बारामा प्रदेशसभातर्फ वाम गठबन्धन २ र फोरम १ स्थानमा विजयी

प्रतिनिधिसभातर्फ २ स्थानमा वाम गठबन्धन, १ वटामा संघीय फोरम र १ वटामा राजपा अगाडी
लक्ष्मी साह

बारा — ८ प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार प्रदेशसभातर्फ वाम गठबन्धन २ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को (क)मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह कांग्रेसका रामानन्द यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएकी छिन् ।


साह २०६४ सालमा सामानुपातिक तर्फबाट सभासद् थिइन् । २०७० को संविधान सभामा प्रत्यक्ष उम्मेदवार हुँदा कांग्रेसबाट पराजित भएकी थिइन् । साहले ११ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम कांग्रेसका यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् । 
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को (क) मा संघीय समाजवादी फोरमका शारदाशंकर जयसवालले कांग्रेसका रामप्रवेश यादवलाई फराकिलो मतले पराजित गर्दै विजयी हासिल गरेका छन् । जयसवालले १६ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यादवले ८ हजार १ मत प्राप्त गरे । 
जयसवाल यसअघिको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिकाबाट मेयर पदको उम्मेदवार थिए । त्यसबेला संघीय समाजवादी फोरम र राजपाले अलगअलग उम्मेदवार उठाएकाले हार बेहोरेका थिए । यस्तै निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार सुन्दर विश्वकर्माले ३ हजार ४ सय ४७ मतले कांग्रेसका आमकृष्ण कार्कीलाई हराउँदै विजयी भएका छन् । विश्वकर्मा एमालेका जिल्ला अध्यक्ष हुन् । उनले ११ हजार ७ सय ७० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ८ हजार ३ सय २३ मत ल्याए । मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ को (क) मा एमालेको त्रिलोकी चौधरी कांग्रेसका पेमासिद्धी लामाबाट १८ सय ४८ मतले अग्रता कायम राखेका छन् । 
४ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभातर्फ वाम गठबन्धन २, संघीय फोरम १ र राजपाले १ स्थानमा अग्रता लिइरहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ एमालेको अच्युत मैनाली कांग्रेसका उमाकान्त चौधरीबाट ८ सय बढी मतले अग्रता लिइरहेका छन् । क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले कांग्रेसका राधेचन्द यादवबाट १० हजार बढी मतले अग्रता लिएका छन् ।
रामसहाय जित नजिक पुगेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका एमाले उम्मेदवार अद्ययानन्द पाण्डे २ हजार मतले संघीय फोरमका रामबाबुकुमार यादवबाट अग्र स्थानमा छन् । यसरी निर्वाचन क्षेत्र नम्बर ४ मा डेढ सय मतले राजपाका एकवाल मियाँ वाम गठबन्धनका एमाले उम्मेदवार देवनारायण थारुबाट अगाडि छन् । 

 

प्रकाशित : मंसिर २४, २०७४ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?