कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्कियो कांग्रेसको गढ

सुर्खेत — कांग्रेसले २०४८ यताका संसदीय तथा संविधानसभा निर्वाचनमा अधिकांश सिट जित्दै आएको सुर्खेतमा यसपटक भने वामपन्थी लहर चलेको छ । ०५१ मा सुर्खेत २ र ०६४ मा बाहेक अन्य सबै निर्वाचन कांग्रेसले नै जितेको थियो ।

भत्कियो कांग्रेसको गढ

०७० को दोस्रो संविधानसभा निर्वाचनमा झन् तीनवटै क्षेत्रबाट कांग्रेस उम्मेदवार विजयी भए । क्षेत्र १ बाट पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, २ बाट ह्दयराम थानी र ३ बाट तप्तबहादुर विष्ट सांसद भए । खड्का र थानी कांग्रेस केन्द्रीय समितिमा समेत छन् । 
विष्ट चुनावी सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री हुन् । त्यसैमा समानुपातिकतर्फ दुई सांसदहरू थपिए, लालबहादुर घले र खड्गबहादुर बस्याल । संविधानसभामा पाँच सांसद पुगे पनि यो चुनावमा त्यसो भएन । वाम गठबन्धनको जनमत आफूतर्फ आकर्षित गर्न नसकेको देखियो ।
६ महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा सुर्खेतका ९ मध्ये ६ तहमा जित हासिल गरेको कांग्रेसले बहुमत वडामा आफ्नो वर्चस्व कायमै राख्यो । तर, यसपटक भने उसले आफ्नो गढ जोगाउन सकेन । त्यसैले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटै सिट वाम गठबन्धनको पोल्टामा परे । निर्वाचन क्षेत्रका दृष्टिले प्रदेश व्यवस्थापिका संसद्का लागि सुर्खेत र दैलेखका आठ सदस्यको प्रभाव निर्णायक हुन सक्छ । 
‘कांग्रेस हार्नुको मुख्य कारण वाम गठबन्धन त हुँदै हो, त्यत्तिकै महत्त्वपूर्ण कारण पार्टीका नेता–कार्यकर्तामा बढदो अनुशासनहीनता पनि हो,’ पुराना कांग्रेस नेता दुर्गाकेशर खनाल भन्छन्, ‘कांग्रेसले जनताको अभिमतलाई बुझ्न सकेन । यदि कांग्रेस जनतामाझ सही दृष्टिकोणका साथ जाने हो भने गठबन्धनले केही फरक पार्ने थिएन ।’
 सुर्खेत १ का पराजित कांग्रेस उम्मेदवार खड्काले आफ्नो पहलमा सुरु भएको ‘समृद्ध सुर्खेत’ अभियानमाथि निगरानी राखिरहने बताएका छन् । उनले आत्मसमीक्षा गर्दै जनताको मन जित्ने गरी हिजोभन्दा अझ बढी अनुशासित भएर पार्टी काममा खटिन कार्यकर्तालाई निर्देशन दिए । 
सुर्खेत १ मा वाम गठबन्धनका साझा उम्मेदवार एमाले जिल्ला अध्यक्ष धु्रवकुमार शाही विजयी भए । उनले कांग्रेसका पूर्वसहमहामन्त्री खड्कालाई ३ हजार ३ सय ८२ अन्तरले पछि पारे । सुर्खेत २ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री थानी पनि पराजित भए । उनलाई एमालेका पूर्वजिल्ला अध्यक्ष नवराज रावतले ८ हजार ८ सय १ मत अन्तरले पराजित गरे । 
प्रदेशसभाका चारमध्ये दुई माओवादी केन्द्र र दुई एमाले उम्मेदवार विजयी भए । सुर्खेत १ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका नेता ठम्मर विष्ट, ‘ख’ मा एमालेका खड्ग खत्री, सुर्खेत २ को प्रदेश ‘क’ मा यामलाल कँडेल र ‘ख’ मा विन्दमान विष्ट विजयी भए । विजयी उम्मेदवारहरूलाई सोमबार सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतले प्रमाणपत्र प्रदान गरेका छन् ।


 तोडियो हारको ह्याट्रिक 
एमाले नेता नवराज रावतको एउटा बेग्लै परिचय बनेको थियो, सधैं हारिरहने । बारम्बार हार्दा कार्यकर्तामा पनि चरम निराशा थियो । २०५१ को मध्यावधि, ०६४ र ७० का संविधानसभा निर्वाचनमा सुर्खेत–३ बाट उम्मेदवार थिए । लगातार टिकट पाउँदा पनि जित्न नसकेका रावतले यसपल्ट कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री थानीभन्दा ८ हजार बढी मतले विजयी भए । विगतको हारको 
ह्याट्रिकलाई रावतले यसपल्ट तोडेका छन् । वाम गठबन्धन र एमालेको लोकप्रियताले आफूलाई जित्न सहज भएको उनी बताउँछन् । दुई कार्यकाल एमालेको जिल्ला अध्यक्ष र अहिले प्रदेश कमिटी सदस्य रहेका रावतले भने, ‘वाम गठबन्धन र मतदाताको सद्भाव मैले पाएँ । अब काम गरेर देखाउँछु ।’ 


 ‘जेल ब्रेकर’ हुँदै सांसद
आफूलाई प्रदेश ६ को मुख्यमन्त्रीका रूपमा दाबी गरिरहेका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई सुर्खेत २ प्रदेश ‘ख’ मा माओवादीका विन्दमान विष्टले हराए । त्यो पनि ३ हजार १ सय ७१ मतको अन्तरले । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं विजयी विष्ट उनै हुन् जसले माओवादी ‘जनयुद्ध’ का बेला ३० जना कैदी/बन्दीसहित सुर्खेत ‘जेल ब्रेक’ गरेका थिए । ०५८ साल माघ २ गतेको यही घटनाले उनलाई देशभर चर्चित बनायो । 
त्यतिबेला उनी विद्यार्थी संगठनमा काम गर्थे । अखिल क्रान्तिकारी तत्कालीन जिल्ला अध्यक्ष उनलाई ०५७ साल भदौमा पक्राउ गरी सुर्खेत कारागार चलान गरिएको थियो । अखिल (क्रान्तिकारी) का पूर्वमहासचिव रहेका विन्दमानले ०५५ बाट पार्टी राजनीति सुरुआत गरेका हुन् । 

 

प्रकाशित : मंसिर २७, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?