कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुर २ मा एमालेले इतिहास रच्यो

लीला श्रेष्ठ

भक्तपुर — निर्वाचन क्षेत्र नं २ मा एमालेले इतिहास रच्दै प्रतिनिधिसभा तथा दुवै प्रदेशसभा सिटमा विजयी भएको छ । २०४८ पछि तीनपल्ट कांग्रेस र दुईपल्ट नेमकिपाले पालैपालो जितेको क्षेत्रमा वाम गठबन्धनका एमाले उम्मेदवार महेश बस्नेतले जितेका हुन् ।

भक्तपुर २ मा एमालेले इतिहास रच्यो

बस्नेतले कांग्रेस उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरे । बस्नेतले ३६ हजार ४ सय १२ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६ सय ८७ मत मात्र ल्याएका छन् । उक्त क्षेत्रका उम्मेदवार नेपाल मजदुर किसान पार्टी नेतृ एवं पूर्वसांसद अनुराधा थापाले ५ हजार ४ सय ७१ मत ल्याइन् ।

निर्वाचित बस्नेत पूर्वउद्योगमन्त्रीसमेत हुन् । उनी ०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेस रामेश्वर ढुंगेलसँग पराजित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचितसँगै बस्नेतले भक्तपुरलाई प्रदेशको राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बस्नेतले भक्तपुरलाई आत्मनिर्भर घर र व्यवस्थित सहर बनाउने उद्घोष गरे । जिल्लाको विकास र समृद्धिमा आफूलाई समर्पित गर्ने उनले बताए ।

स्थानीय तह निर्वाचनमा समेत उक्त क्षेत्रमा पर्ने सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका थिए ।

प्रदेशसभा ‘क’ मा थापा
निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ सूर्यविनायक नगरपालिकाअन्तर्गत वाम गठबन्धनबाट उम्मेदवार एमालेका शशिजंग थापा विजयी भएका छन् । थापाका प्रतिद्वन्द्वी कांग्रेसका अंगत खडकालाई १० हजार ४ सयले उछिन्दै १९ हजार ५ सय १५ मत प्राप्त गरी विजयी भएका हुन् । खडकाले ९ हजार १ सय १५ मत ल्याएका छन् ।

थापाले पार्टीको घोषणा कार्यान्वयन गर्ने तथा प्रस्तावित भक्तपुर चक्रपथलाई पूर्णता दिने, आधुनिक प्रविधियुक्त सामुदायिक अस्पताल निर्माणमा प्रतिबद्धता जनाएका छन् । उनले प्राणी उद्यानको पूर्णता, ‘बालकुमारी, बालकोट, घ्याम्पेडाँडा हुँदै साँगासम्म चार लेन’ सडक निर्माण, प्राविधिक शिक्षालय सञ्चालन, प्रदेशकै नमुना विश्वविद्यालय सञ्चालन, अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणलगायत कार्ययोजना अघि सारेको बताए ।

‘ख’ मा श्रेष्ठ
क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार गणेशमान चक्रधरलाई २ हजार ६ सय ९१ मतले पराजित गर्दै १४ हजार २ सय २९ मत प्राप्त गरे । चक्रधरले ११ हजार ५ सय ३८ मत ल्याए । निर्वाचित श्रेष्ठले संविधान कार्यान्वयमा सक्रिय भई प्रदेशको समस्या समाधानमा दिलोज्यानले लाग्ने बताएका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?