सप्तरीमा मधेसकेन्द्रितकै वर्चस्व

राजविराज — जारी निर्वाचनको आइतबार साँझसम्म सार्वजनिक परिणामअनुसार अधिकांश सिटमा मधेसकेन्द्रित दलले जित हासिल गरेका छन् । प्रतिनिधिसभाका चार क्षेत्रमध्ये दुईवटामा संघीय समाजवादी फोरम नेपाल र एक स्थानमा राजपा नेपालका उम्मेदवारले बाजी मारेका हुन् । एउटा क्षेत्रमा भने गणना जारी छ ।


क्षेत्र नम्बर १ मा संघीय फोरमका सूर्यनारायण यादवले वाम गठबन्धन उम्मेदवार माओवादी केन्द्रका अशोककुमार मण्डलाई पराजित गरे । यादवले २१ हजार ७ सय १२ मत ल्याउँदा मण्डलको भागमा १८ हजार २ सय २५ मत मात्र पर्‍यो । यादव वरिष्ठ बालरोग विशेषज्ञ हुन् । पारिवारिक पृष्ठभूमि राजनीति भए पनि उनी यसअघि राजनीतिमा सक्रिय थिएनन् । सप्तरी डिमनका यादवका भाइ चन्द्रनारायण संविधानसभाको दोस्रो निर्वाचनमा फोरम नेपालका तर्फबाट उम्मेदवार थिए ।
क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य चुनिएका छन् । यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेशकुमार यादवलाई १० हजार ४० मतान्तरले पछि पारे । उपेन्द्रले २१ हजार ६ सय २० मत प्राप्त गरे ।
क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राजपा नेपालका चन्द्रकान्त चौधरी २२ हजार पाँच सय ८५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति दिनेशकुमार यादवले १९ हजार ४ सय मत मात्र पाए ।


प्रदेशसभामा पनि मधेसी
प्रदेशसभाका ८ क्षेत्रमध्ये आइतबार साँझसम्म ५ वटाको अन्तिम परिणाम घोषणा भएको छ । संघीय समाजवादीले २ र राजपाले एक गरी मधेसवादी गठबन्धनले ३ स्थानमा जित निकालेको छ । नेपाली कांग्रेस र एमाले एक एक स्थानमा विजयी भएका छन् । क्षेत्र नम्बर १ को ‘क’ मा संघीय समाजवादीका शैलेन्द्रप्रसाद साह १० हजार ५ सय ७० मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सरोज मण्डलले ७ हजार ५ सय ९३ मत मात्र ल्याए ।
क्षेत्र नम्बर ४ को ‘ख’ मा पनि संघीय समाजवादीकै अभिषेक यादव ९ हजार ६०५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेकानन्द झाले ७ हजार
३३६ मत पाए । क्षेत्र नम्बर ३ को ‘ख’ मा राजपाका विन्देश्वर यादव १० हजार ३ सय २८ मत ल्याई विजयी भए । प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार भगवती यादवको भागमा ६ हजार २ सय १२ मत पर्‍यो ।
क्षेत्र नम्बर ३ ‘क’ मा कांग्रेसका मो समिम विजयी भए । उनले ११ हजार ६ सय २८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका दिनेश यादवले ९ हजार ९ सय ७९ मत मात्र पाए ।
क्षेत्र नम्बर ४ को ‘क’ मा एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपाने १५ हजार १ सय १३ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम साहले ११ हजार ३ सय ९५ मत पाए ।

प्रकाशित : मंसिर २५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?