कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको मतगणना स्थलमा तारजाली

कृष्ण थापा

नुवाकोट — मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजाली लगाई सीसी क्यामेरा जडान गरेको छ ।

नुवाकोटको मतगणना स्थलमा तारजाली

मतगणनास्थल सुरक्षित बनाउन भन्दै राजनीतिक दल तथा उम्मेदवार बस्ने ठाउँको बीचमा तारजाली लगाइएको हो । जिल्लाका 'हेविवेट' नेताहरु प्रतिस्पर्धी भएकाले कसिलो चुनावी प्रक्रियाको मतगणना सुरक्षित गराउन व्यवस्थापन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । ‘सबै तयारी गरिरहेको छौं', मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत एवं सूचना अधिकारी यज्ञ पुरीले भने, 'निर्वाचन क्षेत्र १ मा ८ र २ मा ७ वटा सीसीटीभी क्यामेरा जडान गरेका छौं ।'

बिहीबार ५ बजेपछि दोस्रो चरणको मतदान सकिएलगतै जिल्लामा मतगणना थालिने छ ।

जिल्लामा रहेका उम्मेदवार र कार्यकर्ताहरु दोस्रो चरणको निर्वाचनका लागि जिल्ला बाहिर थिए । उनीहरु मतगणनाको नतिजा सुन्ने उत्सुकताले बुधबारदेखि नै सदरमुकाम केन्द्रित हुन थालेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा निर्वाचन क्षेत्र नम्बर २ को मतपेटिका छ भने सहकारी डिभिजन कार्यालयमा निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका राखिएको छ । सदरमुकाममा सिल लगाई राखिएका मतपेटिका रुग्ने कार्य सुरक्षाकर्मीका साथै दलका कार्यकर्ताहरुले आलोपालो गर्दै आएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ६९ हजार ८ सय ६४ मत खसेको छ भने क्षेत्र नम्बर १ मा ६९ हजार ८ सय ९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र न‍ं १ मा वाम गठबन्धनका तर्फबाट हितबहादुर तामाङ र कांग्रेसका रामशरण महत उम्मेदवार छन् भने २ मा कांग्रेसबाट अर्जुननरसिंह केसी र वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा नारायणप्रसाद खतिवडा प्रतिस्पर्धामा छन् ।

मतगणना कसरी गर्ने, मत सदर र बदरबारे बुधबार १ सयजना गणकलाई तालिम समेत दिइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुलाई चार सिफ्टमा गरेर मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत एवं सूचना अधिकारी पुरीले बताए ।
मतगणाना स्थलको लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

प्रकाशित : मंसिर २०, २०७४ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?