दैलेखमा मनदानस्थल सजाइँदै

दैलेख — प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दुईवटै क्षेत्रका मतदानस्थलहरु चेतनामूलक सन्देश लेखिएको रङ्गीविरङ्गी पोस्टरले सजाइँदै छ । नारायण नगरपालिका वडा नं ७ किमुगाउँस्थित बसन्तमाला माविमा रहेको मतदानस्थलमा बुधबार बिहान ७ बजेदेखि नै काम भइरहेको मतदान अधिकृत सावित्रा सुवेदीले बताइन् । उनका अनुसार भोलि बिहीबार हुने निर्वाचनका लागि कर्मचारी व्यवस्थापन र परिचय पत्र वितरणको काम पनि भइरहेको छ ।

दैलेखमा मनदानस्थल सजाइँदै

मतदाताले समयमै भोट हाल्न पाउन् भन्ने उद्देश्यले तयारी भइरहेको उनको भनाइ छ । 

यस्तै त्रिभुवन माध्यमिक मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला छन् । उक्त मतदानस्थलमा भने नयाँ मतदाता परिचयपत्र लिनेहरुको घुइँचो लागेको अधिकृत अनिता ज्ञवालीले बताइन् । उनले भनिन्, 'सबै महिला भएकाले काम गर्न निकै सहज भएको छ । चुनाव पनि शान्तिपूर्ण हुने विश्वासमा छौं ।' दैलेखबाट प्रतिनिधिसभा सदस्य दुई र प्रदेशसभा चार सदस्य गरी ६ जना सांसद् चुनिनेछन् । जिल्लामा ४ नगरपालिका र ७ गाउँपालिकामा १ लाख ३९ हजार ९ सय ४४ जना मतदाता छन् । क्षेत्र नम्बर १ मा पर्ने गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा, नारायण नगरपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिका पर्दछन् । निर्वाचन क्षेत्र २ मा दुल्लू नगरपालिका, भैरबी गाउँपालिकामा, आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रसैनी नगरपालिका छन् ।

जिल्ला निर्वाचन समन्वय समितिको निर्णयबाट दैलेखका १ सय ३६ मतदानस्थलमा १ सय ९६ मतदान केन्द्र निर्धारण गरेको छ । अघिल्ला चुनावको अनुभव र आवश्यक सूचनाको आधारमा दैलेखका ५ स्थललाई अति सम्वेदनशील, ४५ स्थललाई सम्वेदनशील र अन्य ८६ स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी विश्राज न्यौपानेले जानकारी दिए । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान समेत ४ वटै सुरक्षा अंगका पर्याप्त जनशक्ति परिचालित छन् । 

प्रकाशित : मंसिर २०, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?