२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदेशसभाले मतदातामा उत्साह

सुर्खेत — वीरेन्द्रनगर १० नयाँगाउँकी ५८ वर्षीया स्यानी थारू मतदान गरेर फर्किंदा निकै उत्साही देखिन्थिन् । मत त उनले धेरैपटक दिइन् तर यसपटक नेताहरूले छुट्टै प्रदेश सरकार बन्ने भनेका छन् । सुर्खेतमै प्रदेश सरकार बनेपछि आफूलाई हेर्लान् भन्ने आशामा उनले खुसीसाथ मतदान गरेकी हुन् ।

नयाँ संविधान जारी भएपछि पहिलोपल्ट भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मतदातामा आशा जगाएको छ । ‘अहिलेसम्म धेरैपल्ट भोट दिइयो । कहिल्यै भनेजस्तो काम भएन,’ उनले भनिन्, ‘यसपटक सुर्खेतमै सरकार बन्ने सुनेकी छु । अब त केही होला भनेर आफूखुसी भोट हाल्न आएँ ।’ स्यानी थारूसँगै मतदान गरेर फर्किएकी नयाँगाउँकै लाइटी थारूले आफूले मत दिएर जिताएका सांसदले गाउँको विकास गरून् भन्ने चाहना राखेको बताइन् । ‘चुनाव जितेर गएपछि पनि नेताहरू गाउँ फर्किऊन् । हाम्रा सुखदु:ख पनि हेरून् । चाहेकै त्यही हो,’ उनले भनिन् ।

जनसेवा मावि घुस्रा केन्द्रका मतदाता अधिकांश थारू समुदायका छन् । प्रदेश ६ मा सुर्खेतमा मात्र आदिवासी थारू समुदायको बसोबास छ । उनीहरू मात्र हैन, प्रदेश सरकार बन्ने भएकाले मतदातामा बेग्लै उत्साह देखिएको हो । ‘चुनाव जितेर पहिलेजस्तो माननीय (सांसद) काठमाडौं जाँदैनन्, प्रदेशमै बस्छन् । त्यसैले जनताको दु:खसुख नजिकबाट हेर्लान् भन्ने ठानेका छौं,’ वीरेन्द्रनगर १० का भक्तबहादुर थापाले भने । सुर्खेत प्रदेशकै राजधानी हुने भएकाले पनि विकास निर्माण छिटो होला भन्ने लागेको उनले बताए ।

अन्यत्र भएका विस्फोटका घटनाले त्रास फैलिए पनि सुर्खेतका मतदाताले भने बिहीबार ढुक्कले मतदान गरे । बिहान झिसमिसेमै मतदान केन्द्रमा लाइन लागेका उनीहरू मत खसाल्न आतुर देखिन्थे । वृद्ध मतदाता लौरी टेकेर, आफन्तको सहारा लिएरै केन्द्र पुगेका थिए । बिहान जाडो भएकाले मतदाताको भीड दिउँसोसम्म बाक्लै थियो ।

वीरेन्द्रनगर ११ गार्गेतालकी पवित्रा पौडेलले यसपटक पनि नेताहरूसँग विकास मागेको बताइन् । ‘वृद्धभत्ता खाने उमेर आउँदै छ । भत्ता रकम बढाइदिए हुन्थ्यो । नेताहरूसँग विकास र भत्ता रकमकै माग राखेकी छु,’ मतदान केन्द्रबाहिर आराम गरिरहेकी पवित्राले भनिन्, ‘हेरौं केही त गर्लान् । भत्ता बढाउँछौं भनेका छन् ।’ वीरेन्द्रनगरस्थित जन मावि केन्द्रबाट मतदान गरेर फर्किएका २३ वर्षीय उमेश खत्रीले अब चुनिने सांसदहरूले बेरोजगारी समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । ‘चुनाव जित्नकै लागि बेराजगारी समस्या समाधान नारा मात्र नबनोस् । अब गरेरै देखाउने बेला आउँदै छ,’ उमेशले भने । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता पूर्णबहादुर खडकाले मेहेल्कुनाको सूर्यज्योति मावि केन्द्रबाट मतदान गरे । उनी सुर्खेत १ का प्रतिनिधिसभा उम्मेदवार हुन् । त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर १ स्थित सरस्वती आधारभूत विद्यालय बांगेसिमल, एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश ६ को मुख्यमन्त्रीका दाबेदार यामलाल कंडेलले वीरेन्द्रनगर ४ स्थित भैरव मावि, सूचना तथा सञ्चार राज्यमन्त्री एवं सुर्खेत २ प्रदेशसभा (ख) का उम्मेदवार तप्तबहादुर विष्टले विद्याज्योति मावि कुइने तातापानीबाट मतदान गरे ।

शान्तिपूर्ण मतदान
दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको सुर्खेतका २ सय ६३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तोकिएकै समयमा मतदान सुरु भएको थियो । लोकतान्त्रिक र वाम गठबन्धनबीच जिल्लामा कडा टक्कर भए पनि मतदानस्थलमा दुवै पक्षका कार्यकर्ता संयमित थिए । कार्यालयका सूचना अधिकारी वीरेन्द्र मल्लले उच्च सुरक्षा सतर्कता र दलका कार्यकर्ताको संयमले सामान्य विवादसमेत कतै नभएको बताए । २ लाख ४ हजार ५ सय ७७ मतदाता रहेको सुर्खेतमा क्षेत्र १ मा १ लाख १ हजार ६ सय ३७ र २ मा १ लाख २ हजार ९ सय ४० छन् ।

प्रकाशित : मंसिर २२, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?