१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रेशमलाल चौधरीले किन पाए धेरै मत ?

गणेश चौधरी

टीकापुर — टीकापुर घटनापछि फरार रेशमलाल चौधरीको पक्षमा कैलाली क्षेत्र नं १ को मत एकलौटी भएको छ । चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी मदनकुमारी (गरिमा) शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी पूर्वसचेतक ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाइन् ।

 रेशमलाल चौधरीले किन पाए धेरै मत ?

रेशमको पक्षमा किन आयो यति धेरै मत ? उनको पक्षमा मत ओइरिनुमा टीकापुर घटनाको सहानुभूति भएको स्थानीयको बुझाइ छ । विशेषगरी थारू समुदायको एकलौटी मत उनको समर्थनमा गएको स्पष्ट हुन्छ । स्थानीय छत्र दर्लामीले टीकापुर घटनामा रेशमलाई मुद्दा लगाएपछि सहानुभूति मत आएको बताए । ‘यहाँ पार्टी रहेनन् । टीकापुर घटनाको सेन्टिमेन्ट हो यो मत,’ उनले भने ।

चौधरीलाई टीकापुर घटनामा मारिएका वरिष्ठ प्रहरी अधिकृतसहित सात जनालाई ज्यान मार्ने मुद्दा चलाइएको छ । हाल उनी भारतमा बस्दै आएका छन् । टीकापुरको सीमावर्ती जिल्लामा बसेर उनले निर्वाचन अभियान चलाएको उनी निकट स्रोतले जनायो । 

उनको उम्मेदवारी वारेसनामा स्थानीय इन्द्र चौधरीले दर्ता गराएका थिए । ०७२ भदौ टीकापुर घटनामा एक बालकसहित वरिष्ठ प्रहरी अधिकारीसहित सात जनाको ज्यान गएको थियो । माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको ०७३ भदौमा भारत भ्रमणका बेला दिल्लीमा रेशमले भेटेका थिए । त्यसबेला उनले टीकापुर घटना राजनीतिक आन्दोलनका क्रममा भएको भन्दै आफूविरुद्धको मुद्दा फिर्ता लिन आग्रह गरे । 

रेशमले चुनाव लडेको यो तेस्रोपटक हो । संविधानसभा पहिलो र दोस्रोमा पनि उनी उम्मेदवार बनेका थिए । तर मतदाताले पत्याएनन् । यसपटक उनलाई अचम्म हुने गरी पत्याए । भारत बस्दै आएका रेशमले थारूका मुद्दा उठाएकाले आफूलाई माया गरेको टेलिफोनमा प्रतिक्रिया दिए । ‘अहिले थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटना सम्झें । आन्दोलनको बेला राज्यको एकतर्फी दमन र धम्की सम्झें,’ उनले भने, ‘टीकापुर घटनामा निर्दोष थारूहरूलाई जेल हालेको भुल्ने कुरै भएन । अब थारू हकअधिकारका लागि बोल्न सक्ने लड्न सक्ने रेशम नै हो भन्ने जनताले सोचेका छन् ।’

उनले थारूको मुद्दा नछाडेको दाबी गर्दै थरुहट प्रदेश र पहिचानको मुद्दा प्रवासमा बसेर पनि सशक्त उठाइरहेको बताए । जनताले विश्वास गरेकाले नै भोट पाएको उनी बताउँछन् । टीकापुर घटनामा आक्रोशित केही पहाडी समुदायद्वारा रेशमको घर र उनले सञ्चालन गरेको रेडियो जलाइएको थियो । राज्यले उनलाई एक करोड ७४ लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । टीकापुर घटनामा आरोपी २५ थारू अहिले पनि जेलमै छन् ।

टीकापुर घटना हुनुअघि उनी सामाजिक कार्यकर्ताका रूपमा चिनिएका थिए । टीकापुरका लागि नयाँ गतिविधि गरेर उनले आफ्नो सामाजिक छवि र पहिचान बनाएका हुन् । टीकापुरमा फूलबारी महोत्सव चलाई नेपालभरकै कलाकारको कुम्भ मेला गराउनु, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नु, हात्तीको फुटबल खेल प्रदर्शन तथा रेस्लिङ खेल देखाएर उनी चिनिएका थिए ।

जोशीपुर गाउँपालिका ५ बनकट्टावासी वासमतीदेवी चौधरीले मनमस्तिष्कमा रेशमले गरेको कामको छाप परेकाले भोट दिएर जिताउनुपर्ने महसुस भएको बताइन् । ‘टीकापुर घटनापछि कफ्र्युका समयमा थारूहरूको घरमा आगजनी हुँदा कोही पनि पक्राउ नपर्ने तर थारूलाई मात्र मान्छे मारेको भनेर जेल हाल्ने । अनि हामी थारूले भोट त दिनुपर्‍यो नि,’ उनले भनिन् । थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले थारू समुदाय अन्यायमा परेको जनाए । 

अब के होला...
कानुनविद्हरू रेशमलाई ज्यान मार्ने अभियोग लागेको हुनाले प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्ने बताउँछन् । अधिवक्ता टीकाराम भट्टराईले निर्वाचन जिते पनि मुद्दा खारेज नहुने बताए । ‘ज्यान मुद्दामा अभियोगपत्र दर्ता भएको हुनाले प्रहरीले जुनसुकै बेला गिरफ्तार गर्नुपर्छ,’ उनले भने, ‘पक्राउ गरेपछि प्रहरीले अदालतमा पेस गर्नुपर्छ । अनि अदालतले निर्णय गर्नुपर्छ ।’ यसअघि सर्वोच्च अदालतले दर्जनौं नजिर प्रतिपादन गरेकाले रेशमविरुद्धको मुद्दा फिर्ता लिन नमिल्ने उनले बताए ।

पक्राउ नपरी रेशमले प्रतिनिधिसभा सदस्यको शपथ लिइसकेको अवस्थामामा भने पक्राउ गर्न संसदका सभामुखको अनुमति लिनुपर्ने प्रावधान छ । यसअघि यस्तै मुद्दा रौतहटबाट निर्वाचित बबन सिंहले प्रहरीको आँखा छलेर शपथ लिएका थिए ।

प्रकाशित : मंसिर २६, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?