वाम गठबन्धनको लहर, घोषित परिणाममा प्रतिनिधिसभातर्फ २७ स्थानमा विजयी

काठमाडौं — प्रतिनिधिसभाको शनिबार बिहान १० बजेसम्म घोषित ३३ सिटमध्ये २७ स्थानमा वाम गठबन्धनले जित हासिल गरेको छ । एमाले २१, माओवादी केन्द्र ६, कांग्रेस ३ र १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वाम गठबन्धनको लहर, घोषित परिणाममा प्रतिनिधिसभातर्फ २७ स्थानमा विजयी

प्रदेशसभामा पनि २५ स्थानमा वाम गठबन्धन आएको छ भने कांग्रेसले ३ सिट मात्रै जितेको छ । जारी मतगणनामा पनि दुवैतर्फ वाम गठबन्धनले नै फराकिलो अग्रता लिएको छ । एमालेबाट बाजुरामा लालबहादुर थापा, डोल्पामा धनबहादुर बुढा, मुगुमा गोपालबहादुर बम, बझाङमा भैरवबहादुर सिंह, मनाङमा पोल्देन छोपाङ गुरुङ, मुस्ताङमा प्रेमप्रसाद तुलाचन, दार्चुलामा गणेशसिंह ठगुन्ना र म्याग्दीमा भूपेन्द्रबहादुर थापा विजयी भएका छन् ।

यस्तै ओखलढुंगामा यज्ञराज सुनुवार, भोजपुरमा शेरधन राई, ताप्लेजुङमा योगेश भट्टराई, मोरङमा भानुभक्त ढकाल र लालबाबुर पण्डित, सिरहामा कृष्ण राई, काठमाडौंमा कृष्णगापाल श्रेष्ठ, धादिङमा भूमि त्रिपाठी र खेमप्रसाद लोहनी, सिन्धुपाल्चोकमा शेरबहादुर तामाङ र वागलुङमा सूर्यप्रसाद पाठक विजयी भएका हुन् ।

माओवादी केन्द्रबाट रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा कमला रोका, ललितपुरबाट पम्फा भूसाल, सिन्धुपाल्चोकबाट अग्निप्रसाद सापकोटा, बागलुङबाट देवेन्द्र पौडेल, जुम्लाबाट गजेन्द्रबहादुर महत निर्वाचित भएका हुन् । हुम्लामा भने स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।

मनाङमा एमालेका गुरुङले कांग्रेसका टेकबहादुर गुरुङलाई २७९ मतले पराजित गरे । २०४८ सालयताका कुनै पनि निर्वाचनमा एमालेले मनाङमा जितेको थिएन । ०६४ को संविधानसभाको चुनावमा एक पटक माओवादीका देव गुरुङले जितेका थिए । त्यसबाहेकका सबै चुनाव कांग्रेसले जित्दै आएको इतिहास छ । मनाङको प्रदेशसभा (क) मा कांग्रेसका चिन्तबहादुर घले विजयी भए भने प्रदेशसभा (ख) मा एमाले समर्थित राजीव गुरुङ (दीपक मनाङे) ले कांग्रेसका कर्मा गुरुङलाई हराए ।

मुस्ताङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा विजय हासिल गरेको छ । प्रतिनिधिसभामा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचन थकालीलाई हराए । अघिल्लो चुनावमा कांग्रेसबाटै बागी उम्मेदवार बनेका तुलाचन थोरै मतले गौचनसँग हारेका थिए । यस पटक तुलाचनले एमालेमा प्रवेश गरी टिकट लिएर गौचनलाई हराएका हुन् । मुस्ताङको प्रदेशसभा (क) मा इन्द्रधारा विष्ट र (ख) मा महेन्द्रबहादुर थकाली विजयी भए । दुवैले कांग्रेस उम्मेदवारलाई हराएका हुन् । मुगुमा एमालेका बमले कांग्रेसका हस्तबहादुर मल्ललाई हराए । प्रदेशसभाको भने त्यहाँ मतगणना जारी छ । बझाङमा एमालेका सिंहले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराए । प्रदेशसभा (क) मा एमालेका अर्जुनबहादुर थापा र (ख) मा माओवादीकी देवकी मल्ल थापा विजयी भए ।

म्याग्दीका सबै सिट वाम गठबन्धनले जित्यो । प्रतिनिधिसभा एमालेका थापाले कांग्रेसका खमवीर गर्बुजालाई हराए । प्रदेशसभा (क) मा माओवादीका विनोद केसी र (ख) मा एमालेकी नरदेवी पुन विजयी भए । रुकुममा पनि वाम गठबन्धनले विजय हासिल गरेको छ । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट मात्र उम्मेदवारी रहेको रुकुम पूर्वको प्रतिनिधिसभामा माओवादीकी रोकाले जितिन् भने रुकुम पश्चिममा माओवादीकै शर्माले जिते । रुकुम पूर्वको प्रदेशसभा (क) तेजबहादुर वली र (ख) मा पूर्णबहादुर घर्तीमगर विजयी भए । हुम्लाबाट विजयी भएका लामाले भने माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

प्रकाशित : मंसिर २३, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?