कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

श्रीपञ्चमी मनाइँदै

काठमाडौं — विद्या र वाणीकी देवी सरस्वतीको पूजा आराधना गर्दै उनको जन्मोत्सवका रूपमा मंगलबार मुलुकभर श्रीपञ्चमी मनाइँदै छ ।

श्रीपञ्चमी मनाइँदै

श्रीपञ्चमीमा बालबालिकालाई अक्षरारम्भ गर्ने नेपाली परम्परा भएकाले अभिभावकले आफ्ना सन्तानलाई नजिकका सरस्वती मन्दिरमा लगी खरी वा पेन्सिलले अक्षर लेख्न लगाउँछन् । यस दिन सरस्वतीको पूजाअर्चना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने जनविश्वास छ ।
आजै स्वयम्भूनजिक मञ्जुश्री चैत्यमा मेला लाग्छ । बौद्ध धर्मावलम्बीले देवी सरस्वतीलाई मञ्जुश्री बोधिसत्त्वका रूपमा पुज्ने गर्छन् । श्रीपञ्चमीको अघिल्लो साँझ ल्हासाको बाटो गरी स्वयम्भूको महारश्मी दर्शन गर्न महाचीनबाट आफ्नी शक्ति वरदा र मोक्षदा मञ्जुश्री काठमाडौं आएको लोककथन छ । त्यसैले उनको थकाइ मेटाउन बालबालिका र महिलाले सरस्वतीको मूर्तिमा तेल घसिदिने चलन छ । ललितपुरको लेलेस्थित सरस्वती र ज्ञानकुण्डमा पनि मेला लाग्छ ।
वासन्ती प्रकृतिको पूर्व रङ यसै दिनदेखि रूखबिरुवामा नयाँ पालुवाका रूपमा देखिने, मानिसको मानसिक प्रकृति बदलिने, शिशिर ऋतुभन्दा बेग्लै किसिमको हावा बहने र बाह्य वातावरणले समेत प्रमुदित रूप धारण गरेको आभास हुनाले यस दिनलाई वसन्त ऋतुको पहिलो दिन मानेर वासन्तोत्सव गर्ने परम्परा छ । सोही कारण यस पर्वको नाम वसन्तपञ्चमी रहेको हो । यस अवसरमा हनुमानढोका नासलचोकमा बिहान सवा ८ को शुभसाइतमा वसन्त श्रवण आयोजना गरिएको छ । राष्ट्रपति रामवरण यादव समारोहमा सरिक हुन्छन् । बाह्रौं शताब्दीका महाकवि जयदेवद्वारा रचित गीत गोविन्दमा रहेको वसन्त गीत सुनाउने परम्परा छ । यस दिन तराईमा कामदेव र रतीदेवीको पूजा गर्ने चलन छ । यस दिनदेखि वसन्त राग गाउने गरिन्छ ।
 

प्रकाशित : माघ २१, २०७० ००:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?