निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ — निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेस गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई निर्वाचन खर्च पेस गर्न आइतबार निर्देशन दिएको हो । 

निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेस गर्नुपर्ने कानूनी व्यवस्था छ । खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानूनअनुसार कारबाही हुने आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय/क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलको समानुपातिकतर्फका उम्मेदवारको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ को दफा ३१ मा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ । दफा ३१ को उपदफा (४) बमोजिम त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले रु १५ हजार जरिवाना गरी मनासिव समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्ने छ ।

आदेशअनुसार तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकैपिच्छे रु १५ हजार जरिवाना गर्न सक्ने उल्लेख छ । आयोगले आजै निर्वाचनको क्रममा प्रचारप्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्री तत्काल हटाउन सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

निर्वाचन सम्पन्न भएको लामो समय हुँदा पनि कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएकाले आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनको प्रचारको क्रममा केन्द्र, प्रदेश तथा स्थानीयस्तरमा विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्री हटाई ती स्थानलाई पूर्ववत् अवस्थामा राख्न सम्बन्धित राजनीतिक दललाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : पुस १६, २०७४ १४:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चेतना संरक्षणद्वारा पाँच विधामा पुरस्कार घोषणा

देवनारायण साह

मोरङ — विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले पुरस्कारको घोषणा गरेको छ । साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यस वर्ष पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । 

समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना आमाबुवाको सम्झनामा स्थापित धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ समालोचक लक्ष्मण गौतमलाई प्रदान गरिने भएको छ । यस्तै, ‘बालकिसन /नर्वदादेवी मुन्धडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’धर्मसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका मणिराज जोशीलाई प्रदान गर्ने भएको प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कार समाजसेवी देवकिशन मुन्धडा र देवेनरा परिवारले स्थापना गरेको हो ।

समाजसेवी दीनबन्धु गोयल र उषादेवी गोयलले आफ्ना दाजुको सम्झनामा स्थापना गरेको ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’समाजसेवी एवं एबीसी नेपालका अध्यक्ष दुर्गा घिमिरेलाई, वरिष्ठ टेलिभिजन पत्रकार दुर्गानाथ शर्मालाई ‘नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष गंगा सुवेदीले बताइन् । साहित्यकार गंगा सुवेदीले आफ्ना आमाबुवाको सम्झनामा स्थापना गरेको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा माघमा समारोह गरी प्रदान गरिने अध्यक्ष सुवेदीले बताइन् ।

पाँचवटै विधाका पुरस्कारको राशि ५१/५१ हजार रुपैयाँको छ ।

२०६१ सालमा स्थापना भएको प्रतिष्ठानले मासिक रुपमा साहित्यिक कार्यक्रम, त्रैमासिक रुपमा ‘चेतना सन्देश’ साहित्यिक पत्रिका प्रकाशन र स्थानीय टेलिभिजनको सहकार्यमा साप्ताहिक कार्यक्रम ‘चेतना प्रवाह’५ वर्षदेखि सञ्चालन गर्दै आएको छ भने पाँच विधामा पुरस्कारसमेत प्रदान गर्दै आएको हो ।

प्रकाशित : पुस १६, २०७४ १३:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT