१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

किन पछि परे महिला ?

कान्तिपुर टिम

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो ।

किन पछि परे महिला ?


प्रदेश नम्बर १ को प्रदेशसभामा दुई महिला मात्र निर्वाचित भएका छन् । ५६ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा महिला उम्मेदवार थिए ।
प्रमुख राजनीतिक दलले महिलालाई उम्मेदवारीमा अपेक्षाअनुरूप प्राथमिकता नै दिएनन् । स–साना दलबाट टिकट दिइएका र स्वतन्त्र उम्मेदवार बनेकाहरूले जित्ने गरी मत ल्याउनै सकेनन् ।
इलामको क्षेत्र १ को प्रदेश ‘क’ बाट वाम गठबन्धन उम्मेदवार एमालेकी खिनु लिम्बूले कांग्रेसका देवेन्द्रकुमार राईलाई हराइन् । यसैगरी उदयपुरको क्षेत्र २ को ‘ख’ बाट एमालेकी कला घले चुनिएकी छन् । उनले कांग्रेसका रामकुमार खत्रीलाई पराजित गरेकी हुन् ।
ताप्लेजुङको ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम वाम गठबन्धनका बलबहादुर साम्सोहाङसँग पराजित भएकी छन् । यही जिल्लाको ‘ख’ बाट उम्मेदवार बनेकी एकीकृत राप्रपा राष्ट्रवादीकी सपना सामेखामले ४ सय ८३ मत मात्र पाइन् । छिमेकी पाँचथर जिल्लाबाट प्रदेशसभा सदस्यमा कुनै पनि महिलाको उम्मेदवारी परेको थिएन ।
इलाम क्षेत्र २ को ‘क’ मा संघीय लोकतान्त्रिक मञ्चबाट उम्मेदवार बनेकी अम्बिका लिम्बू पनि पराजित भइन् । झापा १ को ‘ख’ मा राप्रपाबाट उम्मेदवार बनेकी रमा मेचेले १ सय २३ मत मात्र पाइन् । झापाकै २ ‘क’ बाट राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी निर्मला लिम्बूले १ सय २४ मतमा चित्त बुझाइन् ।
झापा ३ ‘ख’ बाट उम्मेदवार बनेकी संघीय समाजवादी फोरमकी सत्यकला नेम्वाङले ३ सय २५ मत ल्याइन् ।
झापा ५ ‘क’ बाट स्वातन्त्र उम्मेदवार बनेकी जाम्भवती तिम्सिनाले २० मत पाइन् । संखुवासभामा एउटै महिलाको उम्मेदवारी थिएन । तेह्रथुमको ‘ख’ बाट एकीकृत राप्रपा राष्ट्रवादीका तर्फबाट उम्मेदवार बनेकी यशोदादेवी कार्कीले ६८ मत पाएकी छन् । भोजपुर र धनकुटा जिल्लाबाट पनि प्रदेशसभा सदस्यमा महिलाको उम्मेदवारी परेको थिएन ।
मोरङ १ ‘क’ बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवार बनेकी दिलकुमारी लावतीले ९ सय ५ मत पाइन् । मोरङ २ ‘ख’ मा राप्रपा राष्ट्रवादीका तर्फबाट उम्मेदवार बनेकी गोमा कार्कीले १ सय ५६ मतमै चित्त बुझाउनुपर्‍यो । मोरङ ३ ‘क’ बाट वाम गठबन्धन उम्मेदवार बनेकी माओवादी केन्द्रकी गीता तिम्सिनालाई कांग्रेसका सूर्यमा राईले ९ सय मतान्तरले पराजित गरे । तिम्सिनाले १९ हजार ३ सय ९९ मत पाइन् । जिल्लामा महिला उम्मेदवारले पाएको यो नै सबैभन्दा बढी मत हो । मुख्य दलकै प्रभावशाली पुरुष उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धाका कारणले उनीहरूले मतदाताको ध्यान तान्न सकेनन् ।
मोरङ ४ ‘क’ मा राप्रपा राष्ट्रवादीका तर्फबाट उम्मेदवार भएकी रूपादेवी राजवंशीले ६ सय ४८ मत पाएकी छन् । ५ ‘ख’ मा स्वतन्त्र उम्मेदवार बनेकी जसमी मण्डलले ४ सय १६, मोरङ ६ ‘क’ मा
संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार बनेकी नीरा भगतले १ हजार ७ सय १० मत ल्याइन् ।
सुनसरी १ ‘ख’ मा राजपाबाट उम्मेदवार बनेकी गंगामाया दर्जीले १ सय ११, सुनसरी २ ‘क’ राजपाबाट उम्मेदवार बनेकी विमला तामाङले १ सय ६७, सुनसरी ४ ‘क’ मा नयाँ शक्तिबाट उम्मेदवार बनेकी इन्द्रकला यादवले ७२, सोलुखुम्बु ‘क’ मा संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेकी चोलामाया बस्नेतले १ सय मत पाए । यसैगरी ‘ख’ मा राजपाबाट उम्मेदवार बनेकी प्रेमकुमारी राई बस्नेत (६० मत) र ओखलढुंगा ‘क’ मा राष्ट्रिय जनमोर्चाकी सञ्जमाया राई पनि पराजित भए । उदयपुर २ ‘ख’ मा राप्रपा प्रजातान्त्रिकबाट उम्मेदवार बनेकी माला तामाङले २ सय ८९ मत मात्र पाइन् ।


प्रदेश ४ बाट तीन मात्रै
यो प्रदेशका प्रतिनिधिसभाका १८ र प्रदेशसभाका ३६ सिटमध्ये तीनवटामा मात्रै महिला विजयी भएका छन् । स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठलाई एमालेकी पद्माकुमारी अर्यालले ३ हजार ७ सय ६ मतले पन्छाइन् । उनी ४ नम्बर प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित एक्ली महिला हुन् ।
त्यसैगरी प्रदेशसभाअन्तर्गत म्याग्दीको प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुनमगर र तनहुँ २ को ‘क’ बाट माओवादी केन्द्रकी आशा कोइराला विजयी भए । नरदेवीले कांग्रेसका अमलाल फगामी पुनलाई २ हजार ८ सय ७८ मतान्तरले हराइन् भने कोइराला र कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच जम्मा ५ मतको अन्तर रह्यो । प्रदेश ४ मा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १५ महिला उम्मेदवार चुनावी मैदानमा थिए ।
अधिवक्ता जुनाकुमारी गुरुङ राजनीतिक दलहरूले ३३ प्रतिशत महिला उम्मेदवारको ग्यारेन्टी गरे पनि प्रत्यक्षमा भने नउठाउनु दुर्भाग्यपूर्ण रहेको बताउँछिन् । प्रत्यक्षमा महिलालाई उठाउँदा कम आँक्ने, जित्ने वातावरण नहुने भन्ने कमजोर मानसिकता रहेको उनको भनाइ छ । समानुपातिकमा महिलालाई प्राथमिकतामा राखे पनि नीति निर्माण बनाउने र कार्यान्वयन गर्ने तहमा त्यति पहुँच नपुग्ने गुरुङले बताइन् । ‘प्रत्यक्षबाट जित्ने महिलाको जुन इनर्जेटिक हाइट हुन्छ त्यो समानुपातिकबाट गएकामा देखिएन,’ उनले भनिन् ।


कैलालीमा सबै पराजित
देशभरिमै सबैभन्दा बढी महिला प्रतिस्पर्धी रहे पनि कैलालीबाट प्रदेश र प्रतिनिधिसभा पुरुष मात्रै चुनिएका छन् । दुवै सभातर्फ ६–६ गरी १२ जना महिला उम्मेदवारमध्ये कसैले पनि जित हात पारेनन् ।
चर्चामा रहेको क्षेत्र नं ५ बाट प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सयभन्दा बढी मतान्तरले आदिवासी राना समुदायका एमाले नेता नारदमुनि रानासँग पराजित भइन् । क्षेत्र १ मा कांग्रेसबाट ईश्वरी न्यौपाने र वाम गठबन्धनबाट मदनकुमारी शाह (गरिमा) उम्मेदवार थिए । उनीहरू दुवैले जित्न सकेनन् ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय हुनुअघि उक्त पार्टीकी राष्ट्रिय उपाध्यक्ष रहेकी गीता राणा क्षत्रीले क्षेत्र ४ बाट प्रतिनिधिसभामा स्वतन्त्र प्रतिस्पर्धा गरेकी थिइन् । ३१ सय मतमै चित्त बुझाएकी उनले जमानतसमेत जोगाउन सकिनन् । प्रतिनिधिसभाकै उम्मेदवार क्षेत्र ३ बाट राजपाकी मीना चौधरी र क्षेत्र ५ बाट नेमकिपाकी नन्दाकुमारी दर्लामी मगरले पनि मतसंख्या हजार कटाउन सकेनन् ।
प्रदेशसभामा पनि महिलाको जित शून्य छ । कांग्रेसले क्षेत्र ५ को प्रदेश ‘क’ बाट आदिवासी राना समुदायकी जीवन रानालाई उम्मेदवार बनाएको थियो । उनी एमालेका नेपालु चौधरीसँग ठूलो मतान्तरले पराजित भइन् । चौधरीले १७ हजार ३ सय ६७ मत ल्याउँदा रानाको ११ हजार ७३ मत
मात्र आयो ।
क्षेत्र ३ को प्रदेश ‘ख’ मा राजपाकी सीता थारू, क्षेत्र २ ‘क’ मा नेमकिपाकी लक्ष्मी पुनमगर, ‘ख’ मा संघीय समाजवादीकी टीकादेवी पुनमगर, क्षेत्र ४ ‘ख’ मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट भगवती सिंह र ‘क’ बाट जनसमाजवादी पार्टीकी उम्मेदवार टीकादेवी चौधरी कसैले जित्न सकेनन् ।
प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार देउवा र न्यौपाने तथा वाम गठबन्धनकी शाहबाहेक अन्यले जमानतसमेत जोगाउन सकेनन् । प्रदेशसभाका ६ उम्मेदवार नेत्रीमध्ये ५ ‘क’ बाट कांग्रेसकी जीवन रानाले मात्र जमानत जोगाइन् ।
मतपरिणाम सार्वजनिकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उम्मेदवार देउवाले पार्टीको आन्तरिक व्यवस्थापन गर्न नसक्दा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिएकी थिइन् ।
दल अनुदार
संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, बाँकेबाट प्रत्यक्षतर्फ दुई महिला मात्रै प्रतिनिधित्व गर्दै छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट महिला सहभागिता शून्य भएको छ । राजनीतिक दल प्रत्यक्षतर्फ महिलाप्रति अनुदार देखिएपछि उनीहरूको उपस्थिति कमजोर बनेको हो ।
प्रदेशसभातर्फ क्षेत्र १ ‘क’ मा माओवादी केन्द्रकी नमुना केसी र ‘ख’ मा एमालेकी आरती पौडेल विजयी भएका छन् । अन्य क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा महिला उम्मेदवार नै थिएनन् । केसी १३ हजार ४ सय ३६ र पौडेल १६ हजार ७ सय ३५ मतले विजयी भए । केसी माओवादी केन्द्रकी केन्द्रीय आयोजक समितिका सदस्य, बाँके जिल्ला कार्यालय सदस्य हुन् । पौडेल एमाले बाँकेकी सल्लाहकार, अखिल नेपाल महिला संघकी राष्ट्रिय समिति सदस्य हुन् ।
‘पछाडि पारिएका महिलाका पक्षमा आवाज उठाउनेछु । महिला अधिकारका पक्षमा उभिनेछु,’ पौडेलले भनिन्, ‘महिलाका अनेक समस्या छन्, तिनलाई सम्बोधन गर्ने प्रयासमा लाग्नेछु ।’ सामाजिकशास्त्रमा स्नातकोत्तर उनी लामो समयदेखि महिला अधिकार क्षेत्रमा क्रियाशील छन् । केसीले ०५३ सालदेखि माओवादीबाट राजनीति सुरु गरेकी हुन । ‘सुरुदेखि समाजिक मुक्तिका लागि लड्दै आएकी छु,’ उनले भनिन्, ‘अब जिम्मेवारी थपिएको छ ।’ जिल्लामा ३ वटा प्रतिनिधिसभा र ६ प्रदेशसभा क्षेत्र छन् ।
लीलाबल्लभ घिमिरे र जितेन्द्र साह/विराटनगर, ठाकुरसिंह थारू/नेपालगन्ज, डीआर पन्त/धनगढी, लालप्रसाद शर्मा/पोखरा

प्रकाशित : मंसिर २९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?