निरन्तरको अठोटले जित

विनोद त्रिपाठी

मुस्ताङ — गणतन्त्र आएपछि उनले सांसद बन्न धेरै प्रयास गरेका हुन् । पटक–पटकका चुनाव लड्न पार्टीसँग टिकट मागे । तर, कांग्रेसले उनलाई ०६४ र ०७० सालका संविधानसभाको दुवै चुनावमा टिकट दिन आवश्यक ठानेन ।

निरन्तरको अठोटले जित


उनी ०७० मा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उठे । १३ मतअन्तरले रोमी गौचन थकालीसँग पराजित भए । बागी उठेपछि उनले फेरि कांग्रेसकै कार्यकर्ता भएर राजनीति गर्ने अवस्था रहेन । 
अन्तत: ४ महिनाअघि मात्रै कांग्रेस छाडेर एमाले प्रवेश गरेका ५५ वर्षीय प्रेमप्रसाद तुलाचन यसपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । निरन्तरको अठोट बिहीबार बिहान उनले चुनावमा पाएको सफलतासँगै साकार भएको छ । उनले ०७० सालका प्रतिस्पर्धी रोमी गौचनलाई नै ३ सय ६३ मत अन्तरले पराजित गरेका छन् । उनको पार्टी फेरबदल अहिले राजनीतिमा सफलताको खुड्किलो जस्तो बनेको छ । 
तुलाचन ०४७ मा कांग्रेसको साधारण सदस्य लिएर राजनीतिमा प्रवेश गरेका हुन् । उनी १० वर्षसम्म पार्टीको जिल्ला कार्यसमिति सदस्य भए । ०५४ मा जिविस सदस्यमा निर्वाचित भए । थाक खेलकुद तथा सांस्कृतिक विकास संघमार्फत जिल्लाको खेलकुद विकासमा उनको योगदान छ । ०५६ मा सरकारले कोरला नाकासम्म सडक लैजाउने चर्चा चलाएपछि कोरला–लोमान्थाङ सडक निर्माण संयोजक बनेर काम गरे । मुस्ताङमा चिनिएका ठेकेदारमा पर्ने उनी राजनीति सँगसँगै ठेक्कापट्टा, ट्राभल एजेन्सी र होटल व्यवसायमा सक्रिय छन् । एमाले अध्यक्ष केपी ओली गत साउन २९ मा जोमसोम आउँदा उनलाई पार्टी प्रवेश गराएका थिए ।
‘मेरो वर्षौंदेखिको सपना पूरा भएको छ, अब जनताको सपना पूरा गर्न खटिनेछु,’ विजयी भएपछि तुलाचनले भने, ‘मेरो जितमा हार्नेले निराश हुनुपर्ने कारण देखेको छैन । म सबैलाइ समेटेर लैजान्छु ।’ उनले तीतामीठा कुरा बिर्सेर जिल्लाको विकासमा लागिपर्ने बताएका छन् । ‘म धेरै बोल्न जान्दिनँ तर बोलेको कुरा पूरा गर्नेछु,’ उनले भने । 
तुलाचनले चुनाव प्रचारमा जिल्लाको विकासका विभिन्न योजना अघि सारेका थिए । ‘कोरलासम्म सडक पुर्‍याउने, नाका खुलाउन पहल गर्ने, पर्यटन आगमनमा वृद्धि गर्ने, पदमार्ग निर्माण गर्ने, मानसरोवर जान सरकारसँग अनुमतिका लागि माग राख्नेलगायत योजनाअनुसार मैले चुनाव जितेको हुँ । यो काम गरेर देखाउनेछु,’ उनले भने ।

 

प्रकाशित : मंसिर २३, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?