१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छरितो मतपत्रले सहज

भवानी भट्ट

कञ्चनपुर — विगतका निर्वाचनमा एउटै मतपत्रमा धेरै उम्मेदवार र चुनाव चिह्न समावेश हुँदा मतदाता समस्यामा पर्थे । ठूलो मतपत्रमा आफुले चाहेको चिह्न खोज्न, छाप लगाउन र पट्याउनसमेत झन्झट थियो ।


यसपटक भने छरितो मतपत्रका कारण मतदान सहज भएको मतदाताको प्रतिक्रिया छ । सानो मतपत्रमा चुनाव चिह्न खोज्न, छाप लगाउन र पट्याउन सजिलो भएको उनीहरूले बताए । ‘यसपाला धेरै सजिलो भयो,’ भीमदत्त नगरपालिका ९ का ६५ वर्षीय देव धामीले भने, ‘सानो मतपत्र, थोरै चुनाव चिह्न भएका कारण चाँडै भेटियो ।’ विगतका निर्वाचनमा ठूलो मतपत्रमा टुप्पोदेखि फेदसम्म हेर्दा पनि चुनाव चिह्न भेट्टाउन गाह्रो पर्ने गरेको उनले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्रमा जति उम्मेदवार छन् त्यतिमात्रै चिह्न राखिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा यी दुई मतपत्रमा ५ देखि ९ चुनाव चिह्न मात्र छन् । यसपटक दलहरूको चुनावी गठबन्धनले उम्मेदवार कम हुँदा पनि मतपत्र सानो भएको हो । समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभा दुवैको मतपत्र एउटै पानामा रहेको र धेरै दलको चुनाव चिह्नले प्रत्यक्षतर्फको तुलनामा केही ठूलो भए पनि मतदाताले विगतमा जस्तो असहज महसुस गरेनन् ।

‘मतदान गर्न सजिलो र समय पनि कम लाग्यो,’ भीमदत्त नगरपालिका–१० का ६० वर्षीय जगन्नाथ पन्तले भने, ‘बूढापाकालाई पनि सजिलो भएको छ ।’ उनले ३–४ मिनेटमै तीनवटै मतपत्रमा मतदान सकिएको बताए । मतपत्र छरितो भए पनि कतिपय ठाउँमा मतदाता शिक्षा अभावका कारण मतदातालाई समस्या परेको देखिन्थ्यो । खासगरी वृद्धवृद्धाहरू बढी अलमलमा थिए । मतपत्र सहज भएकाले गणना पनि छिट्टै सकिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख केशव भण्डारीले बताए ।

शान्तिपूर्ण मतदान
प्रदेश ७ का ५ जिल्लामा बिहीबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । सबैभन्दा बढी तराईको कञ्चनपुरमा ६९ प्रतिशत मतदान भएको छ । डोटीमा ५५ प्रतिशत हाराहारी मात्रै मतदान भएको छ । कैलालीमा करिब ६५ प्रतिशत मत खसेको छ । अछाममा ६० प्रतिशत मत खसेको अनुमान छ । यहाँको चौरपाटी गाउँपालिका ५ लुंग्राको दयापीपलतोला माविको मतदान केन्द्रमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित : मंसिर २२, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?