वामकै पकडमा प्रदेश १

प्रतिनिधिसभामा एमाले–१६, माओवादी–६, कांग्रेस–५, राप्रपा–१
प्रदेशसभामा एमाले–३६, माओवादी–१०, कांग्रेस–८, संघीय समाजवादी–१, स्वतन्त्र–१

विराटनगर — प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभा र प्रदेशसभातर्फ वाम गठबन्धनले ११ वटामा एकलौटी जित हासिल गरेको छ । तीन जिल्लामा भने मिश्रित परिणाम आएको छ । कांग्रेसले सुनसरीका तीन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गरेको छ । प्रदेशसभातर्फ पनि तीन स्थानमै कांग्रेस उम्मेदवार चुनिए ।

वामकै पकडमा प्रदेश १

मोरङमा कांग्रेसका एक मात्र उम्मेदवार प्रतिनिधिसभामा चुनिएका छन् । ६ क्षेत्रमध्ये तीनवटामा एमाले र दुईवटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । प्रदेशसभामा एमालेबाट ५, कांग्रेसबाट ४, माओवादीबाट २ र संघीय समाजवादी फोरमका एकजना चुनिएका छन् ।

पटकपटक विवादका कारण स्थगित हुँदै पुन: गणना भएको सुनसरी क्षेत्र नम्बर ३ को परिणाम आएसँगै प्रदेश १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बुधबार सकिएको छ ।

यो प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २८ सदस्यमध्ये एमालेका १६ जना छन् । माओवादी केन्द्र र कांग्रेसले क्रमश: ६ र ५ स्थानमा विजय प्राप्त गरेका छन् । एक स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी आएको छ ।

अघिल्ला निर्वाचनमा प्रभावशाली उपस्थिति देखाउँदै आएको कांग्रेसले यसपटक धेरै क्षेत्रमा हार बेहोर्नुपर्‍यो । केन्द्रीय सदस्यहरू शेखर कोइराला, महेश आचार्य र अमृत अर्याल (मोरङ), बलबहादुर केसी (सोलुखुम्बु), भीष्म आङदेम्बे (पाँचथर) लगायत पनि पराजित भए । चर्चित नेतामध्ये उदयपुरबाट नारायण खड्का, सुनसरीबाट गच्छदार, ज्ञानेन्द्र कार्की र मोरङबाट मीनेन्द्र रिजाल विजयी भएका छन् ।

एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, लालबाबु पण्डित, योगेश भट्टराईलगायत वाम गठबन्धनबाट उम्मेदवारी दिएका सबैजसो केन्द्रीय नेताले विजय प्राप्त गरे । झापा २ बाट विजयी एमालेकी पवित्रा खरेल निरौला यो प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एकमात्र महिला बनेकी छन् । उनले कांग्रेस झापा सभापति उद्धव थापालाई १३ हजार ७ सय ६७ मतले पराजित गरेकी हुन् ।

प्रदेशमा पनि गठबन्धन अघि

यसैगरी ५६ सिट रहेको प्रदेश १ को प्रदेशसभा प्रत्यक्षतर्फ एमालेले ३६ स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १० र कांग्रेसले ८ जनालाई प्रदेशसभामा प्रतिनिधित्व गराउने अवसर पाएका छन् । यस्तै संघीय समाजवादी फोरमका जयराम यादव मोरङ–५ ‘क’ बाट विजयी भएका छन् । उदयपुर क्षेत्र २ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका नारायणबहादुर मगर प्रदेशसभा सदस्य चुनिएका छन् ।

प्रदेशसभामा दुईजना मात्र महिला निर्वाचित भएका छन् । अधिकांश महिला उम्मेदवार पराजित भए । इलाम क्षेत्र १ को प्रदेश ‘क’ बाट वाम गठबन्धनतर्फ एमालेकी खिनु लिम्बू र उदयपुर क्षेत्र २ ‘ख’ बाट एमालेकै कला घले सदस्य चुनिएका हुन् ।

सबैजसो जिल्लामा एमाले र माओवादी केन्द्र एक भएर प्रतिस्पर्धा गरेका थिए । झापा क्षेत्र ३ मा भने वाम गठबन्धनले राप्रपाका उम्मेदवारलाई सघाएको थियो । गठबन्धनकै मद्दतले राप्रपाका राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।

पहिलो चरणमा मंसिर १० मा ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरी ७ जिल्लामा निर्वाचन सम्पन्न भएको थियो । मंसिर २१ गते दोस्रो चरणमा उदयपुर, सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम र तेह्रथुममा निर्वाचन भएको हो ।

प्रदेशका १४ वटै जिल्लामा गरी २९ लाख ९३ हजार ६ सय ६९ मतदाता छन् । मोरङमा देशकै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन् । यो प्रदेशमा सबैभन्दा कम मतदाता तेह्रथुममा ६६ हजार ७ सय ४१ जना छन् ।

तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर र धनकुटा, ताप्लेजुङ, पाँचथर र ओखलढुंगाबाट प्रतिनिधिसभामा १–१ जनाले प्रतिनिधित्व गर्दैछन् । उदयपुर र इलाममा २–२, सुनसरीमा ४, झापामा ५ र मोरङमा ६ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेश १ को सभामा जम्मा जनप्रतिनिधि संख्या ९३ हुनेछ । प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ जना चुनिनेछन् । समानुपातिकतर्फको गणना जारी छ ।

प्रकाशित : मंसिर २९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?