२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

किन पछि पर्‍यो कांग्रेस ?

० तीनजना केन्द्रीय सदस्य नै पराजित ० आन्तरिक असन्तुष्टिले परिणाम प्रभावित ० ६ क्षेत्रमध्ये एकमै सीमित
केन्द्रीय नेताबीचको बेमेल पनि कारक

विराटनगर — संविधानसभा निर्वाचनका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जिज्ञासा राखेका थिए, ‘अरू सबै क्षेत्रतिर निकै घुम्दै हुनुहुन्छ, आफ्ना क्षेत्रमा जानुभएको छैन, अप्ठ्यारो हुँदैन ?’

किन पछि पर्‍यो कांग्रेस ?

एउटा भेटमा दाहालले आफूसँग राखेको यस्तो जिज्ञासाबारे कोइरालाले गृहनगर आएका बेला सुनाएका थिए । ‘देशभरिको सबै क्षेत्र मेरो आफ्नै हो नि, त्यसैले सबैतिर ध्यान दिइरहेको छु भनेर जवाफ दिएपछि दाहालले चित्त बुझाए,’ कोइरालाले त्यो बेला भनेका थिए ।

हो, कोइराला आफ्नो निर्वाचन क्षेत्रमा धेरै गएनन् तर स्वास्थ्यले उति साथ नदिँदा पनि देशव्यापी चुनावी दौडाहामा थिए । कांग्रेसको आधारभूमि र संस्थापक नेता बीपी कोइरालालगायतले संगठन विस्तार गरेको मोरङमा कोइराला परिवारका उम्मेदवारलाई हरेकजसो निर्वाचनमा विजयी बन्न सहज थियो । तर यसपटकको निर्वाचनमा भने फरक परिणाम आएको छ । केन्द्रीय समितिमा रहेका तीनजना नेता पराजित भएका छन् । अघिल्ला चुनावमा जित्दै आएका जिल्ला सभापतिले पनि पराजय बेहोर्नुपर्‍यो ।

कोइराला परिवारको विरासत थाम्नेमध्येका एक पार्टीका प्रभावशाली केन्द्रीय सदस्य शेखर कोइराला फरक विशेषताका कारण लोकप्रिय एमाले नेता लालबाबु पण्डितसँग पराजित हुनुपर्‍यो । मोरङ ६ मा शेखरभन्दा लालबाबुले ६ सय ७५ मत बढी ल्याए । कोइराला दुवै पटकको संविधानसभा निर्वाचनमा विजयी बनेका थिए । 

२०४८ र २०५६ को संसदीय निर्वाचनमा मोरङको तत्कालीन क्षेत्र ३ बाट विजयी बनेका पण्डित यसपालि क्षेत्र परिवर्तन गर्दै मोरङ ६ मा आएका थिए । कांग्रेस पार्टीका एक पदाधिकारीका अनुसार संगठनभित्रको असन्तुष्टिको असर र नयाँ मतदाता पण्डिततिर आकर्षित हँुदा परिणाम प्रभावित भएको हो । ‘कतिपय असन्तुष्टले खुलेरै विरोध गरेको देखियो,’ ती नेताले भने, ‘व्यक्तिसँगको असन्तुष्टिले सिंगो संस्थालाई नोक्सानी पुर्‍यायो ।’

अर्का केन्द्रीय सदस्य तथा पूर्व अर्थ/वनमन्त्री महेश आचार्यले पनि यसपटक पराजित हुनुपर्‍यो । मोरङ ४ मा उनले माओवादी केन्द्रका अमनलाल मोदीभन्दा ६ हजार ७ सय २९ मत कम ल्याए । आचार्य कांग्रेसको चुनावी घोषणापत्रका मस्यौदाकारसमेत हुन् । २०५६ को आम चुनाव र २०७० को संविधानसभा निर्वाचनमा आचार्य विजयी भएका थिए । यसपालि यो क्षेत्रमा ‘अन्तर्घात’ भएको चर्चा व्यापक छ । पहिले कांग्रेसलाई सघाउँदै आएका थारू समुदायको मत प्रतिस्पर्धीतिर एकोहोरिनु पनि पराजयको कारण मानिएको आचार्यनिकट एक नेताले बताए ।

कांग्रेसको प्रभाव क्षेत्रमध्ये मोरङ २ बाट मात्रै कांग्रेसका उम्मेदवारले सफलता पाएका छन् । केन्द्रीय सदस्य मीनेन्द्र रिजाल यो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । समानुपातिकबाट प्रतिनिधित्व गर्दै आएका रिजाल पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

यो क्षेत्रमा २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति कोइराला निरन्तर विजयी बनेका थिए । कोइरालाको विरासतलाई जोगाउँदै पहिलो संविधानसभा निर्वाचनमा 

कांग्रेसका आमोद उपाध्याय विजयी बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने एमालेका ऋषिकेश पोखरेलले उपाध्यायलाई हराएका थिए ।

यस्तै, मोरङ १ मा अघिल्लोपटक आफूले पराजित गरेकै उम्मेदवार कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूको यात्रामा तगारो बने । त्यसबेला पराजित एमालेका घनश्याम खतिवडासँग उनी ६ हजार ८८ मत अन्तरले पराजित भएका छन् । २०७० को संविधानसभा निर्वाचनमा लिम्बूले खतिवडालाई पछि पारेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने लिम्बू माओवादीका नगेन्द्रप्रसाद धिमालसँग पराजित भएका थिए । 

 

आन्तरिक असन्तुष्टि

यसपटक फरक चुनावी लहरबीच कांग्रेसका यी हस्तीले किन पराजय भोग्नुपर्‍यो भन्ने जिज्ञासाका अनेक जवाफ हुन सक्ने पुराना राजनीतिज्ञ र विश्लेषकहरूले बताएका छन् ।

वाम शक्तिहरूबीच सहकार्य हुनु तर कांग्रेसमा आन्तरिक असन्तुष्टिको व्यवस्थापन गर्न नसक्नु पनि पराजयको कारक मानिएको छ । प्राध्यापक भक्ति पौडेल बलियो वाम गठबन्धन नै कांग्रेसका उम्मेदवारको पराजयको कारण भएको बताउँछन् । ‘यसपटक वाम लहर चल्यो,’ उनले भने, ‘लहर चलेपछि कसैको जोड चल्दैन, यस्तोमा को केन्द्रीय नेता र को कनिष्ठ हो भन्ने हुँदैन ।’ मतदाताले नयाँ प्रयोग हेर्न चाहेकाले त्यहीअनुसार अभिमत दिएको उनको बुझाइ छ । तर लोकतान्त्रिक आन्दोलनमा पुस्तै बिताएको कांग्रेस र कोइराला परिवार एउटै चुनावले सकिने वा उठ्ने भन्ने नहुने उनले बताए । 

केन्द्रीय रूपमा चर्चित नेताहरू चुनावी मैदानमा रहे पनि एकअर्काका क्षेत्रमा गएर चुनावी अभियानमा सहभागी नहुनु पनि पराजयको एउटा कारण रहेको कांग्रेसका एकजना पुराना नेताको बुझाइ छ । ‘चुनाव व्यक्तिकेन्द्रितजस्तो भयो,’ उनले भने, ‘पार्टीका लागि भनेर अभियान चलाइएको देखिएन ।’ तीन केन्द्रीय सदस्यबीच लामो समयदेखि व्यक्तिगत सम्बन्धसमेत राम्रो नभएको कुरा कार्यकर्तासम्मै पुगेको छ । उनीहरूबीचको ‘न्यानो बन्न नसकेको सम्बन्ध’ ले पनि प्रभाव परेको कतिपयको भनाइ छ ।

२०७० को निर्वाचनमा ९ क्षेत्र रहेको मोरङमा कांग्रेसले ५ वटा जितेको थियो । यसपटक पराजय भएका केन्द्रीय सदस्यत्रय शेखर, महेश, अमृत र डिगबहादुर चारैजनाले त्यसबेला जित निकालेका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेसले मोरङमा राम्रो पकड बनाएको थियो ।

कान्छोमध्येको विराटनगर महानगरपालिकामा निकै मतान्तरले जितेको कांग्रेसका लागि लोकतान्त्रिक फोरम नेपाल पार्टीसहित विजयकुमार गच्छदार आएपछि क्षेत्र नम्बर ४ र ६ अझ सुरक्षित मानिएको थियो । स्थानीय तह निर्वाचनको मत परिणाममा यी क्षेत्रमा कांग्रेस नै अघि देखिन्छ । केन्द्रीय सदस्यहरू लडेका तीनै निर्वाचन क्षेत्रमा महानगरपालिकाको भूभाग पनि समेटिएको छ ।

 

नेतृत्वबीच बेमेल

कांग्रेसका पुराना नेता पीताम्बर दाहाल नीतिगत रूपमा कांग्रेसको आन्तरिक जीवन भताभुंग भएको अवस्थामा यस्तो परिणाम आउनु स्वाभाविक भएको बताउँछन् । ‘त्यसलाई सुधार नगरी पार्टी निर्वाचनमा गयो,’ उनले भने, ‘वाम गठबन्धनको सन्देश राम्रोसँग प्रवाह भयो तर कांग्रेसले लोकतान्त्रिक गठबन्धन भने पनि व्यवहारमा देखाउन सकेन ।’

मोरङ कांग्रेसको वर्चस्व क्षेत्र भए पनि यसलाई जीवित राख्न पार्टीको केन्द्रीय नेतृत्वमा पुगेकाबीच मेल नहुनु हानिकारक देखिएको दाहालले बताए । ‘सबै आफू सुरक्षित हुने दाउमा रहे । एकले अर्कालाई सहयोग गर्नुपर्ने थियो,’ उनले भने, ‘कांग्रेसले मधेसी मूलका उम्मेदवार दिन नसक्नुले पनि मधेसलाई कांग्रेसले उपेक्षा गर्‍यो भन्ने सन्देश गयो ।’

कांग्रेस हारको प्रमुख कारण नेतृत्व नै भएको राजनीतिशास्त्रका सहप्राध्यापक शान्तिराम भण्डारी दाबी गर्छन् । ‘पार्टी सभापतिका अभिव्यक्ति र कार्यशैलीका कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘कांग्रेसले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिका र संविधान निर्माणजस्ता कुरालाई नारा नै बनाउन सकेन ।’

वाम एकताले अधिनायकवाद आउँछ भनेर गरिएको प्रचारले मतदातामा साँच्चै वाम गठबन्धनले चुनाव जित्न लाग्यो भन्ने भान पर्न जाँदा यसले पनि असर गरेको उनको बुझाइ छ । ‘एकै व्यक्तिलाई सधैं भोट दिइराख्नुपर्छ भन्ने मतदाताको मानसिकता हुँदैन, कसले विकास गर्‍यो भन्ने पनि होइन,’ भण्डारीले भने, ‘भोलिका योजना कसले बढी बाँड्न सक्छ भन्ने कुराले पनि मतदातालाई प्रभाव पार्छ ।’

प्रकाशित : मंसिर २५, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?