एमालेका दुवै सचिव विजयी

घनश्याम गौतम

गुल्मीे — प्रतिनिधिसभा क्षेत्र १ मा एमाले सचिव प्रदीप ज्ञवाली विजयी भएका छन् । आइतबार सार्वजनिक मतपरिणामअनुसार ३७ हजार ८ सय १४ मत ल्याएर उनले तेस्रोचोटि संसदीय यात्रा पक्का गरेका हुन् ।

एमालेका दुवै सचिव विजयी

 
२०५६ मा पहिलो पटक निर्वाचित हुँदा उनले कांग्रेसका चन्द्र केसीलाई हराएका थिए । दोस्रोपटक २०६४ मा चन्द्र भण्डारीलाई पराजित गरेका ज्ञवाली २०७० मा भने उनैसँग पराजित भए । यसपालि फेरि भण्डारीलाई ७ हजार ५ सय ५८ मतले पछि पारे । 
भण्डारीले आइतबार बिहानै ज्ञवालीलाई भेटेर बधाइ र शुभकामना दिए । टीका र खादा लगाइदिँदै अँगालो हाले । ‘ल बधाई र शुभकामना छ,’ उनले भने, ‘जित र हार नै लोकतन्त्रको सुन्दरता हो, पहिले मैले जितें, अहिले तपाईंले ।’ आफू पराजित भए पनि वाम गठबन्धनको चुनावी परिणामअनुसार ५ वर्ष स्थिर सरकार निर्माण हुने भएकाले निकै खुसी लागेको उनले बताए । 
यी दुई प्रतिस्पर्धीबीचको सौहार्दपूर्ण राजनीतिक संस्कार अन्य नेताले पनि सिक्न जरुरी रहेको कांग्रेस जिल्ला सदस्य अनन्त पौडेलको ठम्याइ छ । ‘चुनावकै बेला पनि हप्तामा एक–दुई पटक टेलिफोनमा कुरा हुन्थ्यो,’ उनले भने, ‘बाहिर प्रतिस्पर्धा भए पनि भित्र सौहार्दपूर्ण सम्बन्ध छ ।’ २०७० मा पराजित भएपछि ज्ञवालीले पनि भण्डारीलाई यसैगरी बधाइ दिएका थिए ।
जिल्लाका प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमालेकै उम्मेदवार चुनिएका छन् । क्षेत्र २ मा पनि एमालेकै अर्का सचिव गोकर्ण विष्ट ३४ हजार ६ सय १८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५७ मत पाए । विष्ट २०५६ र २०७० को निर्वाचनमा पनि विजयी भएका थिए । 
त्यस्तै प्रतिनिधिसभा १ को प्रदेश ‘क’ मा माओवादीका सुदर्शन बराल १७ हजार ९ सय २२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका पृथबहादुर फौदारले १३ हजार २ सय ९९ मत पाए । प्रदेश ‘ख’ मा एमालेका कमल श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर कांग्रेसका धनेन्द्र कार्कीलाई १६ हजार ३ सय ७३ मत ल्याई पराजित गरे । क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा एमालेका खड्ग केसी १६ हजार १ सय ६५ ल्याएर विजयी भए । कांग्रेसका शालिकराम पन्थीले ११ हजार ६ सय ७३ मत ल्याए । प्रदेश ‘ख’ मा माओवादीका दिनेश पन्थी १७ हजार ६ सय १ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराईले ९ हजार ५ सय ६४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।


समानुपातिकमा माओवादी पहिलो
रुकुमपूर्व – जिल्लाको समानुपातिकतर्फको पनि अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ माओवादी केन्द्र जिल्लाको पहिलो दल बनेको छ । प्रतिनिधिसभातर्फ माओवादीले ८ हजार ८ सय ९१, कांग्रेसले ३ हजार ६ सय ६८, एमालेको पक्षमा ३ हजार र नयाँ शक्ति पार्टीले ३ सय ४३ मत प्राप्त गरेका छन् । कुल १८ हजार १ सय ३२ मत खसेकामा १६ हजार ४ सय ४३ मत सदर भयो भने १ हजार ६ सय ८९ मत बदर भयो ।
त्यस्तै प्रदेशसभा तर्फ पनि माओवादी नै पहिलो दल बनेको छ । माओवादीले ८ हजार ३ सय ७२, कांग्रेसको ३ हजार २ सय ६१, एमालेले ३ हजार ३४ र नयाँ शक्तिको २ सय ९० मत आएको छ । प्रदेशसभातर्फ पनि १८ हजार १ सय ३२ मत खसेको थियो । खसेको कुल मतमध्य १५ हजार ३ सय ९३ मत सदर भयो भने २ हजार ७ सय ३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि नै मत परिणाम सार्वजनिक भइसकेको प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य दुवै क्षेत्रमा माओवादी केन्न्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

 

प्रकाशित : मंसिर २५, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?