२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘भोट दियौँ, समृद्धि देऊ’

माधव सयपत्री

गोश्वाराको कुशेश्वर प्रावि मतदान केन्द्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको नियुक्ति हात परेपछि मनमा एक किसिमको तुलबुल भएको छ । गोश्वाराको वल्लो मतदानस्थलबाट पनि तीनचार घण्टा मजाले हिँड्नुपर्छ रे ।

‘भोट दियौँ, समृद्धि देऊ’

सैलुङ्ग काटेर सैलुङ्गकै फेदमा पुग्नुपर्छ रे । त्यहाँसम्मको दूरी, भूगोल र रुट थाहा नभएकाले हामी अलमलमा परेका छौँ । निर्वाचन कार्यालयको लोसे र अव्यवस्थित काम गराइले कर्मचारीहरूलाई निकै ‘दु:ख’ भएको छ ।

६ गते एघार बजे हाम्रो गाडी छुट्छ । ७ गते मतदानस्थलमा पुग्नु छ । चुचुरेका उमावि शिक्षक सिद्धिराज भट्ट मतदान अधिकृत छन् । एउटा टाटा सुमोमा ड्राइभरसहित एघार जना खाँदाखाँद गरी अटेका छौँ । टोकरपुरसम्म गाडीमा र त्यसपछि हिँडेर जाने हाम्रो योजना छ ।
खार्पानी मावि गोश्वाराको मतदानस्थलका दुइटा मतदान केन्द्रका कर्मचारीहरू दुइटै सुमोमा चढेका छन् । गाडी धूलो उडाउँदै हुइँकिरहेको छ । ‘तीस–पैँतीस जनाको हूल बेलुका जाडोमा कता बस्ने 
होला π के खाने होला π’ मनमा अनेक तर्कना तँछाडमछाड गर्दै छन् । 
तिनोटा गाडी एकसाथ छुटे पनि अगाडिको गाडीले उडाएको धूलोले हाम्रो बाटै छेकिदिन्छ । गाडीहरूको दूरी फराकिँदै जान्छ । चार बजेतिर हामी गाल्पा पुग्छौँ । घाम पहेँलिएर पश्चिमी आकाशको गर्तमा भासिन लागेको छ । पाँच घण्टाअघिको मन्थलीको हपहपी गर्मी, अहिले मुटु कमाउने जाडो । हाम्रो भौगोलिक र प्राकृतिक विविधता । रामेछापको पश्चिमी भूभागको राम्रै ‘व्यापारिक हब’ बन्ने सम्भावना बोकेर उभिएको छ गाल्पा भञ्ज्याङ । प्राकृतिक वातावरण चिसो भए पनि चुनावी चहलपहलले मानिसहरू ताता र राता देखिएका छन् । 
प्रहरी जवान रमण थारू हराउँछन् । बजार पूरै खोजेपछि रमण भेटिन्छन् । सई महतारा भन्छन्, ‘नामै रमण । रमाइलो गर्न गाको होला नि रमण भाइ ।’ सुनेर रमण मन्द मुस्काराउँछन् ।
दोरम्बाबाट साँघुरो बाटोमा गाडी सुस्तसुस्त तल झर्न थाल्छ । दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुर पुगेपछि तीनवटा गाडी भेट हुन्छन् । साँझै पर्न लागेको छ । चिसो निकै बढेको छ । अगाडि जाने कि नजाने, दुविधामा छौँ । ‘निगुरेसम्म गाडी जान्छ ।’ एक स्थानीय भन्छन् । ड्राइभर बटारिन थाल्छन् । टोकरपुरसम्मको मात्रै कबुल छ । पैसा थपिदिने भएपछि कुरा मिल्छ । टोकरपुर सिँगार्चे गाउँ हुँदै गाडी उकालो लाग्छ । अलिकति मास्तिर पुगेपछि धूलोमा भासिएको भन्दै ब्याकलाइट बालेर गाडी उल्टो हिँड्न थाल्छ । ‘अगाडि’ को ‘गाडी’ ले बहाना बनाएजस्तो लाग्छ ।
गाउँमा साँझबत्ती बलिसकेको छ । गाडी फर्काइदिएर तीस जनाको डफ्फा उकालो चढ्न थाल्छौँ । त्यसपछि तेर्सिन्छौँ । तलबाट गाउँले कराउँछन्, ‘त्यता हैन । उकालो लाग्नुहोला ।’ धन्यवाद दिँदै हामी उकालो लाग्छौँ । कोही तलै छुटेका छन् । तलका साथीलाई बोलाउँछौँ, ‘ए, साथी π कता आइपुग्नुभयो ?’ तलबाट साथीहरू बोल्छन्, ‘हामी आउँदै छौँ है π’ बाटोमा कतै घर नभएकाले निगुरेतिर उकालिन्छौँ ।
निगुरे पुग्दा रातको आठ बजेको हुन्छ । जाडो खपिसक्नु छैन । हावा तेजसित बहेको छ । रगतै जम्लाजस्तो हुन्छ । डाँडाको ठूलो सिमेन्टेड घरमा पसल पनि रहेछ । हामी तातो पानीमा चाउचाउ र बिस्कुट हालेर खान थाल्छौँ । एक जना ‘भाते’ मास्टरले ‘भात नखाई सुत्दै नसुत्ने’ भनेपछि भात पकाउनैपर्ने हुन्छ । घरधनी भन्छिन्, ‘ठीक पारिदिन्छु, आपैँm पकाएर खानुस् ।’
गुन्द्रुक र भात तयार हुन्छ । खान्छौँ । जाडोमा घिच्नेभन्दा पनि थिच्नेको पीर । सहयोगी गाउँलेले हामीलाई बन्दै गरेको स्कुलमा लैजान्छन् । चार जना सुत्ने ठाउँमा हामी सात जना घुस्रिन्छौँ । ओढ्ने केही छैन । जिउका लुगा लगाएरै तेर्सो पर्छौँ । 
  ...
साथीहरूको बाघघुराइले सुत्नै दिँदैन । बाहिर निस्किसक्नु छैन । रिमरिममै उठ्छौँ । बाटो सोध्दै उकालो लाग्छौँ । ट्रयाक मात्रै खोलिएको भीरको सडक छ । मान्छे हिँड्नै मुस्किल हुने । तुसारो बाक्लिएर हिउँ बन्नै लागेको छ । 
डाँडामा घामले कलिला पाइला मात्रै टेकेको छ । घाममा बसिरहने समय छैन । टुङ्गोमा पुग्ने हतार छ हामीलाई । डाँडाबाट झर्छौँ । शीत र तुसारोले बाटो चिप्लो भएको छ । भनेको ठाउँमा खुट्टा टेकिँदैनन् । एक जना पुलिस भाइ लड्छन् । उनको भारी गुल्टिन्छ । बन्दुक उछिट्टिएर दस हात पर पुग्छ । धन्न π बन्दुक भरेको रैनछ ।
खोलामा पुग्न हामीलाई डेढ घण्टा लाग्छ । खोला तरेपछिको उकालोले तानाशर्माको ‘घनघस्या’ सम्झाउँछ । खोलापारिको स्कुलमा पुगेपछि साथीहरू भोक र थकाइले लम्पसार पर्छन् । मेरो हाल झन् बेहाल भएको छ । 
कसैले फोनमा सोध्छ, ‘कता आइपुग्नुभयो ?’ म भन्छु, ‘खै, कता कता ? ठाउँको नाउँ थाहा भए पो ।’ ऊ फेरि सोध्छ, ‘साल्मेको स्कुलमा हो ?’ भन्छु, ‘स्कुलचैँ स्कुलमै हो । साल्मे हो कि खाल्मे हो ?’ फोन गर्नेले माथि डाँडामा हेर्न भन्छ । दुई जना हात हल्लाउँदै छन् । फोनमै भन्छ, ‘उकालो आउनू । 
तेर्सो नजानू ।’ 
गोश्वाराको वल्लो मतदानस्थलका लागि दुई टोली खार्पानी मावितिर तेर्सिन्छन् । उकालिनेमा हाम्रो टोली मात्रै छ । मरीतरी डाँडामा पुग्छौँ । हामीलाई बोलाउने मान्छे गोश्वारा प्रहरी चौकीका पुलिस रहेछन् । भोकले लखतरान भएका छौँ । बाटोमा केही पाइएको हैन । प्रहरीचौकीमै भात खान्छौँ । मुढेबाट दोलखाको दूधपोखरी–ढुङ्गेको कच्ची बाटो हुँदै सरसामान ढुवानी हुँदोरहेछ त्यहाँ । चौकीका केही प्रहरी हाम्रै मतदान केन्द्रमा जाने तयारीमा रहेछन् । 
अघिअघि सर्लाहीका सिपाही बजरङ्गी साह छन् । पछिपछि म छु । उनको भारी निकै गहु्रँगो छ । लेकको बाटोमा तुसारो परेको छ । तराईका बजरङ्गीलाई उकालो हिँड्न निकै गाह्रो परेको छ । अप्ठेरो ठाउँमा उनी बन्दुकलाई लौरो बनाउँछन् । बजरङ्गीलाई म आफ्नै छोरो देख्छु । मन कटक्क काटिएर आउँछ । 
‘कति गाह्रो छ है पुलिसको जागिर खान ।’ 
खानापछि तीन घण्टाको धपेडीमा हामी मतदानस्थल पुग्छौँ । टोकरपुरबाट जम्मा दस घण्टा हिँडेछौँ हामी । एनसेलबाहेकको सिमले काम नगर्ने रहेछ । हाम्रा फोन काम लाग्दैनन् । स्कुलमै बासको व्यवस्था हुन्छ । म्यादी भाइबैनीहरू भात पकाउन थाल्छन् । खुला भेन्टिलेटरबाट फुइँफुइँती हावा पसेको छ कोठामा । भात थालमा हाल्नासाथ ‘पानी’ हुन्छ । पानी खाइसक्नै छैन । राति जस्ताबाट ओछ्यानमै शीत खस्न थाल्छ । बिहान मुख फुलेर हुमहुम्ती भएको हुन्छ । औषधिको नियमित डोजले भ्याएको छैन । रगत पत्ल्याउने औषधिसमेत बढी नै खाएको छु ।
दु:ख साथसाथै फरक अनुभूति पनि भएको छ । साथीहरू आआफ्नो काममा खटेका छन् । बैतडीका सिद्धिराज भट्ट, बाराका सई उत्तम श्रेष्ठ, दोलखाका हबल्दार रामजी थामी, कपिलवस्तुका सिपाही रमण थारू, नुवाकोटका ज्ञानबहादुर नेपाली, सर्लाहीका बजरङ्गी कुमार साह र बाँकी सबै रामेछापेली छौँ । पूर्वपश्चिम, उत्तरदक्षिण र मध्यनेपालका फरकफरक जातजातिका हामीले कहिले एकसाथ बस्न 
पाउनु π म्यादी भाइबैनीको कञ्चन हाँसो र इतर्‍याईंले वातावरणलाई जीवन्त तुल्याएको छ । 
 ...
१० गते सात बजेभित्रै तयारी अवस्थामा बस्नु छ । मिर्मिरेमै हामी काममा खटेका छौँ । टेबुलघडीले तापक्रम ३८ डिग्री फरेनहाइट देखाएको छ । डोल्पा, मनाङ, मुस्ताङजस्ता हिमाली जिल्लामा झन् कस्तो होला π बिहानै रेडियोमा ‘शून्य डिग्री सेल्सियसमा मतदाता’ समाचार सुनिएको छ । 
भएभरका लुगा भिर्दा पनि मुटु काम्न छाडेको छैन । हात गँगरिएर कलम समातेको छैन । बोली लर्बरिएर कुरा पुग्दैन । मतपेटिका तयारीका झन्झटिला प्रक्रिया पूरा गर्न लामै समय लाग्छ । आठ बजेतिर मात्रै फाट्टफुट्ट मतदाता देखिन थाल्छन् । मतदाताको एउटै आशय छ, ‘भोट दियौँ, अब 
समृद्धि देऊ ।’
सर्वदलीय बैठकमा दलका कार्यकर्ताले ‘भोट हाल्न नजान्नेको भोट अरूले हाल्दिन पाउनुपर्ने’ अडान राखेका थिए । त्यै देखिन्छ त्यहाँ । एकचोटि ‘मेरा बा’ भन्छ । भोट हालेर जान्छ । अर्कोपटक ‘आमा’ भन्दै आउँछ । एक छिनपछि उही मानिस आउँछ र भन्छ, ‘मेरी फुपू । आँखा देख्नुहुन्न ।’ एउटै मानिस आमा, बा, दिदी, भिनाजु, काका, काकी, मामा, माइजू नाता लगाएर सर्साउँदा मान्छेको भोट हालेर जान्छ । अर्काको भोट हाल्ने कुकर्ममा कुनै पनि दल कम देखिँदैनन् । दलहरूको अघोषित मिलेमतै देखिएको छ । 
मुस्किलले बीस प्रतिशत महिलाले आफ्नो मताधिकार आपैँm प्रयोग गरे होलान् । बाँकी अरूकै हातबाट । आफ्नो हातै काटेर दिने महिलाले के गर्लान् खै π व्यक्ति सम्प्रभु हुने भनेकै मत हाल्दाको केही सेकेन्ड वा मिनेटमा मात्रै हो । त्यै भोट अर्कैलाई ठोक्न दिएपछि जनता कहाँ सार्वभौम हुन्छ ? मताधिकारको प्रयोग गर्नु र भोट बिग्रनु फरक विषय हुन् । भोट बिग्रे पनि उसले मताधिकार त प्रयोग गरेकै हुन्छ नि π यो उनीहरूलाई सम्झाउनुपर्ने कुरै होइन । 
 ...
चुनाव सकिन्छ । फर्कने चिन्ताले सताउन थाल्छ । साँझ पर्दै गएको छ । चिसो चढ्दै गएको छ । मतपेटिका सुरक्षाकर्मीले जिम्मा लिएका छन् । खै, हाम्रो जिम्मा कसले लिन्छ हँ ? ‘खार्पानी केन्द्रबाट मतपेटिका लिएर एउटा ट्रक यतै आउने रे ।’ सुनेर मन अलि हलुको हुन्छ । निकै वरमा अर्को एउटा ट्रक पनि आइपुग्छ । पन्ध्र जना जति त्यसैमा चढ्छौँ । उताको केन्द्रका मतपेटिका, सुरक्षाकर्मी, एजेन्ट र कर्मचारी लिएर आठ बजे ट्रक आइपुग्छ । त्यसमा झन् बढी मानिस चढेका छन् । दुवै ट्रक निष्पट्ट अँध्यारोमा धर्खरिँदै ओरालो लाग्छन् ।
म ट्रकको बार समातेर उभिएको छु । सडक नाम मात्रको छ । ट्रकको हेडलाइटमा अगाडि हेर्दा बाँचिलाजस्तो लागेकै छैन । टेलिभिजनमा चाँडै फ्ल्यास न्युज बनिने भइयो π ‘लौ मरियोस् π संविधान र संघीयता कार्यान्वयनमा हाम्रो पनि बलिदानी होस् π’
दोलखाको सैलुङ्गेश्वरी गाउँपालिका–२ (साबिक दूधपोखरी गाविस) ढुङ्गे आइपुगेपछि झोलाबाट मोबाइल झिक्छु । दस बज्नै लागेको छ । नेटवर्कले थोरै काम गरेको रहेछ । पाँच दिनपछि मोबाइलले टावर भेट्टाएको छ । मोबाइल खुसी भयो कि म ? छोरालाई फोन गर्छु । ऊ पनि खुसी हुन्छ । नौ गते बेलुका टिपेको चार गाँस चारोबाहेक पेटमा पानी पनि परेको छैन । ठीकै छ, राम्रैका लागि उपवास बसिएको छ । संघीयता सफल होस् π
सैलुङ्ग सुरु भैसकेको छ । हात कठ्याङ्ग्रिएर ट्रकको बार पनि समात्न छाडेको छ । ट्रक उफ्रेको छ बुरुकबुरुक । हल्लिएको छ ज्यान । सेकेको छ जाडोले । यत्तिको आपत् जिन्दगीमा सायदै परेको थियो होला । कहाँ पुगियो π कता गइँदै छ π लेकका कोणधारी रूख मात्रै पल्याकपुलुक आँखामा नाच्छन् । कतै घना र कालो जङ्गल देखिन्छ । 
तीन घण्टाभन्दा बढी सैलुङ्गको जङ्गलमा कुदिसकियो । घरगोठ कतै देख्नु छैन । मैले दोरम्बामै ओर्लने योजना बनाएको छु । भन्छन् नि π ‘मर्नुभन्दा बहुलाउनु निको ।’ दोरम्बा झर्नै बेस । 
ढुङ्गेबाट लगातार हुइँकिँदा दोरम्बा आइपुग्न चार घण्टै लाग्छ । म ओर्लिन्छु । ट्रक चौकीतिर लाग्छ । दोरम्बा आसपासका मतदान केन्द्रका मतपेटिका पनि त्यहीँ जम्मा पारिएका रहेछन् । ससानो जात्रै 
छ मानिसको ।
ट्रकबाट ओर्लिएर बजारमा बास खोज्न थाल्छु । उता र यता लखरलखर गरिरहन्छु । घरमा कतै बत्ती बलेको छैन । ठूल्ठूला भोटेकुकुरको भुकाइले रातको सन्नाटा बिथोलेको छ । मेरो भने सातोपुत्लो उडेको छ । कुन बेला कुकुरले चोक्टा तान्ने हो, थाहा छैन । एकदमै विचलित र हतास भएको छु । घडी हेर्छु । एक बजेको छ । मोबाइलमा मात्रै हैन, मभित्रको चार्ज पनि रित्तिएको छ ।
परको एउटा घरमा बत्ती बलेको देखेपछि अनायासै ममा खुसीको सञ्चार हुन्छ । सुनसान सडकमा त्यतै लाग्छु । डराईडराई ढोका ढकढक्याउँछु । ‘को हो ?’ बूढो र धोद्रो स्वर बोल्छ । म बिन्ती बिसाउँछु, ‘चुनावबाट आएको । ढोका खोल्नुस् न हजुर ।’
ढोका छिट्टै खुल्छ । मलाई हेर्दै तामाङ बा बोल्छन्, ‘कदा बस्छस् त होइ तँ π सुत्ने ठाम छोइना ।’ म भन्छु, ‘यै टेबुलमा सुत्छु बा ।’ उनी भन्छन्, ‘जाडोमा कसरी सुत्छस् ? ओढ्ने छोइना । पर्तिर छोरा सुत्या छ । उतै सुत् ।’ उनले बताएअनुसारको घरमा जान्छु । बोलाउँछु । ठस्केर बोल्छ, ‘छैन सुत्ने ठाउँसाउँ ।’ ऊ ढोका खोल्दैन । निराश भएर बूढैतिर फर्कन्छु । पुस्तान्तरले कता पुर्‍याएछ हाम्रो ‘अतिथि देवो भव: !’
बूढा भन्छन्, ‘मसँग सुत्छस् ? यहीँ छेउमा सुत् ।’ यसो हेर्छु । मयलले सिरक कालो भएको छ । जिउका लुगा मैला छन् । भन्छु, ‘हुन्छ बा । तपाईंसँगै सुत्छु ।’ लगाएकै लुगामा बूढासँग घुस्रिन्छु । बूढाको जिउबाट अमिलो गन्ध आएको छ । सोध्छु, ‘बा, कति वर्षको हुनुभयो ?’ उनी भन्छन्, ‘सत्तरी र पाँच ।’ 
सातकै हुँदा बा छुट्नुभयो । बासँग सुत्न पाइनँ । सोच्छु, ‘मेरा बा बाँचेका भए पचहत्तरै पुगेको हुनुहुन्थ्यो ।’ सम्झन्छु, ‘मेरा बा अझै जिउँदै हुनुहुन्छ र म बासँगै सुतेको छु ।’
बिहानै उठेर बाटो लाग्छु । म भरे अवश्य घर पुग्छु । खै, चुनाव जित्नेले देशलाई अब कता 
पुर्‍याउने हुन्  
[email protected]

प्रकाशित : पुस १, २०७४ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?