२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गणनास्थलमा तारजाली

सुदीप कैनी

गोरखा — मुख्य निर्वाचन अधिकृतको कार्यालयले मत गणनास्थल र दल तथा तिनका उम्मेदवार बस्ने ठाउँको बीचमा तारजाली लगाएको छ । पहिलो चरणमा निर्वाचन सकिएको गोरखामा कसले जित्लान् भन्ने विषयमा जुहारी नै चलेपछि गणनास्थल सुरक्षित बनाउन यस्तो उपाय अपनाइएको हो ।

गणनास्थलमा तारजाली

चर्चित नेताहरू प्रतिस्पर्धी भएकाले पेचिलो बनेको चुनावी प्रक्रियाको मतगणना सुरक्षितरूपमा गराउन व्यवस्थापन भइरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । ‘बिहीबार साँझ ५ बजेबाट गन्ती थाल्न मतगणनास्थल व्यवस्थित बनाउँदैछौं,’ उनले भने, ‘मतपत्रको सुरक्षाका लागि दलका प्रतिनिधि र गणक कर्मचारी बस्ने बीचमा तारजाली राख्न लगाएका हौं ।’

दोस्रो चरणको निर्वाचन सकिएपछि मात्रै यहाँ गणना सुरु हुनेछ ।

आफ्नो क्षेत्रमा निर्वाचन सकिएलगत्तै गोरखा २ का प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी उम्मेदवार राजधानी फर्किसकेका छन् । गोखरा १ का उम्मेदवारहरू पनि पार्टीको कामका लागि भन्दै जिल्ला बाहिर गएका छन् । सदरमुकाममा राखिएका मतपेटिकाको रेखदेखमा कार्यकर्ताहरू आलोपालो खटिएका छन् । प्रदेशका अधिकांश उम्मेदवार भने कार्यकर्तासँगै मतपेटिका राखिएको ठाउँ वरपर घुमिरहेका भेटिन्छन् ।

सुरक्षाकर्मीले २४ घण्टै मतपेटिकाको पहरा दिइराखेका छन् । परिणामको प्रतीक्षामा दलका कार्यकर्ता पनि सुरक्षाकर्मीसँगै आलोपालो गर्दै बसेका छन् । दलहरूले कार्यकर्तालाई आलोपालो घण्टा/घण्टाको समय तालिका मिलाएर खटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र १ र जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र २ सहित प्रदेशका मतपेटिका राखिएको छ । मतपेटिका राखिएको कोठाको झ्याल–ढोकामा लाहाछाप लगाएर सिलबन्दी गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले ढोकामा लगाएको तालामा दुवै गठबन्धनले पनि ताला थपेर साँचो लिएका छन् । क्षेत्र १ मा ६३ हजार ६ सय ७२ र क्षेत्र २ मा ६० हजार १ सय ९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना सक्न १० दिन लाग्ने अनुमान गरिएको निर्वाचन अधिकारी नारायण सापकोटाले बताए । ‘संघ र प्रदेशको मत गणना सकेर मात्रै समानुपातिकको सुरु हुन्छ,’ उनले भने । मतगणनाका लागि ६० जना कर्मचारी छनोट गरेर तालिम पनि दिइएको छ ।


गणना पर्खिंदै कार्यकर्ता
म्याग्दी संवाददाताका अनुसार पहिलो चरणमै निर्वाचन भएको म्याग्दीमा उम्मेदवार र सम्बद्ध कार्यकर्ता बिहीबार साँझदेखि थालिने मतगणनाको पखाइमा छन् । निर्वाचन कार्यालयले प्रतिनिधिसभाको दुई ठाउँ, प्रदेशसभाको ‘क’ र ‘ख’ गरी छुट्टाछुट्टै तीनवटा कोठाका चार स्थानमा मत गणना गर्ने गरी तयारी थालेका छन् । गणनास्थलमा सीसीटीभी जडान गरिएको छ ।

सदरमुकाममा चहलपहल
बैतडी/दार्चुला (कास)– बैतडीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना तयारी सुरु भएको छ । कार्यकर्ता गणनास्थल सदरमुकाम आउन थालेका छन् ।

दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बिहीबार साँझ ५ बजेबाट मतगणना सुरु गर्न तयारी थालिएको हो । प्रदेश र प्रतिनिधिसभाको मत एकै पटक गणना गर्न स्थल व्यवस्थापन, जनशक्ति चयनलगायतका काम भइरहेका छन् । दशरथचन्द नगरपालिका कार्यालयको २ कोठामा गणनाको तयारी भएको छ । १ कोठामा २ वटै प्रदेशका र अर्कोमा प्रतिनिधिसभाको गणना गर्ने तयारी छ ।

मत गणना हुने कोठाहरूमा नयाँ कार्पेट बिछ्याइएको छ । विद्युत् लाइन व्यवस्थापन र जेनेरेटर जडानलगायतका काम बुधबार बिहान सकिनेछन् । गणनास्थलमा तारजाली लगाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गणनास्थलबाट नै निर्वाचन आयोगमा अपडेट पठाउन कम्प्युटरसहितका उपकरण जडान गर्ने तयारी छ । स्थानीय तह निर्वाचनमा दशरथचन्द नगरपालिकाको मतगणना भएकै कोठामा अहिलेको मत गणना हुन लागेको हो । बुधबारसम्म सबै तयारी पूरा हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।

बुधबार दिउँसो उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको बैठक डाकिएको छ । दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालयमा हुने उक्त बैठकमा मत गणनाका अन्य विषयमा छलफल गरिने गौतमले बताए । ‘मत गणना कोठा व्यवस्थापन र प्राविधिक तयारी सकेका छौं, बुधबारसम्म सबै काम सकिन्छ,’ उनले भने, ‘स्थानीय तहको गणनामा भएका कमजोरी सच्याउँदै तयारीमा जुटेका छौं ।’

मतगणना तयारीसँगै सदरमुकाममा चहलपहल बढ्न थालेको छ । गणनास्थल वरपर र बजारक्षेत्रको सुरक्षाका लागि सशस्त्र, प्रहरी र म्यादी प्रहरी परिचालन गरिएका छन् । दोस्रो चरणमा चुनाव हुने जिल्लामा प्रचारका लागि गएका उम्मेदवार र नेता–कार्यकर्ता फर्कन थालेका छन् । १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेको बैतडीमा ६७ हजार ३ सय ४३ मत खसेका थिए । १ सय ८२ मतदान केन्द्रमा ५ सय ४६ मतपेटिका प्रयोग भएका थिए ।


सीसीटीभी निगरानी
दार्चुलामा पनि बिहीबार बेलुका ५ बजेबाट मतगणना सुरु गर्न तयारी थालिएको छ । मतगणनाको निगरानी राख्न सीसीटीभी क्यामेरा जडान गरिन लागेको छ । मतगणना हुने कोठामा सीसीटीभी क्यामेरा जडान गर्ने, तारजाली लगाउने र विद्युत् व्यवस्था गर्ने काम भइरहेको निर्वाचन अधिकृत शेरबहादुर विष्टले जानकारी दिए ।

निजामती कर्मचारी आवास भवनका दुई कोठामा मतगणना हुनेछ । मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा २ जना मतगणना अधिकृतले मतगणना गर्नेछन् । २ कोठामा १ जना मतगणना अधिकृत, १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटरसहित अन्य ३ जना कर्मचारी र कार्यालय सहयोगी मतगणनास्थलमा रहने विष्टले जानकारी दिए । दलका तर्फबाट प्रत्येक उम्मेदवारको एक/एक प्रतिनिधिलाई मतगणनास्थलमा प्रवेश गराइनेछ । मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई दिनरात जारी राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?