजी पुडासैनीले कान्तिपुरसँग भने, ‘सीमा नाकाहरूबाट हुन सक्ने अवैध हातहतियार र विस्फोटक पदार्थको ओसारपसार रोक्नका लागि तालिमप्राप्त कुकुरसहितको जाँचको व्यवस्था मिलाइएको छ ।’
प्रदेश ५ मा हालसम्म शंकास्पद १ सय ३८ जना लाई नियन्त्रणमा लिएर १ सय २५ जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले जनाए । सुरक्षाका दृष्टिकोणले संवेदनशील ठाउँमा सुरक्षाकर्मीले खानतलासी गरिरहेका छन् । कतिपय स्थानहरूबाट हातहतियार तथा विस्फोटक पदार्थसहित केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुरक्षा सतर्कताका लागि विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरी सघन सुरक्षा जाँचलाई तीव्रता दिएको छ । ‘निर्वाचनको मिति नजिकिँदै गएपछि मादक पदार्थको ओसारपसार र बिक्री वितरणमा रोक लागाएका छौं । मतदानस्थलको सुरक्षाका लागि प्रहरी परिचालनसँगै सूचना संकलन भइरहेको छ,’ एआईजी पुडासैनीले भने, ‘सुरक्षाका लागि थप बल आवश्यक पर्ने स्थानमा शीघ्र पुग्न सक्ने गरी सुरक्षाकर्मीको व्यवस्था मिलाएका छौं ।’ 
दोस्रो चरणमा प्रदेश ५ का बाँके, बर्दिया, दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रूपन्देही र नवलपरासी (पश्चिम) मा बिहीबार निर्वाचन हुँदैछ । ती जिल्लामा १ हजार ५ सय १ मतदानस्थल र ३ हजार १ सय ६६ केन्द्र तोकिएका छन् । पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश ५ कै रोल्पा र 
रुकुम (पूर्व) मा निर्वाचन सम्पन्न भइसकेको छ । 


सुरक्षा जाँच कडा
कपिलवस्तुमा पनि सुरक्षा जाँच कडा गरिएको छ । ३ दिनयता ग्रामीण र सहरी बस्तीका ठाउँ–ठाउँमा आकस्मिक चेकजाँच थालिएको छ । त्यस्तै पूर्व–पश्चिम र सहायक मार्गमा पनि ‘सरप्राइज चेकिङ’ गरिएको छ । सीमानाका कृष्णनगर, मर्यादपुर र चाकरचौडामा तालिमप्राप्त कुकुर प्रयोग गरेर जाँच थालिएको छ । 
विषेशगरी भारतबाट आउने व्यक्ति र सावरीसाधनलाई विषेश जाँच गरिएको छ । सीमाका ठाउँठाउँमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । चुनाव लक्षित गरी भारतीय सुरक्षाकर्मीले पनि सीमाक्षेत्रमा चेकजाँच कडा गरेका छन् । चोक, बजार र संवदेनशील ठाउँमा विषेश सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा जोखिम रहेका ठाउँमा सादा पोसाकका प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि खटिएका छन् । ‘अवाञ्छित क्रियाकलाप हुन नदिन सतर्कता अपनाएका छौं,’ जिल्ला प्रहरी प्रमुख एसपी भोजजंग शाहले भन,े ‘शान्ति सुरक्षा कायम गर्न हरसम्भव प्रयास गरेका छौं ।’ 
प्रजिअ मदन भुजेलले मतदानस्थल र केन्द्रको पहिलो घेरामा म्यादी र नेपाल प्रहरी तथा दोस्रो घेरामा सशस्त्र खटिने बताए । यस्तै तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । ‘निर्वाचनलाई भयरहित र स्वच्छ बनाउन सुरक्षा व्यवस्था कसिलो बनाएका छांै,’ प्रजिअ भुजेलले भने, ‘मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं ।’ जिल्लाका १ सय ५३ मतदानस्थल अति संवेदनशील, ६५ संवेदशील र १५ लाई सामान्य मतदानस्थलमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ । 

प्रकाशित : मंसिर २०, २०७४ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?