मधेसमा उत्साह

कान्तिपुर टिम

जनकपुर — प्रदेश २ का ८ वटै जिल्लामा उल्लासमय वातावरणमा मतदान सम्पन्न भएको छ । यस प्रदेशका हरेक जिल्लामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ गरी ९६ जनाका लागि मतदान भएको हो ।


पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । १ सय ६७ मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको कर्णले जनाए । क्षेत्र १ को नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षबीच सामान्य झडप भएको छ । 

प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले केही मतदान केन्द्रमा सामान्य झडप भए पनि मतदान स्थगित नभएको बताए । शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनका मतपेटिका संकलन गरी सदरमुकाम वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च मावि श्रीपुरमा ल्याउने क्रम जारी रहेको उनले बताए । ‘मध्यरातसम्म मतपेटिका ल्याइन्छ,’ मुख्य निर्वाचन अधिकृत कर्णले भने, ‘मतगणना शुक्रबार थालिनेछ ।’

विगतका चुनावमा हिंसात्मक घटना हुँदै आएको सर्लाहीमा यसपालि शान्तिपूर्ण रूपमा सकिएको छ । यद्यपि दुई मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ भने दुईवटा बम सेनाले निष्क्रिय बनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले निर्वाध चुनाव सम्पन्न भएको बताए । हरटवामा माओवादी केन्द्र र कांग्रेसबीच विवाद भएपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । कौडेनाको फुलपरासी केन्द्रमा पनि कांग्रेस र राजपाबीच झडपको स्थिति आएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो । विवादका कारण कुनै पनि ठाउँमा मतदान भने रोकिएन । 

संसदीय चुनावमा कुनै हताहती नभएको पहिलोपटक हो । अघिल्ला चुनावमा मतदान केन्द्रमा उम्मेदवारका पक्ष विपक्षले गोली चलाएर धेरै केन्द्रमा पुन: चुनाव भएका थिए । संविधानसभाका चुनावमा मानवीय क्षतिसँगै बुथ क्याप्चरका गुनासा आएका थिए । यसैबीच क्षेत्र ४ का माओवादी उम्मेदवार शिवपुजन रायको उम्मेदवारी रद्द भएपछि उनले राजपालाई समर्थन गरेका छन् । धनुषामा बिहान मतदान अलि ढिलो सुरु भए पनि अपराह्न मतदाताको भीड बढेको थियो । धान काट्ने तथा आलु रोप्ने समयमा भएको अधिकांश मतदाता खेतको काम सकेर मात्र केन्द्र पुगेका थिए । महिला मतदाताको संख्या उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

धनुषा निर्वाचन कार्यालयकी प्रमुख पुष्पाकुमारी झाका अनुसार जिल्लामा २ सय ७ उम्मेदवार मैदानमा छन् । यहाँ वाम गठबन्धन र संघीय समाजवादी फोरम–राष्ट्रिय जनता पार्टीको गठबन्धनसँग कांग्रेस एक्लै मैदानमा छ । बारामा छिटफुट विवादबाहेक शान्तिपूर्ण मतदान भएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । कलैया उपमहानगरपालिका १८ मा मतदान केन्द्रको नाम पतौरा हुनुपर्नेमा पथरा हुन गएपछि त्यहाँ निर्धारित समयभन्दा २ घण्टा ढिला मतदान भयो । जिल्ला प्रशासन कार्यालयबाट खटिएका अधिकृतले मतदान केन्द्रको नाम सच्याउने प्रतिबद्धता जनाएपछि ९ बजेदेखि मतदान सुरु भयो । कवहीजब्दीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच सामान्य झडप भएको थियो । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार कवहीगोठ, देवताललगायत ठाउँमा सामान्य विवाद भए पनि स्थिति असहज भएन । 

सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाका अनुसार बिहान मतदाताको लाम खासै नदेखिए पनि दिउँसोपख मतदाताहरू उत्साही देखिएका थिए । ढुंगानाले शुक्रबार बिहान सर्वदलीय बैठक बसी मतगणना गर्ने जानकारी दिए । अर्काको नाममा मत खसाउने पाँचसहित ८ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

रौतहटका केही स्थानमा सामान्य विवाद भए पनि सुरक्षाकर्मीले समयमै नियन्त्रणमा लिएका थिए । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार शान्ति सुरक्षाको चुनौतीलाई ध्यान दिएर मतदान केन्द्रसहित जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा जिल्लाभरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । 
महोत्तरीमा ४ वटै निर्वाचन क्षेत्रअन्तर्गत २ सय ५८ मतदानस्थल र ४ सय २६ वटै मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जनाए । यहाँ निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । जलेश्वर, रामगोपालपुर र मटिहानी मतदानस्थलबाट ८ जनालाई नियन्त्रणमा लिइएको छ । 

एक मत पनि खसेन
सप्तरीको महदेवा गाउँपालिका महदेवास्थित आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्रमा एक जनाले पनि मतदान गरेनन् । यहाँ ९ सय ६० मतदाताको नाम सूचीमा छ । मतदान अधिकृत धनेश्वर साहका अनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारले मतदान प्रतिनिधिसमेत पठाएनन् । 
केही स्थानीय बासिन्दाले सीके राउतको समर्थनमा मतदान बहिष्कार गरेको बताए । महदेवा राउतको गाउँ हो । सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले महदेवा मतदान केन्द्रमा किन मतदाता नआएको भन्ने कारण खुल्न नसकेको बताए । बिहानैदेखि कोही मतदाता मतदान गर्न नआएपछि उक्त मतदान केन्द्रको नजिकको बस्तीमा माइकिङसमेत गरी मतगणनाका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । 

यसैबीच निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले सीके राउतलाई नियन्त्रणमा लिएको छ । जनकपुर ४ माछा बजारस्थित उनकै डेराबाट बिहान १० बजे प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । एसपी चक्रबहादुर श्रेष्ठका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?