१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रत्यक्षमा रानाको पहिलो फड्को

प्रधानमन्त्रीपत्नी आरजु ४ हजार ८ सय ८० मतान्तरले पराजित
डीआर पन्त

धनगढी — सर्वाधिक चर्चामा रहेको कैलाली क्षेत्र ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना विजयी भएका छन् । एमालेका रानाले प्रधानमन्त्री पत्नी आरजु राणालाई ४ हजार ८ सय ८० मतान्तरले पराजित गरेका हुन् ।

प्रत्यक्षमा रानाको पहिलो फड्को

रानाले २७ हजार २ सय २ मत पाउँदा राणाले २२ हजार ३ सय २२ मतमै चित्त बुझाइन् । क्षेत्र ५ को प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका नेपालु चौधरी १७ हजार ३ सय ६७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जीवन रानाले ११ हजार ७३ मत प्राप्त गरिन् ।
प्रदेससभा ‘ख’ मा भने कांग्रेसका डिल्लीराज पन्त ११ हजार २ सय ५३ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी नेता रमेश धामीले ९ हजार ४ सय ८४ मत मात्र पाए ।
क्षेत्र ५ मा प्रधानमन्त्री पत्नी राणा उम्मेदवार बनेसँगै चर्चामा आएको हो । प्रदेश ७ को प्रमुख व्यापारिक केन्द्र र अस्थायी राजधानी हुने सम्भावना रहेको यो क्षेत्रलाई धेरैले चासोका साथ हेरेका थिए । स्थानीय तह चुनावमा प्रदेशको एक मात्र धनगढी उपमहानगर प्रमुख उपप्रमुखसहित १२ वडामा कांग्रेसले जित हासिल गरेको थियो । डडेलधुरापछि अपेक्षाकृत सुरक्षित मानिएको धनगढी क्षेत्र ५ मा यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं चुनाव जितेका थिए । उनले यो 
क्षेत्र छाडेपछि उपचुनावमा कांग्रेस नेता पुष्करनाथ ओझाले ठूलो मतान्तरसहित एमालेलाई हराएका थिए ।


को हुन् राना ?
कैलालीको धनगढी गाउँमा २०२९ मा जन्मिएका राना ०४६ को परिवर्तनपछि कम्युनिस्ट राजनीतिमा लागेका हुन् । कानुनमा स्नातक राना राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । ०५४ को स्थानीय चुनावमा धनगढी नगरपालिकामा उपमेयरमा निर्वाचित भएका उनी ०६४ मा समानुपातिक सभासदसमेत हुन् । 
पश्चिम तराईका आदिवासी राना समुदायमा उनी यसरी निर्वाचित भएका पहिलो सांसद पनि हुन् । यसअघि राना समुदायका कुनै पनि ब्यक्ति प्रत्यक्ष चुनावमा निर्वाचित भएका छैनन् । पञ्चायतकालमा तत्कालीन राष्ट्रिय पञ्चायतमा निर्वाचित कञ्चनपुरका लबरु रानापछि उक्त समुदायबाट निर्वाचित सांसद हुने उनी पहिलो व्यक्ति हुन । उनलाई ०६४ मा एमालेका तर्फबाट सामानुपातिक सांसद भएपछि रातो पासपोर्ट बिक्रीको अभियोग लागेको थियो ।

प्रकाशित : मंसिर २५, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?