२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेतृत्व छान्न मतदाता उत्साही

‘भोटले स्थिरता ल्याओस्’

नेपालगन्ज — मतदाता परिचयपत्र बुझ्न नेपालगन्ज–४ सल्यानी बंगलास्थित मतदान केन्द्र आएकी शोभा केसी उत्साही देखिन्थिन्। बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न उनी राजधानीदेखि आएकी हुन्। ‘निर्वाचन ऐतिहासिक हो, त्यसैले आइयो,’ उनले भनिन्, ‘एउटा भोटले जितहारको कुरा पनि त हुन्छ।’

नेतृत्व छान्न मतदाता उत्साही

निर्वाचनपछि मुलुकमा स्थिरता र संविधान कार्यान्वयन हुने भन्दै मतदाता मतदानका लागि आतुर देखिन्छन्। आसन्न निर्वाचनमा मतदानका लागि जिल्लाबाहिर र भारतबाट समेत सर्वसाधारण धमाधम घर फर्किएका छन्। निर्वाचन सुरक्षालाई ध्यानमा राखी नेपालगन्जसँग जोडिएको भारतीय सीमा बन्द गरिएको छ। भारतीय सुरक्षा अधिकारीले नेपाली नागरिकता र मतदाता परिचयपत्र भएकालाई भने बुधबार दिउँसो पैदल प्रवेश गर्न दिए। सीमास्थित इलाका प्रहरी जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक सुधीर खडकाले सीमापारिबाट बुधबार ७ सय नेपाली घर फर्किएको बताए।

भोट हाल्न आतुर

पश्चिम नवलपरासीको प्रतापपुर ५ का नरेश यादवले भारतमा रोजबारीबाट छुट्टी नमिलेकै कारण स्थानीय चुनावमा भोट खसाल्न पाएनन्। यसपालि भने उनी साता दिन छुट्टी लिएर आएका छन्। ‘पहिलो पटक मतदान गर्दै छु, स्वदेशमा रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई भोट हाल्न आएको हुँ,’ उनले भने, ‘युवामा राजनीतिप्रति वितृष्णा भए पनि परिवर्तनका पक्षमा मत जाहेर गर्नुपर्ने अहिलेको आवश्यकता हो।’ दुबई, कतारजस्ता खाडी मुलुकबाट दसंैतिहार मान्न आएकाले मतदान गरेर मात्र फर्किने भन्दै बिदा बढाएका छन्। उनीहरू स्वदेशमा स्थिर सरकार भए रोजगारी र व्यवसायको वातावरण तयार हुने आशामा भोट हाल्दै छन्।

असल ‘रोज्ने’

पाल्पाका ७४ वर्षीय भेमप्रसाद भट्टराईको बसोबास सदरमुकाम तानसेनमा छ। मतदाता नामावली भने माथागढी ३ कसेनीमा छ। उनी मतदान गर्न परिवारसहित गाउँ फर्किसके। ‘अरूले तानसेनमै सारे, मलाई मन लागेन,’ उनले भने, ‘म हिंडें अब मतदानका लागि।’ झडेवाका दुर्गा रायमाझी पनि काठमाडौंबाट माथागढी ४ झडेवा पुगेका छन्। लोकगायक रायमाझी मतदान गर्न साथीभाइसँगै गाउँ आइपुगेका हुन्। ‘आफ्नो अधिकार प्रयोग गर्न निर्वाचन आयो कि घर आउन मन लागिहाल्छ,’ उनले भने, ‘कामको सिलसिलामा जहाँ पुगे पनि निर्वाचनमा भोट दिन आइहाल्छु।’ उम्मेदवारहरूले काठमाडांै, पोखरा, बुटवल, नारायणगढबाट समेत मतदाता ल्याउन नि:शुल्क बस व्यवस्था गरिदिएका छन्। विभिन्न सम्पर्क समाजमार्फत उनीहरूले बस व्यवस्था गरेका हुन्।

विकासको आस

बर्दिया सदरमुकाम गुलरिया–७ का सुनिल पोखरेल विकास हुने विश्वासमा भोट हाल्नकै लागि दुई दिनअघि राजधानीबाट फर्किएका छन्। उक्त वडाका एक सयजति युवा मतदानकै लागि आएका छन्। ‘सुगम जिल्ला भए पनि विकासमा पछि परेको छ,’ पोखरेलले भने, ‘चुनावपछि स्थिरता कायम भएर विकास हुने विश्वासले आएको हुँ।’

गुलरिया ५ का सन्दीप भट्टराई पनि नदी कटान, बाढीबाट बर्सेनि पैदा हुने त्रास अन्त्य हुने आशा व्यक्त गर्छन्। योग्य र इमानदार नेताले जिते केही गर्लान् कि भन्ने आशाले राजधानीबाट आएको उनले बताए। हुलाकी सडक कालोपत्रे, मेडिकल कलेज, उच्च शिक्षा, सहरी र ग्रामीण क्षेत्रका सडक कालोपत्रे र उद्योग कलकारखानाजस्ता आवश्यकता पूरा गर्ने नेता आवश्यक रहेको मतदाताको भनाइ छ।

महिला उत्साही

विगतमा परिवारका अगुवा पुरुषले भनेअनुसार गर्दै आएका प्यूठानका महिला यसपालि

पनि आफ्नै विवेक प्रयोग गर्ने निर्णयमा पुगेका छन्। प्यूठान नगरपालिका ३ विजयनगर सेपुङका महिलाले मत हाल्न आतुर रहेको बताए। यसपालि आफूलाई मन लागेअनुसार भोट दिने सल्लाह भएको लालीगुराँस स्वास्थ्य आमा समूह विजयनगर सेपुङकी अध्यक्ष मञ्जु गिरीले बताइन्। ‘आफ्नो भोटसमेत छोरा वा श्रीमान्लाई हाल्न लगाउने गथ्र्यौं,’ गिरीले भनिन्, ‘सबैले आफंै मतदान गर्ने सल्लाह गरेका छौं।’

बुटवल सुनसान

बुटवल मिलनचोकका मधु ज्ञवालीको परिवार बुधबार बिहान अर्घाखाँचीको छत्रदेव गाउँपालिका गयो। १७ वर्षदेखि यहाँ विद्युत् मर्मतको काम गर्दै आएका उनले नामावली सारेका छैनन्। ‘तन सहरमा भए पनि मन गाउँमै हुन्छ,’ उनले भने, ‘चुनावमा भोट हाल्न उतै जान्छु।’ यहाँको ठूलो जनसंख्या अन्य जिल्लाबाट आएका नागरिकको छ। त्यसमा बाहुल्य प्रदेश नम्बर ५ का पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम, रोल्पा, सल्यानलगायतबाट शिक्षा र रोजगारीका लागि आएकाको छ।

नाकामा भीड

कञ्चनपुर– कामको खोजीमा भारत पुगेकाहरू मतदानका लागि घर फर्किएका छन्। सीमावर्ती क्षेत्रनजिक रहेकाहरू २/३ दिनको छुट्टी लिएर मताधिकार प्रयोग गर्न आएका हुन्। दिल्लीमा कुकको काम गर्ने शुक्लाफाँटा नगरपालिका, झलारीका किसन टमटा बुधबार घर फर्किए। ५ जनाको परिवार मतदानका लागि आएको उनले बताए। दसैं तिहारका बेला समेत घर आउन नपाएका उनी मतदानका लागि बिदा पाउँदा निकै खुसी देखिन्थे।

अछामका प्रकाश सुनार पनि बुधबार गड्डाचौकी नाकाबाट भित्रिए। उनी दिल्लीकै एक होटेलमा काम गर्छन्। ‘जहिले पनि कामकै चिन्ता, यसपटक सबै छाडेर आएँ,’ उनले भने, ‘धेरै वर्षदेखि भोट दिन पाइएको थिएन।’

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?