कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणना आजदेखि

कान्तिपुर टिम

पोखरा — प्रदेश ४ का ५ जिल्लामध्ये पूर्वी नवलपरासीमा सर्वाधिक ७१ प्रतिशत मतदान भएको छ । कास्कीमा ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा भने ७५ प्रतिशत मत खसेको थियो ।

तीन प्रतिनिधि र ६ प्रदेशसभाका लागि भएको निर्वाचन कास्कीमा शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।

कास्कीमा १ सय ५० मतदानस्थलमा ३ सय १७ मतदान केन्द्र कायम गरिएको थियो । कास्कीमा शुक्रबार बिहानमात्रै मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट राति अबेरसम्म मतपेटिका आइसक्ने र सबै कर्मचारी निर्वाचनमा खटिएकाले तत्काल सम्भव नभएको भन्दै जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलसँग समन्वय गरी शुक्रबार मतगणना थाल्ने जनाएका हुन् । छोम्रोङ, सिकलेस, मिजुरेलगायत टाढाका मतदानस्थलबाट राति ११ बजेसम्ममा मतपेटिका गणनास्थलमा आउने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । मतगणनाका लागि शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठकको आयोजना गरिएको छ । 
जिल्ला समन्वय समिति, क्षेत्रीय शिक्षा निर्देशनालय र डिभिजन सहकारी तथा प्रशिक्षण कार्यालयमा मतगणनास्थल तोकिएको छ ।
नवलपरासीमा उत्साहजनक 
पूर्वी नवलपरासीमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धेरै मतदाता रहेको स्थलमा साँझ ७ बजेसम्म पनि मतदान जारी थियो । जिल्लाका सबै मतदान केन्द्रबाट मध्यरातसम्म आइपुग्ने र त्यसपछि मतगणनाका लागि आवश्यक प्रक्रिया अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पहाडी भेगका मतपेटिका ल्याउन कच्ची सडकका कारण ढिलो हुने भएकाले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा २ लाख २१ हजार ७ सय १४ मतदाता रहेका छन् । 
पर्वतमा ६५ प्रतिशत 
पर्वतमा ६२ देखि ६५ प्रतिशत मत खसेको अनुमान छ । सदरमुकाम आसपासमै सबैभन्दा कम मत खसेको छ । सहायक मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद भुसालका अनुसार १ लाख ७ हजार ३ सय मतदाता भएको जिल्लामा करिब ६४ देखि ६८ हजार मतदाताले मतदान गरेको अनुमान छ । सबैभन्दा बढी मोदी ७ राम्जामा ६८ प्रतिशत मत खसेको छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ७३ प्रतिशत मत खसेकोमा यो पटक करिब १० प्रतिशत मत कम खसेको हो । पर्वतमा पनि शुक्रबार दिउँसोमात्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरका मतपेटिका सदरमुकाम ल्याउँदा मध्यरात हुने भएकाले मतगणनामा ढिलाइ हुने भएको हो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सुरक्षा र पायक दुवै हिसाबले सहज हुने गरी मतपेटिका ल्याउन सवारीको व्यवस्था गरिएको बताए । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले शुक्रबार बिहान सर्वदलीय बैठक सकेर सोही बैठकको निर्णयअनुसारको समयबाट गणना सुरु गर्ने बताए ।
मतपेटिका ओसारिंदै 
स्याङ्जा मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता यामप्रसाद रेग्मीले यहाँ ६७ प्रतिशत मत खसेको बताए । मतदाता परिचयपत्रका कारण फर्जी मत खस्ने सम्भावना कम भएकाले पनि प्रतिशत कम भएको उनको भनाइ छ । जिल्लाका १ सय ९९ मतदान स्थानमा रहेका २ सय ९५ मतदान केन्द्रमा २६ सय कर्मचारी र करिब ३२ सय सुरक्षाकर्मी खटेका थिए । २ लाख १० हजार ३८ मतदाता रहेको स्याङ्जामा १ लाख ४२ हजार ८ सय ५२ जनाले मतदान गरे । 
तनहुँमा ६५ प्रतिशत 
तनहुँमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । जिल्लाका दुर्गम कोटा, बैदी, छिपछिपे, देवघाटबाट मतपेटिका शुक्रबार बिहानसम्म सदरमुकाम दमौलीमा ल्याइपुर्‍याउने र त्यसपछिमात्रै मतगणना हुने मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले बताए । शुक्रबार सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने उनको भनाइ छ । 

 

प्रकाशित : मंसिर २२, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?