प्रतिनिधिसभाका सबै सिटमा वाम

कांग्रेसले प्रदेश ६ मा प्रतिनिधिसभाका एउटै सिट जितेन
प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ क्षेत्रमध्ये ३५ सिटमा वाम
एमाले–माओवादी एकता नै कांग्रेस पराजयको मूल कारण’
प्रदेशसभा प्रतिपक्षविहीन हुनु राम्रो होइन : विश्लेषक

सुर्खेत — प्रदेश ६ मा प्रतिनिधिसभा तथा प्रदेशका सम्पूर्ण नतिजा आउँदा वाम गठबन्धन नतिजा एकलौटी बनाउन सफल देखिएको छ । चार वर्षअघिको संविधानसभा निर्वाचनमा प्रदेशअन्तर्गतका झन्डै आधा सिट जितेको कांग्रेसबाट यसपटक प्रतिनिधिसभामा एकजना पनि उम्मेदवारले जित्न सकेनन् ।

प्रतिनिधिसभाका सबै सिटमा वाम

प्रदेशसभामा हुम्ला ‘ख’ बाट पूर्वमन्त्री जीवनबहादुर शाही विजयी भएबाहेक प्रत्यक्षतर्फ कांग्रेसका सबै उम्मेदवार पराजित भए । 

६ महिनाअघिको स्थानीय निर्वाचनमा एमाले, कांग्रेस र माओवादी केन्द्रको जनमत झन्डै हाराहारी देखिएको थियो । एमालेले २७ तह जित्दा कांग्रेस र माओवादी केन्द्रले २५–२५ जितेका थिए । त्यसैले वाम गठबन्धन कांग्रेसका लागि यो निर्वाचनमा सबैभन्दा ठूलो चुनौती बन्यो । प्रदेश ६ बाट प्रतिनिधीसभातर्फ १२ र प्रदेशसभामा २४ जना सदस्य प्रत्यक्ष निर्वाचित भएका छन् । तीमध्ये ३५ जना वाम गठबन्धनका छन् । 

‘कर्णाली क्षेत्रको राजनीति अस्थिर हुँदै हो, त्यसैमा यसपटक वाम गठबन्धन हाबी भइदियो,’ कांग्रेसबाट प्रदेशसभा पुगेका एक्ला सदस्य शाहीले भने, ‘एक्लो भए पनि जनताका पक्षमा आवाज बुलन्द गर्छु ।’ 

उनी कांग्रेसबाट प्रदेश ६ को मुख्यमन्त्रीका दाबेदार थिए । पार्टीको हारले शाहीको त्यो सपना तुहिएको छ । तर, विकासका मुद्दामा भने प्रतिपक्षभन्दा पनि साझेदार भएर अघि बढ्ने उनले बताए । ‘विकास साझा मुद्दा हो । एउटा बलियो र समृद्ध प्रदेश निर्माणका लागि प्रदेश तथा केन्द्रीय सरकारलाई सघाउने र खबरदारी गर्नेछु,’ शाहीले भने । 

 निर्वाचनपिच्छे जनप्रतिनिधि फेर्दै आएको कर्णाली क्षेत्रको जनमत यसपटक वाम गठबन्धनले जितेको छ । २०४८ र ०५१ मा कांग्रेस, संयुक्त जनमोर्चा र नेमकिपाको प्रभाव थियो । ०५६ मा पाँचवटै जिल्ला एमालेले जित्यो । ०६४ सालमा त्यसैगरी माओवादी हाबी भयो । ०७० को संविधानसभा निर्वाचनमा जुम्ला र हुम्ला कांग्रेस, मुगु र डोल्पा एमाले, कालिकोट माओवादी केन्द्रले जितेका थिए । कर्णालीसहित प्रदेश ६ ले परम्परागत प्रणाली फेर्न चाहेको देखिएको एमाले समानुपातिक उम्मेदवार मीनबहादुर 

शाही बताउँछन् । 

‘वामपन्थीप्रतिको यो अपार समर्थन अवसर मात्र होइन, चुनौती पनि हो’ उनले भने, ‘उत्पीडन र पछौटेपनबाट बाहिर निस्कन गरिएको आहान हो ।’ सम्बोधन गर्न नसके अर्को निर्वाचनमा नतिजा उल्टिने उनी बताउँछन् । हुम्लाबाट कांग्रेसले प्रदेशसभा सदस्य जित्नुको पछि पनि वाम गठबन्धनभित्रको विवाद मुख्य कारण देखिएको छ । त्यहाँ प्रतिनिधिसभा सदस्यमा गठबन्धनका आधिकारिक उम्मेदवार छिमी लामालाई तेस्रो बनाउँदै स्वतन्त्र वाम नेता छक्कबहादुर लामा विजयी भएका छन् । 

नेपालमा संघीयता नयाँ अभ्यास भएकाले प्रदेशसभा प्रतिपक्षविहीन हुनु सत्ता पक्षकै लागि पनि राम्रो नहुने राजनीतिशास्त्रका विज्ञ बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक पीताम्बर ढकालले कांग्रेस पछि पर्नुका अनेक कारण भए पनि स्थिर सरकारका लागि बाटो खुलेको बताए । ‘कांग्रेस आफ्नै कारणले हारेको हो’ उनले भने, ‘तर प्रतिपक्षविहीन प्रदेशसभा पनि अधुरो हुनेछ । प्रदेश सरकारलाई जवाफदेही बनाउन पनि बलियो प्रतिपक्ष चाहिएको थियो ।’ 

समानुपातिक तर्फबाट केही सांसद थपिए पनि प्रतिपक्ष कमजोर हुने स्थिति आएको भन्दै सत्तापक्षलाई मिलेर अघि बढ्नुको विकल्प नभएको प्राध्यापक ढकाल बताउँछन् । मानव विकास सूचकांकमा सबैभन्दा पछि परेका कर्णालीका पाँच जिल्ला समेटिएको यो प्रदेशमा देशको जनसंख्याको ६ प्रतिशत नागरिकको बसोबास छ । भूगोल भने झन्डै २२ प्रतिशत छ । प्रतिव्यक्ति आम्दानी प्रदेश ७ को भन्दा अगाडि देखिएबाहेक अरू सबै सूचकांकमा प्रदेश ६ पछाडि छ । प्रदेश ६ अन्तर्गत सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, पश्चिम रुकुम तथा कर्णाली क्षेत्रका जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा पर्छन् । 

 

खड्कालाई ‘ब्रेक’

सुर्खेत १ यस्तो क्षेत्र हो जहाँ कांग्रेस नेता पूर्णबहादुर खड्काले सबै निर्वाचन जित्दै आएका थिए । २०४८ देखि ०७० सम्मका प्रायजसो चुनावबाट संसद् पुगेका खड्कालाई यसपटक भने एमालेका धु्रवकुमार शाहीले ‘ब्रेक’ लगाइदिए । 

पहिलो संविधानसभामा समानुपातिक प्रतिनिधित्व गर्दै संसद् पुगेका उनले त्यसबाहेकका सबै निर्वाचन जित्दै आएका थिए । ०६४ मा कांग्रेसले उक्त क्षेत्रबाट लालबहादुर घलेलाई उम्मेदवार बनाएको थियो । चुनावको पूर्वसन्ध्यामा एमाले उम्मेदवार ऋषिप्रसाद शर्माको हत्या भएपछि उनकी पत्नी कमला उम्मेदवार भइन् र जितिन् । त्यसबाहेक अहिलेसम्म उक्त क्षेत्रबाट गैरकांग्रेसले जित्न सकेको थिएन । 

कांग्रेसको केन्द्रीय राजनीतिमा स्थापित र पटक–पटक मन्त्री भएका खड्कालाई हराउन वाम गठबन्धनले आक्रामक चुनावी शैली अपनाएको थियो । गठबन्धनका निर्वाचन परिचालन संयोजक कृष्ण जीसीले भने, ‘गठबन्धनको मत जोगाउन सके जितिने निश्चित थियो । त्यसैले आफ्ना भोट सुरक्षित गर्नमै धेरै मेहेनत गर्‍यौं ।’ खडका प्रतिस्पर्धीभन्दा ३ हजार ३ सय ८२ मत अन्तरले पराजित भएका हुन् । शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएका छन् । सुर्खेत १ मा सदरमुकाम वीरेन्द्रनगरका दुई वडा, भेरीगंगा, लेकबेंसी, गुर्भाकोट नगरपालिका तथा सिम्ता र चिंगाड गाउँपालिका पर्छन् । 

को हुन् धुव्र शाही ?

२०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका उनी ०५४ सालको स्थानीय निर्वाचनमा मालारानी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । जिल्ला कमिटी सदस्य, उपसचिव हँुदै उनी अहिले जिल्ला अध्यक्ष छन् । विजयपछि उनले सुर्खेतका जनताले नयाँ नेतृत्व र परिवर्तन चाहेर आफूलाई जिताएको बताए । पूर्वी सुर्खेतमा जनताका आवश्यकताका आधारमा विकास गर्न पहल गर्ने उल्लेख गर्दै शाहीले भने, ‘जनताले अनुभूति गर्ने गरी काम गर्छु । निराश बनाउनेछैन ।’ 

 

मुख्यमन्त्रीका दाबेदार कँडेल विजयी

सुर्खेत २ को प्रदेश ‘क’ मा कांग्रेसका कमलराज रेग्मीलाई ५ हजार ३ सय ३५ मत अन्तरले पछि पार्दै एमालेका यामलाल कँडेल विजयी बने । उनले २१ हजार २ सय ८२ मत ल्याए भने रेग्मीले १५ हजार ९ सय ४७ मत पाए । कँडेल प्रदेश ६ को मुख्यमन्त्रीका लागि एमालेबाट प्रमुख दाबेदार हुन् । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री कँडेल हाल एमाले पोलिट्ब्युरो सदस्य र प्रदेश–६ कमिटीका सहसंयोजक हुन् । प्रष्ट बोल्ने, खरो स्वभावका कँडेलले अब प्रस्तावित प्रादेशिक राजधानी सहर वीरेन्द्रनगरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।

त्यस्तै, सुर्खेत १ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका ठम्मर विष्ट विजयी भए । उनले निकटम प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर सिंहलाई २ सय २० अन्तरले पराजित गरे । विष्टले १५ हजार ३ सय ५२ मत प्राप्त गरे भने सिंहले १५ हजार १ सय ३२ मत ल्याए । विष्ट माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन् । अघिल्ला दुइटै संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सुर्खेत–१ बाट उम्मेदवार थिए । उनी माओवादी जनयुद्धताका जनमुक्ति सेनाको बटालियन कमान्डर थिए ।

सुर्खेत १ कै प्रदेश ‘ख’ मा एमालेका खड्गबहादुर खत्री विजयी बने । खत्रीले २१ हजार ६ सय २१ ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका झकबहादुर डँंगीले १७ हजार ७ सय १८ मत प्राप्त गरे । ०४२ सालमा जनपक्षीय उम्मेदवारका रूपमा प्रधानपञ्चमा लडे पनि विजयी बन्न सकेनन् । ०४९ र ५४ सालमा तत्कालीन रामघाट गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी एमालेको केन्द्रीय निर्माण तथा उद्योग विभागका सदस्य हुन् । उनी निर्माण व्यवसायी पनि हुन् ।

 

दैलेख क्षेत्र २ मा पनि वाम विजयी

दैलेख– दैलेख निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका राजबहादुर बुढा विजयी भएका छन् । यो नतिजासँगै जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा सबै सिटमा वाम गठबन्धनले कब्जा जमाएको छ । बुढाले प्रतिद्वन्द्वी कांग्रेसका शिवराज जोशीलाई ६ हजार ६ सय ८९ मतको अन्तरले पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको परिणामअनुसार बुढाले २३ हजार ३ सय २३ मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार पूर्वमन्त्री जोशीले १६ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् । बुढा ०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए । जोशी ०५६ सालमा श्रम तथा यातायातमन्त्री भइसकेका हुन् । समानुपातिकतर्फको मतगणना जारी नै छ । 

 

समृद्ध जिल्ला बनाउने प्रतिबद्धता

जिल्लाका सबै सिटमा वाम गठबन्धले जित हात पारेपछि कार्यकर्तामाझ विजयी सांसदले आफ्ना प्रतिबद्धता पुरा गर्ने बताएका छन् । प्रतिनिधि सभामा क्षेत्र १ र २ मा विजयी एमालेका रवीन्द्र शर्मा र राजबहादुर बुढा तथा प्रदेशसभा सदस्यहरू अमरबहादुर थापा, माओवादी केन्द्रका धर्मराज रेग्मी, सुशील थापा र राजबहादुर शाहीले कार्यकर्तामाझ आफ्ना प्रतिबद्धता पूरा गर्ने जनाएका हुन् ।

प्रतिनिधिसभा क्षेत्र १ बाट विजयी शर्माले जिल्लाको समृद्धि र टिकाउपूर्ण विकासका लागि आफूले काम गर्ने बताए । उनले पर्यटकीय हबका रूपमा आफ्नो क्षेत्रलाई विकास गर्ने, पञ्चकोशी स्थलहरूको स्तरोन्नति, सडक र विद्युत् जिल्लाभर पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताए । 

क्षेत्रबाट विजयी बुढाले माथिल्लो कर्णालीको निर्माण, बेरोजगारी समस्या समाधान, छाउपडी अन्त्यलगायतमा आफू क्रियाशील रहने बताए । ‘जिल्लाको विकासका लागि हामी चुनावमा आएका थियौं । मतदाताले ठूलो उत्साहसाथ जिताउनुभएको छ । समग्र जिल्लावासीकै हितमा हामीहरू क्रियाशील हुनेछौं,’ उनले भने, ‘योजनाबद्ध विकास र समृद्ध जिल्ला बनाउने अभियानमा हामी सफल हुनेछौं । कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत्, खानेपानी समस्या समाधान गरी समृद्ध र नमुना जिल्ला बनाउन हामी क्रियाशील हुनेछौं ।’

क्षेत्र २ ‘क’ सुशील थापाले युवाहरूको हकहितमा आफूले काम गर्ने बताए । क्षेत्र १ ‘ख’ का विजयी अमरबहादुर थापाले आफ्नो क्षेत्रको विकासका लागि क्रियाशील हुने बताए । यसैबीच कांग्रेसले विभिन्न कमजोरीका कारण पार्टीका उम्मेदवार पराजित भएको स्वीकारेको छ । कांग्रेस सभापति कृष्णकुमार बीसीले आफूहरू निर्वाचित नभए पनि विकासका काममा क्रियाशील भइरहने जनाए । उनले मतदाताहरूको मतको सम्मानका लागि पार्टी क्रियाशील हुने बताए ।

 

विजयीलाई प्रमाणपत्र

प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारलाई आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण गरेको छ । क्षेत्र १ बाट विजयी सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवट र २ का विजयीलाई निर्वाचन अधिकृत उमाकान्त पौडेलले प्रमाणपत्र वितरण गरेका हुन् ।

 

जितको खुसीमा नाचगान

कालीकोट– वाम गठबन्धनका विजेता तीनै उम्मेदवारले चुनाव जितेपछि नाचगान गरी खुसियाली मनाएका छन् । एक प्रतिनिधि र दुई प्रदेशसभा सदस्यमा चुनाव जितेपछि गठबन्धनका नेता, कार्यकताले सदरमुकाम मान्ममा रमाइलो गरेको एमाले अध्यक्ष नगीन्द्र शाहीले बताए ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा ‘क’ मा एमालेका कुर्मराज शाही र ‘ख’ मा महेन्द्रबहादुर शाही विजयी भए । जिल्लामा वाम गठबन्धनले सदरमुकाम आएका समर्थकलाई शनिबार मान्मस्थित २ होटलमा भोजको व्यवस्था मिलाएको थियो । ७ वटा खसी काटेर चुनावमा खट्ने कार्यकर्ता र मतदातालाई भोज खुवाइयो । शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट क्रममा सामान्य खाजा खुवाइएको माओवादी नेता खेमबहादुर सिंहले बताए ।

 

 

प्रदेशमा रातो कामी

रुकुम पश्चिम (कास)– जिल्लामै पहिलोपल्ट प्रत्यक्षतर्फ संसदीय चुनावमा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन् । उनी प्रदेशसभा ‘क’ बाट १६ हजार ८ सय १० मतसहित विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्णबहादुर रोकायले ८ हजार ५ सय ७५ मतमै चित्त बुझाउनुपर्‍यो । 

२०२८ फागुन १० मा आठबिसकोट नगरपालिका–११ मा जन्मिएका कामीले एमालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०५५ मा भएको स्थानीय चुनावमा उनी तत्कालीन आठबिस डाँडागाउँ गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए । २०५८ देखि भने उनी माओवादी आन्दोलनमा सहभागी थिए । यसअघिको साबिककै रुकुम जिल्ला हुँदा दलित समुदायबाट कोही पनि प्रत्यक्ष चुनावमार्फत सांसदमा विजयी भएका थिएनन् ।

आफू दलित समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि कामकाजमा भने समुदाय र वर्ग नछुट्याउने बताए । उनले भने, ‘मेरो प्रतिनिधित्व एउटा निश्चित समुदायबाट भएको छ तर म त्यो समुदायको मात्रै प्रतिनिधि नभएर समग्र क्षेत्रको प्रतिनिधि हुँ, मेरो काम पनि त्यस्तै हुन्छ ।’ संविधान कार्यान्वयनका साथै निर्वाचन क्षेत्र, जिल्लाको समृद्धि र विकासका लागि यसअघि घोषणा गरिएका योजना कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने कामीले बताए ।

प्रकाशित : मंसिर २५, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?